Breaking News

6/recent/ticker-posts

Header Ads Widget

तिमी बाहिर निस्क - उत्सव चौलागाईं

pic:- Utshav chaulagai


गल्छी खबर चैत्र २८।

तिमी बाहिर निस्क   - उत्सव चौलागाईं 


विज्ञानले भन्यो; यो मुटुभित्र चारकोठा छन्

तर ती सबै जीर्ण छन् इसिजिले भन्यो

भत्किन सक्छ ओखती खाऊ

डाक्टरको प्रेस्क्रिप्सनले भन्यो ।


मैले भनेँ; असीम आनन्द छ सम्झना

र ओखती खोज्न तिम्रो देशमा आइपुगेँ ।

 

प्रियतमा !

तिम्रो अभावले लखेटिएको

एक बेपत्ता योद्धा हुँ मायाको

तिम्रो तस्विरभित्र हराउन थालेको 

आजकै दिनबाट हो ।


शब्दमा तिम्रो आवाज बोकेर

तिम्रै देशभित्र तिमीलाई खोजिरहेको छु 

मेरो हातमा घडी छैन 

तर हरेक पल तिमी मेरो समय बनेकी छौ

सुर्योदयदेखि सुर्यास्तसम्म ।


परेवाका कुरकुर आवाज सुनेपछि

परेवालाई पनि सोधेँ तिम्रो ठेगाना

कोइलीको कुहुकुहु सुनेपछि

कोइलीलाई पनि सोधेँ तिम्रो सञ्चोविसञ्चो

उनीहरू सबै अनभिज्ञ रहेछन् ।


सितल हावाको स्पर्श पनि

तिम्रै नरम हत्केलाजस्तै लाग्दो छ

जरुवाको चिसो पानी पनि

तिम्रै भिजेकाे ओठजस्तै छ ।


मैले पधेँरोलाई पनि सोधेँ तिम्रो ठेगाना

उसले भन्यो; पानी ओबाउँदा 

अचेल सुनिँदैन तिमीलाई पर्खिबसेको गीत ।


उकालोओरालोले पनि 

तिम्रो पाउजुको आवाज नसुनेको धेरै भएछ ।


प्रियतमा !

तिमी आफ्नै देशभित्र हराइरहेकी छौ ।


तिमी घरभित्रै छौ ग्यासच्याम्बरमा जस्तै ।


तिमी अपरिचित छौ तिम्रै देशमा 

तिम्रो पहिचान तिम्रै देशभित्र छैन ।


तिम्री आमा तिम्रो परिचय दिन अक्षम छिन्

तिम्रो देशलाई आमा चाहिन्छ

तर तिमीलाई चिनाउन तिम्रा बा जरुरी छ ।


मैले तिमीलाई तिम्रै देशभित्र भेटाउन सकिनँ प्रियतमा !

मलाई माफ गर

तिमी जालो तोडेर बाहिर निस्क ।


मलाई तिम्रो महत्व अचाक्ली छ

एउटा बिरामी मन बोकेर

म बिद्रोहको बाटो कुरिरहेको छु ।


तिमी हिम्मत गरेर

मसाल बोकेर बाहिर निस्क

र झोस यो पितृसत्ताको अँध्यारो ।

Post a Comment

0 Comments