छोराछोरीको फोन कहिले आउँथ्यो कहिले आउँदैनथ्यो
तर तल्लाघरे मेरा छिमेकी सबैले सुन्ने गरी कराएर सुनाउँथे
अस्ट्रेलियाको सिड्नीमा कोरोना कस्तो छ छोरी
अमेरिकाको न्युयोर्कमा कोरोना कस्तो छ छोरा
छोरीले पठाएको पचास डलर पाएँ
छोराले आई .एम . ई बाट पठाएको सय डलर पाएँ
यहाँ त कोरोनाको तेस्रो लहर चलिराछ
पाँच दिन सिटामोल र तातो पानी खाएपछि खतम ।
लाग्छ , हालखबर होइन, सिड्नी र न्युयोर्कको विज्ञापन भैराछ
छोराछोरीको फोन आए पनि नआए पनि
ती मेरा तल्लाघरे छिमेकी
सधैं यसरी नै कराइरहेका हुन्छन् , चिच्याइरहेका हुन्छन्
समाजमा एक किसिमको आतङ्क फैलाइरहेजस्तो
मानौँ , उनका मात्र छोराछोरी अस्ट्रेलिया र अमेरिका गएका हुन्
हाम्रा छोराछोरी विदेश जान नसकेर रल्लिएर बसेजस्तो
मानौँ ,अस्ट्रेलिया र अमेरिका भनेको स्वर्ग हो ।
उता छोरी दाइसित फोनमा भन्थिन्
दाइ , बेकारमा अस्ट्रेलिया आएछु , सात वर्षदेखि भाँडा मोलेर बाँचिरहेछु
बहिनी , म पनि बेकारमा अमेरिका आएछु
म पनि नौ वर्षदेखि गाडी धोएर बसिरहेछु
उता नेपालमा कत्रो सान र मान छ हाम्रो
फलानाका छोराछोरी अस्ट्रेलिया र अमेरिकामा छन्
लोकसेवा पढेर शाखा अधिकृत भएको भए
आफ्नै देशमा कत्रो इज्जत हुन्थ्यो
त्रि . वि .शिक्षक सेवा आयोग पास गरेर कलेजको प्रोफेसर भएको भए कत्रो मान र सान हुन्थ्यो ।
धेरै दिनदेखि आवाज सुनेको छैन मैले आजकल
अचानक छिमेकीकी छोरीले अस्ट्रेलियाबाट मलाई फोन गरिन्
अचानक छिमेकीको छोराले अमेरिकाबाट फोन गरे मलाई
अङ्कल , बाबाको फोन उठेन , के भयो बाबालाई हेरिदिस्यो न
म पनि हतारहतार गरेर छिमेकीको घर गएँ , घरबाट दुर्गन्ध आइरहेको थियो
मैले होहल्ला गरेँ , सबै छिमेकी भेला भए ,
पुलिस आयो , पुलिसले पोस्टमार्टम गर्यो
मेरा छिमेकी कोरोनाको तेस्रो लहरले मरेछन् , अविदितको यात्रामा गएछन्
हिजोआज गाउँ नै शून्य ! छोराछोरीको फोन पनि शून्य ।
***समाप्त ***
रचना : लक्ष्मीप्रसाद ढकाल
तोपगाछी , क्याम्पाबजार, झापा
हाल : दधिकोट , भक्तपुर ।
0 Comments