Photo Source:- Online Khabar |
गल्छी खबर, फाल्गुण १। हिउँ खेल्ने क्रममा वेपत्ता भएका बारपाकका दुई किशोर मृत अवस्थामा फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ तिम्रास्थित डाँडाको खोचमा आइतबार उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ ।
बारपाक गाउँका १६ वर्षीय करण घले र १६ वर्षकै साहिँला घलेको शव स्थानीयबासी र प्रहरीको संयुक्त खोजी टोलीले साँझ ५ बजेतिर बारपाकभन्दा पर भुनेखर्क भन्ने ठाउँमा फेला पारेको सोही टोलीका जीतबहादुर घलेले जानकारी दिए।
‘बाटोबाट करिब एक सय फिट तल खसेको अवस्थामा दुवै जना भेटिए,’ घलेले भने, ‘त्यसपछि हिउँले पुरिएर हराइरहे। अहिले बल्ल हिउँ पग्लिँदै गएर देखियो।’ शवलाई साँझ गाउँमा ल्याइएको उनले बताए। गत माघ २० गते हिउँ खेल्न गएका उनीहरु ११ दिनदेखि बेपत्ता थिए। उनीहरुको खोजीमा दैनिक प्रत्येक घरबाट एकजनाका दरले सयौँजना सक्रिय थिए।
२३ गते आफन्तले खोजी कार्यका लागी भन्दै प्रहरीमा निवदेन दिएपछि स्थानीयको सहयोगमा प्रहरीले खोजी कार्य सुरु गरेको थियो । ‘सुरुका केही दिन बाटो बिराएर अन्तै पुगेको वा आफन्तकोमा गएको होला भनेर परिवारका सदस्यहरू पर्खेर बस्नुभएछ,’ डिएसपी प्रकाश दाहालले भने, ‘तर, फर्केर नआएपछि हामीलाई खबर गर्नुभयो अनि खोजी कार्य सुरु गर्यो ।’ खोजी गर्दै जाने क्रममा आइतबार साँझ करिब पाँच बजे उनीहरू मृत अवस्थामा भेटिएको उनले बताए । उनीहरूको शव खोचबाट बाहिर निकालिएको र थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी अधिकृतसहितको टोली पठाइएको उनले जानकारी दिए ।
0 Comments