गल्छी खबर, बैशाख १०।
बुढो बाज
हरि बस्ताकोटी
हरि बस्ताकोटी
बुढो बाज
धुमिल आकाशमा
निर्दोष चराहरूको
सिकार गर्दैछ...
भुंग्रोमा छन् अचेल
उसका अस्लिल सपनाहरू
दु:खको आदीम पहाडबाट
निर्दोष रैथाने चराहरू
अचानक बसाइँ सरेपछि
अचेल अनिकाल बाँचेको छ
उसको आँखाभरी…
सिउरेर मयुरका प्वाँखहरू
छम्केर नाच्दैछन् छली कागहरू
बुढो बाज च्याखुराहरूलाई
बाडिरहेछ इन्द्रेणी रहरहरू...
चीँ चीँ बचेराहरूले पनि
अब आगो ओकल्नै लागिसके
आफ्ना चुच्चो अनि नंग्राहरूमा
धार लगाउँदैछन् तन्नेरी चराहरू
न्यायको लडाइं लड्न अब
मात्रीचराहरू बेँसी ओर्लेका छन्…
नसुनेर हुरीचराका गीत
नबुझेर जुनकिरीको संगीत
धर्तीको ऐना हेर्दै,
मुस्कुराउँदै छ बुढो बाज ...
फिँजाइ नंग्रा आकाशभरी
हावामा तैरिरहेछ बुढो बाज
मुस्कुराउँदै कावा खाँदै छ
साँचेर निशाना चराका हुलहरूमा
चराहरूले बथान बनाएका छन्
एउटा इमान्दार लडाइं लड्न
सँधै झम्टिरहने बुढो बाजसँग…
बाजले बुझेको छैन
भिषण आँधी चल्नु अघि
एकछिन मौन अँध्यारो छाउँछ
रिमाल बा भन्नुहुन्थ्यो
एक युगमा एक दिन
एक चोटी आउँछ... !!
0 Comments