गल्छी खबर । काठमाडौंमा नक्कली मह उत्पादन गरेर विक्री वितरण गरेको अभियोगमा पक्राउ परेका नरबहादुर श्रेष्ठले अखाद्य कुकिज, विस्कुट र पाउरोटीसमेत बजारमा पठाउने गरेको भेटिएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले गरेको अनुसन्धानका क्रममा अखाद्य वस्तु मिसाएर ‘स्पर्श मह उत्पादन गरिरहेका श्रेष्ठले म्याद गुज्रेका र बजारमा बिक्री नभइ फिर्ता भएका सामग्रीलाई पुनः प्याकेजिङ गरेर पठाउने गरेको भेटिएको हो ।
महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार उनले अन्य अखाद्य सामग्री पनि विक्री वितरण गरिरहेको भन्ने सूचना आएपछि प्रहरीले ललितपुर–२७, सुनाकोठीमा रहेको ‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रा.लि.’ र ‘त्रितारा फुड्स एण्ड एस्पाइसी प्याकेजिङ प्रा.लि.’ मा छापा मारेको थियो। त्यसक्रममा म्याद नाघेका तथा सडेका विस्कुट तथा पाउरोटीहरुलाई पुनः धुलो बनाएर कुकिज, टोस्ट र विस्कुट बनाइ बजारमा विक्री गर्ने गरेको पाइएको उनले बताएका छन् ।
गत माघ ६ गते पक्राउ परेका श्रेष्ठले ३ वर्षअघि नै म्याद गुज्रिसकेका कुकिजबाट बटर चक्लेट र काजु कुकिज बनाएर बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ। अत्यधिक सडेगलेका पाउरोटीलाई सुकाएर पुन: कुकिज बिस्कुट बनाउनुका साथै म्याद गुज्रेका पाउरोटीको धुलो बनाई क्रन्ची तथा चिकेन रोस्ट बनाउन प्रयोगमा ल्याइएको पाइएको एसपी कोइरालाले जानकारी दिएका छन्।
प्रहरीले कम्पनीबाट बरामद विभिन्न अखाद्य सामग्री बरामद गरेर पनि नष्ट गरेको छ । थप कारबारी तथा अनुसन्धान खाद्य तथा गुण नियन्त्रण विभागबाट भइरहेको जानकारी दिएका छन्।
0 Comments