गल्छी खबर ,चैत्र ११।
डा. बिपी बडाल
यशोधरा, अनुसन्धानमा आधारित एउटा उत्कृष्ट ऐतिहासिक उपन्यास हो। यो राजकुमार शिद्धार्थ, गौतम बुद्ध, र राजकुमारी यशोधराको ओजस्वी तर खतरनाक प्रेमकथा हो। भगवान तथागत बुद्धको यशको आधार यो धरामा कोहि थियो भने उनै यशोधरा थिइन् । उनले बुद्ध जस्ता वैरागीलाई पनि जीवन पर्यन्त भौतिक तथा अभौतिक सबै प्रकारले प्रेम गरिन् तर यो बुद्ध चिन्ने धर्तिले गोपालाई चिन्न सकेन। दुवैजना दरबारमा एकैदिन जन्मे, दरबार मै हुर्के, दु:ख अभाव केहि देखेनन् तर दुबैको जीवनको अन्तर्य नितान्त फरक थियो। गोपाको प्रेम लौकिक थियो भने शिद्धार्थको प्रेम अलौकिक थियो। लौकिक प्रेमलाई अलौकिक बुद्धमय दैविक प्रेममा कसरी परिणत हुन सक्यो ? यो लौकिक र अलौकिक प्रेमको सम्बन्ध सेतु नै उपन्यास “यशोधरा” हो। बुद्धकालिन समयको द्वन्द, युद्ध, प्रेम, राजनीति, त्याग र कुटनीतिको वर्तमान परिप्रेक्ष सहितको समग्र विश्लेषण नै यशोधरा हो। यो खतरनाक लेखन हो किनभने इतिहाँसलाई अनुसन्धान गरेर वर्तमान बनाउने लेखनकला जो कोहिमा हुनै सक्दैन। लेखन शैली, अत्यन्तै सुन्दर, सरल, साहित्यिक तर अद्वितीय छ। लेखन विशेष छ। यशोधरा पढ्दा, सृजनात्मक लेखन र बैज्ञानिक लेखनको पूर्ण आनन्द प्राप्त हुन्छ। बुद्धदर्शन र इतिहाँसको पूर्ण ज्ञान हुन्छ। हरेक पाना पल्टाउँदा आफ्नै जीवनका लौकिक-अलौकिक प्रेमको झल्को आउँछ। लेखकले आफ्नै प्रेमीलाई लेखेका हुन् कि जस्तो भान पर्छ । आफ्नै प्रेमको याद आउँछ।
लेखकले इतिहाँसका पिता मानिएका हेरोडोटसले रोम र ग्रीसको वर्णन गरे झैं कपिलवस्तु र कोलिय राज्यको प्रेमिल वर्णन गरेका छन् । “यशोधरा” शेक्सपियरको रोमियो जुलिएट, रबिन्द्रनाथ टैगुरको गीतान्जली, महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, र राष्ट्रकवि माधव घिमिरेको गौरीसंग तुलना गर्न योग्य छ। मदनमणि दीक्षितको माधवी, विपी कोइरालाको सुम्निमा अथवा हिटलर र यहुदी, पारिजातको सिरिसको फुल, कृष्ण धरावासीको राधा, र अमर न्यौपानेको सेतो धरतीको स्तरको उत्कृष्ट उपन्यास “यशोधरा” हो। धेरैपछी नेपालले एउटा उत्कृष्ट कृति र साहित्यकार पाएको छ। शब्द संयोजन तथा भाषा शैली उत्कृष्ट छन् । पुरुष लेखकले नारी समवेदना यति राम्रोसंग वर्णन गरेका छन् कि पुस्तक पढ्दा कति कति बेला आंग जिरिंग गर्छ। पुस्तक पढ्दा कुनैपनि बेला अल्छी लाग्दैन। हरेक हरफ कवितात्मक तर सरल छन्।
लिपि बुक्स प्रालि काठमाडौंले प्रकाशन गरेको यशोधरा जम्मा जम्मी १७ र जाँदाजाँदै गरेर १८ खण्डको २८६ पृष्ठमा समेटिएको छ। दुई या तिन चोटिको बसाइमा यो उपन्यास पढेर भ्याउन सकिन्छ। नेपाली नारीवाद, बुद्ध दर्शन, इतिहाँस, राजनीति शास्त्र, र साहित्यका अनुरागीहरुले अनिवार्य रुपले गहिरो अध्ययन गर्नु पर्ने उत्कृष्ट उपन्यास यशोधरा हो। संभवत यो बर्षको मदन पुरस्कारबाट सम्मानित हुने पुस्तक यशोधरा हो। धेरै समय देखि नेपाली साहित्यले यति धेरै अध्ययनशील लेखक पाउन सकेको छैन। डबल एमए, एमफिल गरेका अनुसन्धान र विकास अर्थशास्त्रका अनुरागी लेखक हरिबोल काफ्ले अत्यन्त सम्भावना बोकेका चमत्कारिक उपन्यासकार हुन्। त्यसैले “यशोधरा” हरेक नेपालीले पढ्नै पर्ने उपन्यास हो
1 Comments
राम्रो समिक्षा, किताब पढौं पढौं लाग्यो
ReplyDelete