नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा प्रस्तुत गर्न सभामुखले आलटाल र अवरोध गर्न नमिल्ने बताएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कुटनीति र पूर्वाधार विकाससँग जोडिएको एमसीसी जनप्रतिनिधि संस्थामा प्रस्तुत गराउन र छलफल गराउन सभामुखले रोक्न नमिल्ने निष्कर्ष निकालेको हो ।
कांग्रेसको निर्णयमा भनिएको छ, ‘राष्ट्रिय हित,अन्तराष्ट्रिय सम्बन्ध, आर्थिक कुटनीति र पूर्वाधार विकाससंग जोडिएको यो संवेदनशील विषय तथा आम चासो र सरोकारको विषय जनप्रतिनिधि संस्था सार्वभौम संसदमा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि वहानामा रोक्न, आलटाल र अबरोध गर्न मिल्दैन । यो संवेदनशीलतालाई बुझेर तत्कल यो विषयलाई संसदको एजेण्डा बनाउनु सभामुखको जिम्मेवारी हो ।’
कांग्रेसले एमसिसी सम्झौतालाई संघीय संसदमा अनुमोदनका लागि अबिलम्ब प्रस्तुत गर्न सरकारलाई सुझाव पनि दिएको छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी सम्झौता संसदमा पेश गरेकाले संसदबाट अनुमोदन गराउन नेकपा एमालेले सहयोग गर्ने आशा राखेको छ । त्यस्तै तत्कालिन नेकपामा रहेको र एमसीसी सम्झौताको विभिन्न प्रक्रियामा सहभागी भएको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलगायतका राजनितिक दलले पनि अनुमोदनमा सहयोग गर्ने कांग्रेलस अपेक्षा राखेको छ ।
0 Comments