गल्छी खबर। २०८० साल कात्तिक ७ गते शुक्रवार जाजरकोट केन्द्र विन्दु बनाई गएको भूकम्पका कारण प्रभावित भूकम्प पिडितहरुका लागि खनियाबास गाउँपालिकाले राहत सामाग्री वितरण गरेको छ ।
गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीको पारिश्रमिकबाट १० लाख रुपयाँ संकलन गरेको र सोहि मध्य झण्डै ६ लाख रुपैयाँ बराबरको राहत सामाग्री गाउँपालिका अध्यक्ष रणबहादुर तामाङको नेतृत्वको टोलीले प्रभावित वस्तीमा नै गएर वितरण गरेको छ ।
भुकम्प गएको २ महिना वितिसक्दा समेत राहत सामाग्री नपाएको सुनेपछि अध्यक्ष सहित उपाध्यक्ष सेक्केमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठ र सामाजिक विकास अधिकृत दुर्गा शाही सहितको टोलीले जाजरकोटको भेरी नगरपालिका वडा नं १ मा रहेको बादी वस्ती, नलगाड नगरपालीकाको वडा नं १ र वडा नं ४ को खाल चौरका स्थानीयलाई चामल, चिसोबाट बच्न सिरक र बालबालिकाको लागि लत्ताकपडा उपलब्ध गराएका छन् ।
राहत सामाग्री लिएर जाजरकोटको नलगाड पुगेको टोलीलाई वडा अध्यक्ष बद्रि पन्त सहित स्थानियले स्वागत समेत गरेका थिए । २ महिना वितिसक्दा समेत संघ र प्रदेश सरकारले चासो नदिएर चिसोमा रात गुजार्न बाध्य स्थानियलाई सम्झिएर टाढा देखि आफ्नो गाउँमा आईपुगेको भन्दै स्थानियले खुशी व्यक्त गरेका थिए । राहत सामाग्री बुझ्दै वडाअध्यक्ष पन्तले विपत्तिमा गरेको यो सहयोग सँधै सम्झिरहने बताउँदै अध्यक्ष सहित खनियाबास गाउँपालिका परिवारलाई धन्यवाद व्यक्त गरे ।
प्रधानमन्त्री राहतकोषमा सहयोग रकम हाल्न लागेको गाउँपालीकाले चिसोमा अझै राहतको प्रतिक्षामा रात गुजार्न परेको समाचार सुनेपछि राहत सामाग्री लिएर जाजरकोट पुगेको अध्यक्ष तामाङले बताए । बादी समुदायका बालबालिकालाई गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारीबाट संकलन गरीएको रकमले राहत सामाग्री उपलब्ध गराउन पाउँदा सन्तुष्टि मिलेको उपाध्यक्ष सेक्केमान तामाङले बताए । संकलन भएको १० लाख मध्य करिव ६ लाख रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको र बाँकी रकम प्रधानमन्त्री राहतकोषमा जम्मा गर्ने तयारी रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठले बताए ।
२०७२ को विनासकारी भुकम्पले थिलथिलो भएको गाउँ वस्ती र विपत्ती सम्झीएर सबैले आफूले पाउने केहिदिनको पारिश्रमिक कटाएर भुकम्प पिडितलाई पठाउँन तयार भएकै कारण पालिकाले सहयोग गर्न सकेको बताए ।
0 Comments