धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नं ६ को बैरेनीमा श्री बागेश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ।
अभिभावकहरुको एक भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा केशव रिमाललाई चयन गरेको हो। यसअघि पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रिमाल नै थिए।
विद्यालयको पुष १ गते भएको अभिभावक भेला अनिर्णित भएकोले लामो समयपछि चैत्र १७ गतेको दिन अभिभावकबाट रिमाल सहित ४ सदस्य चयन गरिएको थियो र त्यसै ४ सदस्यले चैत्र २० गतेको बैठकमा २ जना मनोनीत गर्दै रिमालको अध्यक्षतामा ६ सदस्यीय व्यवस्थापन समिति समेत चयन गरेको हो। समितिका सदस्यहरुमा दिपेन्द्र श्रेष्ठ, पुष्पराज रिमाल, सुजिता खतिवडा, शान्ती श्रेष्ठ, कमला अधिकारी चयन भएका छन् भने शिक्षक अभिभावक संघको संयोजकमा दिनेश भण्डारी चयन भएका छन्। शिक्षा नियमावली अनुसार विद्यालयका प्रधानाध्यापक राजन प्रसाद अधिकारी समितिको सदस्य सचिव हुने छन्।
रिमालले शैक्षिक गुणस्तरका साथै भौतिक पूर्वाधारको विकास गर्ने बचन दिएका छन्। उनले भने, 'विद्यालयको चोतर्फी विकासका लागि हामी खटिन्छौं। विद्यालयलाई जिल्लाकै उत्कृष्ट विद्यालय बनाउने संकल्प रहेको बताए। उनी पुनः विद्यालयको अध्यक्षमा चयन भएपछि सहकर्मी, आफन्त एवं साथीभाईबाट बधाई तथा शुभकामना पाईरहेका छन्। उनले विद्यालयको विकासका लागि योगदान गर्न सफल हुने विश्वास लिएर रिमाललाई पुनः अध्यक्षमा चयन गरेको अभिभावकहरु बताउँछन्। रिमालले विद्यालयमा योगदान दिन सक्नेमा अभिभावकहरु विश्वस्त छन्। अभिभावकले चुनेर मलाई दोस्रो पटक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राख्नु भयो मैले काम गरेर देखाउने हो म पूर्ण रुपमा विद्यार्थी, विद्यालय र शिक्षाको लागि जोस जाँगर र बुद्धि विवेकले काम गर्ने छु आजका नानी बाबु भोलिका कर्णधार हुन्। हामी हाम्रो विद्यालयलाई अब नमुना विद्यालय बनाउने छौ अध्यक्ष रिमालले बताएका थिए।
0 Comments