गल्छी खबर, फागुन २४। नारी जागरण र देशको विकास ।
नारीको अनुपस्थितिमा तथा अभावमा हामी यस सृष्टिको परिकल्पनासम्म पनि गर्न सक्दैनौं । सृष्टिलाई सुचारू रुपले संञ्चालन गर्न नारी-पुरुष दुबैको सहभागीता आवश्यक तथा अनिवार्य छ । कुनै पनि घर-परिवार ,समाज अनि राष्ट्र नारीबिना अपूरो र अधूरो नै रहन्छ ।
देश विकासको कार्यमा पुरुषको जति जिम्मेवारी हुन्छ त्यति नै जिम्मेवारी महिलाको पनि हुन्छ ।राष्ट्रिय जीवनको विकास प्रत्येक नारी र पुरुषको पारस्परिक सहयोग र सद्भावनाबाट नै सम्भव छ । पुरुष प्रधान समाजमा नारी पनि एक महत्त्वपूर्ण अङ्ग हुन् भन्ने कुरालाई शायदै कसैले नकार्न सक्छ ।
त्यसमा पनि सनातन धर्ममा नारीको स्थान अत्यन्तै उच्च रहेको पाइन्छ।
नारीलाई शान्ति ,सृजना ,ज्ञान र धनको प्रतीक मानेर देवीको रुपमा आराधना गर्ने परम्परा वर्षौदेखि चलिआएको छ भने हाम्रा परम्पराहरु तथा रीतिरिवाजमा समेत नारीहरुले सधै उच्च स्थान ओगटेका छन् ।
परिवारलाई उचित र सुव्यवस्थित ढङ्गले अघि बढाउँदै पारिवारिक जिम्मेवारीलाई सफलतापूर्वक संञ्चालन गर्नमा नारीहरुले सधै नै महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेका छन् । एउटा घर परिवारदेखि लिएर विश्व निर्माणको क्रममा हरेक क्षेत्रमा नारीहरुले आफ्नो जिम्मेवारीलाई उपलब्धिपूर्वक रुपमा निभाएका छन् ।
विकासका विभिन्न क्षेत्रहरु जस्तै ज्ञान-बिज्ञान ,समाज,साहित्य सेवा ,राजनीति ,पर्वतारोहण ,संगीत,शिक्षा, कानुन आदि क्षेत्रको विकासमा विश्वमा पुरुषहरुको दाँजोमा नारीवर्गको सहभागिता नगण्य नै छ ।तर पनि कार्यकुशलतामा नारी पुरुषवर्गभन्दा कम प्रभावकारी छैनन् ।यसरी विभिन्न क्षेत्रमा योगदान पुर्याउने विश्वका नारीहरुमा म्याडम क्यूरी,फ्लोरेन्स नाइटिङ्गेल ,हेलेन केलर,मदर टेरेसा ,इन्दिरा गान्धी ,मार्गेट थ्याचर ,गोल्डामायर ,जुन्को ताबेइ ,पासाङ लाम्हु शेर्पा,पारिजात ,लता मंगेसर आदिको नाम उल्लेखनिय हुन आउँछ ।
इतिहास पल्टाएर हेर्ने हो भने पनि आवश्यक परेका बखतमा नारीहरु समयको हाँकलाई स्विकार गरेर पारिवारिक हेरचाहमा मात्र होइन युद्ध क्षेत्रमा पनि पछि नहट्ने क्षमता देखाउँदछन् । त्यसैले विकासका हरेक क्षेत्रमा नारी जागरणको खाँचो देखिन्छ । तसर्थ समस्त नारीवर्ग स्वयं अग्रसर हुनुपर्छ ।
अन्य विकसित राष्ट्रहरुको तुलनामा हाम्रो देशमा नारीहरुको स्थिति अधिक पिछडिएको अवस्थामा छ ।अझै पनि समाजमा नारी दमन चलेको देखिन्छ ।
