गल्छी खबर, चैत्र - १४। बजार अनुगमनलाई स्थानीय प्रशासनले तीव्र बनाएको छ। गल्छी गाउँपालिकाले बजारमा रहेका पसल तथा औद्योगिक क्षेत्रका उद्योगहरुको अनुगमन गरेको छ।
दर्ता नै नगरी व्यवसाय सञ्चालन गर्ने, म्याद गुज्रेको सामान विक्रिमा राख्ने, खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने, सरसफाइमा ध्यान नदिने भएकाले अनुगमनलाई प्राथमिकतामा राखेको गल्छी गाउँपालिका उद्योग शाखा प्रमुख तुलसी चपाईले जानकारी दिनुभयो। चपाईका अनुसार 'उपभोक्तालाई कालोबाजरीबाट मुक्त गर्न ठूला खाद्यन्न पसलको समेत अनुगमन गरिएको र म्याद सकिएको सामान बरामद गरी नष्ट गरिएको छ।
यहाँका धेरै जसो व्यापारीले अझै पसल अगाडि मूल्यसूची राख्न मानेका छैनन्। मूल्यसूची नराखेपछि एउटै वस्तुको मूल्य पनि पसलैपिच्छे फरक–फरक भएकोले उपभोक्ता मर्कामा परेको स्थानीयवासी बताए।
अनुगमनका क्रममा बिस्कुट कोकोकला, स्प्राइट, रेडबुल जस्ता म्याद सकिएको सामान भेटिएको छ भने पसलमा ढक तराजु क्यालिब्रेसन अपडेट नभएको, साइनबोर्ड नराखेको, खाद्य अनुज्ञापत्र नलिइ उत्पादन तथा बिक्रीवितरण गरेको भेटिएको छ।
गल्छी गाउँपालिका उपाध्यक्ष संयोजक रहने गरी गल्छी गाउँपालिका अनुगमन समिति बजारको अनुगमनमा निस्किएको थियो।
0 Comments