Breaking News

6/recent/ticker-posts

Header Ads Widget

कृषि गणनाको लागि धादिङमा २० सुपरिवेक्षक र ८० गणक

गल्छी खबर, चैत्र २५। केन्द्रीय तथ्याङ्क विभागले धादिङसहित देशभर आगामी वैशाख ६ गतेदेखि सातौँ कृषि गणना गर्न लागेको छ । नेपालमा विसं २०१८ देखि विभागले हरेक १० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको र सोहीअनुरुप नै आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म धादिङ लगायत ७७ जिल्लामा गणना गरिने भएको हो ।



धादिङमा गणनाका लागि सुपरिवेक्षक र गणक गरी करिब १०० जनालाई खटाउन लागिएको जिल्ला कृषि गणना कार्यालयका अधिकृत नन्दलाल सापकोटालले बताउनुभयो । ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूलनाराका साथ सुरु गरिने गणनाका लागि जिल्लामा २० सुपरिवेक्षक र ८० गणक खटाउन लागिएको उहाँको भनाइ थियो ।



राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार धादिङमा ६६ हजार ९०४ कृषि परिवार छ । सोही तथ्याङ्कलाई आधार मानेर जिल्लाको १०४ वडाबाट २२३ वटा गणना क्षेत्र छनोट गरी सुपरिवेक्षक र गणक खटाउन लागिएको अधिकृत सापकोटाले बताउनुभयो । करारमा नियुक्त भएका सुपरिवेक्षक र गणकलाई चैत २५ देखि वैशाख २ गतेसम्म धादिङको निश्चल होटलमा तालिम दिइने र त्यसपछि तथ्याङ्क सङ्कलनका लागि ४५ दिनसम्म घरदैलोमा पठाइने उहाँले जानकारी दिनुभयो । अधिकृत सापकोटाले भन्नुभयो, “यो गणनाले कृषि मन्त्रालयले दश वर्षमा कृषि क्षेत्रमा गरेको लगानी कतिको सदुपयोग भयो त्यसको पनि विवरण प्राप्त हुने सरकारको अपेक्षा छ ।”



कृषि गणनामा पारिवारिक, व्यावसायिक तथा संस्थागतरुपमा सञ्चालन भइरहेका कृषि कार्यको विवरण सङ्कलन गरिनेछ । जिल्लामा चैत १ गतेदेखि कार्यालय नै स्थापना गरेर काम गरिरहेको अधिकृत सापकोटाको भनाइ थियो ।

Post a Comment

0 Comments