प्राय:जसो नारीहरु भान्सा र घरको पर्खालभित्र मात्र सिमित रहनु परेको छ भने आर्थिक दृष्टिकोणले पनि पुरुषमाथि आश्रित रहनु परेको छ ।
आजको २१अौं शताब्दीमा आएर पनि नारी हकहित र अधिकारको आम रुपमा निकै चर्चा परिचर्चा चलेता पनि वास्तवमा कतिपय समाजमा अधिकांश महिलाहरु आफ्नै घरभित्र पारिवारिक हिंसाको शिकार हुन पुगेका छन् ।
नारी सचेतना ,हकहित र अधिकारकालागि निरन्तर रुपमा अनेकौं कार्यक्रमहरु संचालन हुँदै आएको भएतापनि यसलाई उचित रुपमा कार्यान्वयन भने गर्न सकेका छैनौं ।
वास्तवमा भन्ने हो भने अझैपनि कतिपय महिलाहरुलाई आफ्नो सामान्य जीवन निर्वाह गर्नकालागि पनि आफ्नै परिवारभित्रबाट संघर्ष गर्नुपर्ने स्थितिको सृजना भइरहेको छ भने कतिपय नारीहरु आफ्नै घरपरिवार र समाजबाट प्रताडित छन् ।
अन्धविश्वास ,रुढीबादी,अशिक्षा ,बेरोजगारी ,गरीबी ,छुवाछूत आदि कुराहरूबाट माथि उक्लन सकेका छैनन् ।
नारी मुक्ति र नारी अधिकारकालागि राष्ट्रिय स्तरमै अनेकौं प्रयासहरु भइरहेका छन् भने कैयौं संस्थाहरुले नारी हकहित र अधिकार संग आबद्ध रहेर यस क्षेत्रमा आफ्नो कार्यलाई निरन्तररुपमा अघि बढाउँदै आइरहेका छन् ।तर पनि घरेलुु र सामाजिक हिंसाबाट अशिक्षित देखि शिक्षित नारीहरुसमेत अछुतो भने रहन सकेका छैनन् ।
सामाजिक ,आर्थिक तथा राजनैतिक रुपमा आफ्नो भूमिकालाई प्रबलताका साथ निर्वाह गर्न सक्ने क्षमता राख्ने नारीहरुलाई अनेकौं रुपमा प्रताडित गरी उनीहरुको कार्यक्षमतादेखि लिएर नारीत्वको महत्त्वलाई समेत सम्मान गर्न नसक्ने यस्ता पारिवारिक तथा सामाजिक कुप्रवृत्तिका बिरुद्ध आवाज उठाउनुपर्ने आवश्यकता टड्कारो रुपमा देखा परेको छ ।
राष्ट्र विकासका कार्यक्रमहरुमा महिलाहरुको सहभागीता बढाउन विभिन्न क्षेत्र तथा सरकारी स्तरका नीति निर्धारण र निर्णय प्रक्रियामा महिलाहरुको प्रतिनिधित्व हुने व्यवस्थाका साथै महिलाहरुलाई विकास तथा आर्थिक दृष्टिले लाभदायक कार्यहरुमा लगाउन आवश्यक देखिन्छ ।
देशको सामाजिक अवस्थालाई समेत ध्यानमा राखेर काम गर्न सक्ने क्षमता महिलाहरुमा रहेको हुन्छ ।यसर्थ उपयुक्त क्षेत्र अनुसार विभिन्न कार्यहरुमा महिलाहरुलाई सहभागी गराउन सकेमा राष्ट्र विकासमा ठूलो टेवा पुग्नसक्छ भन्ने कुरामा दुबिधा छैन् ।के पुरुष के नारी ? सबै समान रुपले हातेमालो गरि अघि बढ्न सके राष्ट्रको शिर अझ उच्च बन्दै जाने कुरामा समस्त नारी वर्गले सोचेर अगाडि बढ्नुपर्ने अवस्था आएको छ ।
0 Comments