Breaking News

6/recent/ticker-posts

Header Ads Widget

नयाँ वर्ष -रामशरण न्यौपाने

Pic:- Ramsharan Neupane FB


गल्छी खबर बैशाख १।

नयाँ वर्ष (कविता-छन्दःशार्दूलविक्रीडित)

आए वर्ष नयाँ परन्तु सब नै बन्दै पुराना गए
आकाङ्क्षा मनका सबै मनुजका गुज्रे निराशाभए
यस्तो वर्ष नयाँ बनेर सहजै मुन्टो उठाओस् अब
हामी बन्नसकौँ समुन्नत तथा समृद्धशाली सब॥१

आफ्ना स्रोतहरू लुटेर परका ओरी नहाँसुन् कुनै
छाती चूर्ण गरी कठै अवनिको झारेर आलो खुनै 
कोहीबाट कतै नहोस् कुफत यो मैल्याउने गौरव
हामी बन्नसकौँ समुन्नत तथा समृद्धशाली सब॥२

मक्काएर गलेर दुर्बल नहोस् नेपाल थाम्ने मियो
सारामाझ सदा प्रकाशित रहोस् लौ चेतनाको दियो
इच्छा होस सबभित्र देश जनको फैलाउने सौरभ
हामी बन्नसकौँ समुन्नत तथा समृद्धशाली सब॥३

थन्केका अधुरा विकासतिरका ती काम सारा बनुन्
भ्रष्टाचार ठुला लुके जति छिपे ती केस ऐले भनुन्
राम्रो काम भए  प्रवर्धन यहाँ  होला ठुलो वैभव
हामी बन्नसकौँ समुन्नत तथा समृद्धशाली सब॥४

अर्काको भरमा  परेर नबसौँ  उद्योग हामी गरौँ
लाखौँ स्रोत छिपेर बस्दछ यहाँ खोज्ने दिलासा धरौँ
हाम्रो पौरखले सदा मुलुकमा चम्केर आओस् पव
हामी बन्नसकौँ समुन्नत तथा समृद्धशाली सब॥५

(सम्पूर्ण नेपालीहरूमा नव वर्ष २०८० को हार्दिक मङ्गलमय शुभकामना)
-रामशरण न्यौपाने,भक्तपुर

Post a Comment

0 Comments