नेकपा (एकीकृत समाजवादीका )अध्यक्ष माधवकुमार नेपालले गठबन्धन झन् बलियो हुने बताएका छन् ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावको मिति नजिकिएकाले गठबन्धन थप बलियो हुने बताएका हुन् । अध्यक्ष नेपालले चुनावमा गठबन्धनका दलहरू एक भएर अघि बढ्ने पनि बताए ।
‘पाँच दलीय गठबन्धन गरेका छौं । यो गठबन्धन टुट्नेवाला छैन । गठबन्धनलाई थप बलियो बनाउँछौं । समाचारमा अनेक कुराहरू आएका छन्, मनगढन्ते कुराहरू आएका हुन्,’ उनले भने ।
प्रतिनिधिसभा क्रियाशील हुनुपर्ने बेलामा नेकपा एमालेबाट बाधा व्यवधान खडा गर्ने काम भइरहेको पनि नेपालले बताए। एमालेले प्रतिनिधिसभामा जारी राखेको अवरोधप्रति पनि नेपालले आपत्ति जनाएका छन् ।
'गठबन्धनलाई बलियो बनाएर लैजानुपर्छ भन्ने प्रतिबद्धता व्यक्त गरेका छौं,' प्रधानमन्त्री र दाहालसँग भएको छलफलबारे नेपालले भने, 'जनताको भावनालाई पनि सम्मान गर्ने र नेपालको हितलाई केन्द्रबिन्दुमा राख्दै हामीले अगाडि बढ्ने सोच बनाएका छौं ।'
पूर्वप्रधानमन्त्री नेपालले पाँचदलीय गठबन्धनबारे आएका समाचारका सम्बन्धमा पनि बालुवाटारमा छलफल भएको बताए । उनले बाहिर सार्वजनिक भएका समाचार तथ्यमा आधारित नरहेको पनि आरोप लगाए ।
संविधान र लोकतन्त्र जोगाउँदै संघीयताको रक्षा गर्न गठबन्धन बनेको बताउँदै नेपालले मुलुकलाई गलत दिशातिर लैजाने प्रयास रोकिएको बताए ।
0 Comments