ललितपुर । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना जारी छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको लिग चरणसम्मको खेल समाप्तिसँगै दोलखा चेस होम नेपाल, कोशी प्रदेश चेस संघ, भक्तपुर जिल्ला बुद्धिचाल संघ र मकवानपुर जिल्ला बुद्धिचाल संघ नकआउट चरणमा प्रवेश गरेका छन् ।
बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा रोचक प्रतिस्पर्धा हुन पुगेको थियो । प्रतियोगितामा उत्कृष्ट खेल पस्किरहेको दोलखा चेस होम नेपालमाथि कोसी प्रदेश संघले रोमाञ्चक जित निकालेको थियो । जसमा वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले प्रकाश चन्द्र नेपाललाई हराएका थिए । सुश्रुत दहाल र सविन चन्द्र घिमिरेबीचको खेल बराबरीमा सकियो भने मुहान नर्सिङ मिसन दहालसँग हारे । यस्तै वर्तमान महिलातर्फको नेपाल च्याम्पियन डब्लुएफएम सुजना लोहनी कृतिसरा अधिकारीसँग मात खान पुगिन् । जसले गर्दा कोसी प्रदेश संघ दोलखा चेस होमसँगै नकआउट चरण्मा प्रवेश गर्न सफल भयो ।
भक्तपुर चेस संघले नकआउट चरणमा प्रवेश गर्ने क्रममा थापाथली पार्क चेस क्लबमाथि २.५ र १.५ को कठिन जित हासिल गर्यो । जसमा युवा खेलाडी पुरुसोक्तम सिलवाल र क्षितज भण्डारीबीचको खेल बराबरीमा सकियो । विक्रम चोकामी सुसिल चौधरीसँग हारे भने स्वर्णिम दुवालले सेम सुब्बामाथि र अभिक शाहले अनुप जंग शाहमाथि जित दर्ता गर्दै टिमलाई नकआउट चरणमा प्रवेश गराउन महत्वपूर्ण खेल पस्किए ।
मकवानपुर चेस संघ र आयोजक ललितपुर स्पोर्ट्स क्लबबीचको खेलमा जित्ने टोली नकआउट चरणमा प्रवेश गर्ने थियो । सो खेलमा सीएम कृष्ण थापा, सिन्देश्वर दाश र अनुशा गौतमसहित तीन खेलाडीले महत्वपूर्ण जित हासिल गर्दै ३-१ को अनुपातमा टिमलाई जितको स्वाद दिलाए भने सुदेन टुईटुई रिसोन थापासँग पराजित हुँदा पनि टिमलाई कुनै असर परेन ।
तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको मुख्य आकर्षण सातौं चरणसम्मको लिग खेल पश्चात् चार टिमले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेका छन् । जसमा दोलखा चेस होम १२, कोशी प्रदेश संघ, भक्तपुर जिल्ला संघ र मकवानपुर जिल्ला बुद्धिचाल संघ समान १०/१० अंकसहित नकआउट चरणमा पुगेका हुन् । आयोजक ललितपुर स्पोर्ट्स क्लब र पूर्व च्याम्पियन थापाथली पार्क चेस क्लब भने आशा गरे अनुरुप परिणाम निकाल्न असमर्थ रहे ।
यसअघि आज नै भएको छैटौं चारणको खेलमा दोलाख चेस होम नेपालले मकवानपुरमाथि २.५-१.५ को जित हात पार्दा एफएम रुपेश जैसवाल र सुश्रुत दहाल द्वयको जित र मुहान नर्सिङले बराबरी खेलि टिमलाई नकआउट चरणमा पुर्याएका थिए । त्यस्तै आयेजक ललितपुर स्पोर्ट्स क्लबले थापाथली चेस पार्कसँग टिमले बराबरी खेल्दा राजन सुवेदी र क्षितिज भण्डारीबीचको खेल बराबरी, सुसिल चौधरीले सुरोज महर्जनलाई पराजित गरे । रिसोन थापाले सेम सुब्बालाई हराएका थिए भने आयुष देमन रौरा र अनुप जंग शाहबीचको खेल बराबरीमा सकिएको थियो । कोसी प्रदेश र दोलखा जिल्ला चेस संघबीचको टिम खेल २-२ को बराबरीमा सम्पन्न भएको थियो भने भक्तपुर जिल्ला संघले लुम्बिनी इभेन्ट म्यानेज्मेन्टमाथि ३-१ ले जित हात पारेको थियो ।
राष्ट्रिय स्तरका उत्कृट १९ क्लबको सहभागिता रहेको प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार २ लाख, उपविजेताले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमलाई ४० हजार नगद पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १० हजार पुरस्कार प्रदान गरिने छ ।
ललितपुरस्थित तुल्सिलाल स्मृती प्रतिष्ठामा जारी प्रतियोगितामा भोलि शुक्रबार बिहान १२ बजे सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको कूल पुरस्कार राशी ४ लाख ७० हजार रहेको संयोजक राजु ताम्राकारले जानकारी गराएका छन् भने पुष २८ गते समापन हुने पुरस्कार वितरण तथा समापन समारोह प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा हुनेछ ।
0 Comments