गल्छी खबर फागुन १३।आत्महत्या आवेगमा गर्छ वा योजनाबद्ध ?
कुनै पनि मान्छेले आत्महत्या आवेगमा गर्छ वा योजनाबद्ध ? अकस्मात बदलिने मनस्थितिले मान्छेलाई आत्महत्या गर्न उक्साउँछ वा लामो चरणसम्म गुज्रिएका नैराश्यताले ?
वास्तवमा यसको ठ्याक्कै जवाफ छैन ।
आत्महत्याको बहुआयामिक पक्ष हुन्छ । सबै आत्महत्या योजनाबद्ध मात्र वा आवेगमा मात्र हुँदैन । केही योजनाबद्ध हुन्छन् भने केही आवेगमा । आत्महत्याको जैविक र मनोसामाजिक प्रभाव हुन्छ ।
कसैको परिवारमा मानसिक रोगको पृष्ठभूमि छ । परिवारको कुनै सदस्यले आत्महत्या गरेको छ भने पनि त्यसको असर पर्न सक्छ । ‘एनटीसोसल पर्सनालिटी’ भएका व्यक्ति र लागुपदार्थ तथा रक्सीजन्य पदार्थको दुव्र्यसन बढी छ भने त्यस्ता व्यक्तिमा आत्महत्याको जैविक प्रभाव बढी हुन्छ ।
मनोसामाजिक प्रभावमा चाहिं अलि सन्की स्वभावको मान्छे जो कुनै कुरा गर्छु भन्यो भने गरेरै छाड्ने खालको । सानो सानो कुरामा रिसाउने, झर्किने किसिमका मनस्थिति भएका व्यक्तिले पनि आत्महत्या गर्ने सम्भावना बढी हुन्छ । विभिन्न किसिमका आर्थिक अवस्था र प्राकृतिक विपद्लाई बहन गर्न नसकेर मर्नुबाहेक अरू विकल्प छैन भनेर आत्महत्या गर्छन् ।
प्रायजसो डिप्रेसनमा हुने आत्महत्या योजनाबद्ध हिसाबमा हुन्छन् । म बितेपछि परिवारको बिचल्ली हुन्छ भनेर सम्पत्ति अरूको नाम गरिदिने, आफ्नो छोराछोरीलाई कसैको जिम्मा लगाइदिने, सुसाइड नोट लेखेर छोड्नेले योजनाबद्ध रूपमा आत्महत्या गर्छन् । व्यक्तित्वको समस्या, लागुपदार्थ दुव्र्यसन र ठूलो विपद् आयो भने चाहिं आवेगमा आएर गरेको आत्महत्या हुन सक्छ ।
जब परिस्थिति उसको अनुकूल हुन छोड्छ, उसलाई विभिन्न किसिमका मानसिक रोगका लक्षणहरू देखा पर्न थाल्छन् । जीवन अर्थहीन ठान्न पुग्दा र निराशाको चरम अवस्थामा पुगेपछि आफूलाई हानि गर्ने सोच्न थाल्छ । जब मान्छेले बाँच्ने कारण र मर्ने कारण तौलन थाल्छ।
आत्महत्याको सोच मान्छेलाई कुनै अप्ठ्यारो परिस्थितिमा आउन सक्छ । सोच आउँदैमा त्यसलाई ठूलो समस्याको रूपमा लिइँदैन । प्रायः स्वस्थ मान्छेलाई जीवन हानि गर्ने सोच आउँदैन । तर कहिलेकाहीं स्वस्थ मानिसलाई पनि ‘यस्तो जीवन जिउनुभन्दा मर्न हुन्थ्यो’, ‘यस्तो बोझ जिन्दगी जिउनुभन्दा मलाई गाडीले हान्दिए हुन्थ्यो’ जस्ता सोच आउन सक्छ ।
जब मान्छेलाई आत्महत्याको सोच दैनिकजसो आउन थाल्छ, तब उसको मनोसामाजिक अवस्था बिग्रँदै जान्छ । मानसिक रोगको उपचार पनि हुँदैन त्यो बेला आत्महत्याको सोच आउँदै जान्छ । सुरुमा विचारको रूपमा आउँछ, त्यो विचार नियमित आउन थालेपछि उसले त्यो कुरा नजिकको साथीलाई भन्न थाल्यो । रक्सी खाएको बेला म मर्दिन्छु भन्न थाल्यो भने उसले कुनै तरिकाले आत्महत्याको योजना बनाउन थाल्छ ।
विश्वमा प्रति वर्ष १० लाख मानिसहरु आत्महत्याका कारण मृत्युको शिकार हुने गरेको तथ्याङ्क पाइन्छ । प्राय सबै देशमा १५ देखि २४ बर्षका मानिसमा यो समस्या बढी देखिने गरेको छ ।
जब मानिसले समस्या समाधानका कुनै उपाय देख्दैन, त्यतिबेला उसले आत्महत्याको बाटो रोज्छ । संसारमा बर्षेनी लगभग ८ लाख व्यक्तिले आत्महत्या गर्छन् । हरेक ३ सेकेन्डमा १ जनाले प्रयास र ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्छन् । १५-२९ बर्ष उमेर समूहमा आत्महत्या मृत्युको दोस्रो प्रमुख कारणका रुपमा रहेको छ ।
