Breaking News

6/recent/ticker-posts

Header Ads Widget

जीवनको एउटा सुन्दर परिभाषा बताइदिनोस् न? -डा.उत्सब चौलागाईं

जीवनको एउटा सुन्दर परिभाषा बताइदिनोस् न?
                                 -डा.उत्सब चौलागाईं 


तपाईंलाई के लाग्छ ?
जीवनको एउटा सुन्दर परिभाषा बताई दिनोस् न
म तपाईंसँग कुनै परीक्षा लिन खोजिरहेको छैन 
तपाईंलाई के लाग्छ ?

जानेबुझेकाहरू भन्छन्
मान्छे स्वयम् चाहेर जन्मेका होइनन्
नचाहेर नजन्मेका पनि होइनन् 

बुद्धिजीवीहरू भन्छन्
मान्छे जन्मनु सबैभन्दा ठूलो संयोग हो
भयङ्कर आविष्कार हो 
प्रकृतिको सुन्दर र अनुपम सिर्जना हो 
अनमोल उपहार हो  ।

जन्मपछि प्रारम्भ हुन्छ जीवन
जन्म पाइन्छ तर जीवन खोज्नुपर्छ 
जीवनको खोजी गर्नु एउटा कला पनि हो 
यस्तै भन्छन् जीवन पढाउने गुरुहरूले पनि ।

म त जीवन खोजेर हिँडेको मान्छे
जीवन कहाँ छ ?
बताइदिनोस् न ।

अनुत्तरित प्रश्न नसोध्नू भन्छन्  
जीवनका आयामहरूलाई 
केलाउदै, भोग्दै , रमाउँदै 
आनन्दित हुँदै अगाडि बढ्नू मात्र भन्छन् 
इतिहासविद्हरू ।

भैँसीलाई सिङको भारी हुँदैन
जीवन सजिलोका लागि हो
अप्ठ्याराे पनि जीवन हो 
तर जीवन भारी , बोझ , बाध्यता होइन 
यसै भन्छन्  नवअग्रगामीहरू।

धार्मिक गुरूहरू भन्छन्
जीवन
विवेकको प्रयोग हो 
एक हिस्सा ठट्टा हो
जीवन आत्मविश्वास हो
जागर र उत्साह हो
जीवन रसमय छ 
जीवन धर्म हो ।

बाध्यताको जीवनले 
स्वतन्त्रता नष्ट गर्छ
क्षमताको क्षय हुन्छ 
जीवनको सही अर्थ निर्माण गर्न सक्दैनौँ
कुनै बिषयमा गहिरिन सक्दैनौँ
र निष्कर्षमा पुग्छौँ -
निरस  हुन्छौँ / निराश  हुन्छौँ
दार्शनिकहरू अचेल यसरी लेखिँदा रहेछन् ।
त्यसपछि -
बाँच्दैनौँ - बाँचिदिन्छौँ 
हाँस्दैनौ - हाँसिदिन्छौँ 
खाँदैनौ - खाइदिन्छौँ
गर्दैनौँ  -  गरिदिन्छौँ 
लाउँदैनौँ - लाइदिन्छौँ
भोग्दैनौँ - भोगिदिन्छौँ
यी सबै भोगाइहरू र बाध्यताको जीवन 
बाँच्नेहरूको अनुभुति र 
अनुभवहरूमा आधारित हुन्छ ।

जीवन गन्तव्य हो कि
सुन्दर बाटो हो ?

तपाईंलाई के लाग्छ ?
जीवनको एउटा सुन्दर परिभाषा बताइदिनोस् न
म तपाईंसँग कुनै परीक्षा लिन खोजिरहेको छैन 
तपाईंलाई के लाग्छ ?

Post a Comment

0 Comments