आत्महत्या विश्वव्यापी घटना भएता पनि ७८ प्रतिशत आत्महत्याका घटना विकासोन्मुख देशहरुमा हुने गरेकोे तथ्याङ्क छ । आत्महत्याबाट जति मानिसको मृत्यु भइरहेको हुन्छ, त्यसको तुलनामा आत्महत्याको प्रयास गर्नेको संख्या २० गुणाले बढी हुने गर्छ ।
प्रायः महिलाहरु पुरुषहरुको तुलनामा बढी आत्महत्याको प्रयास गर्छन् । तर, तथ्याङ्कका अनुसार खतरनाक तरिका अपनाउने हुनाले पुरुषहरुले महिलाको अनुपातमा बढी आत्महत्या गरेको पाइन्छ ।
विश्वमा आत्महत्याका माध्यमहरु मध्ये विष सेवन, झुण्डिएर तथा शरीरमा आगो लगाएर गर्ने आत्महत्या प्रमुख रहेको डब्ल्युएचओको तथ्यांकमा उल्लेख छ ।
नेपालीमा पनि आत्महत्याको अवस्थाबारे चर्चा गर्दा प्रत्येक बर्ष सरदर ४ हजार ६७४ व्यक्तिले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीको तथ्याङ्क छ । महानगरीय प्रहरी कार्यालय काठमाडौंमा प्रत्येक हप्ता कम्तिमा १० वटा आत्महत्यासम्बन्धी घटना दर्ता हुने गरेका छन्, जसमा अधिकांश महिला छन् ।
विश्वमा आत्महत्याको जोखिममा नेपाल सातौं स्थानमा छ भने महिलामा तेस्रो स्थानमा छ ।
आत्महत्याको जोखिममा परेका व्यक्तिले देखाउने प्रतिक्रिया
कुनै पनि कुरामा प्रतिक्रिया नदिने । आफ्नो सरसफाइमा वास्ता नगर्ने । संवेगात्मक रुपमा शून्य हुने । कुनै कुरामा पनि रुचि नदेखाउने । आफूलाई मूल्यहीन महसुस गर्ने । एक्कासी धेरै खुसी हुने अनि एक्कासी शान्त हुने । आफूले आफैंलाई हानीनोक्सानी तथा शारीरिक असर पार्ने व्यवहार गर्ने र आफू मर्नेबारे कुराहरु गरिरहने । आत्महत्या गर्ने योजना बनाई त्यसको तयारी गर्ने । आत्महत्या गर्ने प्रयास गर्नुपूर्व आˆना कार्यहरु सिलसिलावद्ध तरिकामा मिलाउने । आत्महत्या गर्नबाट पहिले रोकेका वा रोक्न सक्ने सम्बन्ध तथा भूमिकाहरु टुंग्याउने । भविष्यप्रति निराश, आफू वा आˆनो जीवन आउँदा दिनहरुमा अझ राम्रो हुन सक्छ भनी विचार नगर्ने । मेरो कोही छैन, मलाई कसैले सकारात्मक दृष्टिकोणले हेर्दैनन्, अब म कसका लागि बाँचू जस्ता निराशावादी कुराहरु गर्ने र आफूलाई असहाय महसुस गर्ने । आत्महत्यालाई सकरात्मक रुपमा लिने । आफूले माया गर्ने व्यक्ति वा रेखदेख गर्ने व्यक्तिसँग अप्रत्यासित रुपमा भेटघाट वा कुराकानी गर्ने । आफ्ना मूल्यवान् वस्तुहरु अरुलाई बाँड्ने ।
आत्महत्याको जोखिममा परेका व्यक्तिलाई कसरी सहयोग गर्ने ?
आत्महत्या गर्नेहरुलाई समाजले कायर, यो दुःखबाट राहत पाउनका लागि गरिने हानिकारक कार्य, स्वार्थी, आदि ठान्ने गर्छ । यसलाई मानसिक समस्या ठान्ने गरिन्छ । त्यस्ता मानिसहरु पापी एवं कमजोर मानसिकताका हुन्छन् भन्ने समाजले ठान्ने गरेको छ ।
आत्महत्या समस्याको परिणाम हो । आत्महत्याको जोखिममा परेका व्यक्तिलाई गर्ने सबैभन्दा राम्रो सहयोग भनेको सहानुभूति र सुनाइ हो । आˆनो मान्छेलाई थाहा दिनुहोस् कि उहाँ एक्लै हुन हुन्न र तपाई उहाँको वास्ता गर्नुहुन्छ ।
त्यस्ता व्यक्तिलाई आराम गर्न दिने, बिरामीका कुरा पूर्णरूपमा सुन्ने र उसलाई आफ्नो भावना व्यक्त गर्न प्रोत्साहित गर्ने कार्य गर्नुपर्छ । विश्वासिलो सम्बन्ध बनाउने (सम्बन्ध विस्तार गर्ने) तर, उसका जानकारीहरु गोप्य राख्ने र उसको भावनाप्रति संवेदनशील हुने कार्य गर्नुपर्छ । आत्महत्याको जोखिममा भएका व्यक्तिलाई सहयोग गर्नको निम्ति साहस र धैर्यको जरुरत पर्छ । राम्रोसँग कुरा गरेको खण्डमा आत्महत्याको सोचाइप्रतिको भावना उथल-पुथल हुन सक्छ ।
1 Comments
Good job! Keep writing and posting!
ReplyDelete