Breaking News

6/recent/ticker-posts

Header Ads Widget

'तथ्यांक संकलन गर्न सबै घरमा पुगेको देखिएन' :- सांसदहरूले असन्तुष्टि व्यक्त !!

 


   जनगणनाका लागि गणकहरू प्रत्येक घर र व्यक्तिकहाँ नपुगेको भन्दै सांसदहरूले तथ्यांकप्रति आशंका व्यक्त गरेका छन् । प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा सांसदहरूले जनगणना- २०७८ राज्यले चाहेअनुसार नगरिएको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका हुन् । 

कांग्रेस सांसद प्रमिलाकुमारी राईले राज्यले चाहेजसरी जनगणना नभएको बताइन् । 'जनगणनालाई गम्भीर रूपमा लिइएन । राज्यको जुन उद्देश्य र जनताको चाहेजस्तो जनगणना भएको छैन । त्यस्तो तथ्यांक आएको छैन,' उनले भनिन् ।

आफ्नो परिवारको पनि तथ्यांक नलिइएको सांसद राईको भनाइ थियो । 'मेरो घरमा, मेरो परिवारसँग कसैले, कुनै पनि कर्मचारी आएर सोधपुछ र तथ्यांक लिएको छैन । मलाई पनि त्यो अनुभव भएकाले किन आएन त भन्ने चासो लागेको थियो,' उनले भनिन्, 'पहिले जनगणना हुँदा घरघरमा गएर, सबै परिवारसँग सोधेर वा घरको अभिभावकसँग सोधेर छोरा कति, छोरी कति, परिवार कति सबै तथ्यांक लिइन्थ्यो भने यसपटक ती कुराहरू मैले मेरो टोलमा पाइनँ । होला कुनै टोलमा, कुनै घरमा पुग्नुभयो होला ।' आफ्नो तथ्यांक नलिइएको बारेमा विभिन्न जिल्लाका व्यक्तिहरूले कुरा उठाइरहेको पनि उनले बताइन् ।

एमालेका सांसद सुरेन्द्र पाण्डेले काठमाडौंको जनसंख्याबारे शंका व्यक्त गरे । उनले काठमाडौंको जनसंख्या बढी हुनुपर्नेमा त्यसो किन नभएको हो भनेर केन्द्रीय तथ्यांक विभागका अधिकारीलाई प्रश्न गरेका थिए । संघीय राजधानी रहेको काठमाडौं उपत्यकामा बसाइ सरेर आउनेहरूको संख्यामा उल्लेख्य वृद्धि भएपनि जनगणनामा त्यस्तो नदेखिएको पाण्डेको भनाइ थियो । 'काठमाडौं आउनेलाई कुनै हिसाबले रोकिएको छैन । अरु जिल्लाको जनसंख्या बढ्ने र काठमाडौंको नबढ्ने किन होला ?,' उनले सोधे । विद्यार्थी र अस्थायी रूपमा काठमाडौंमा बस्नेहरू आ-आफ्नो घर गएकाले हो कि किन जनसंख्या कम देखिएको हो भनेर उनले सोधेका थिए, 'यहाँ बसेका मान्छे घर गएकाले यहाँ घटेको हो ? नत्र भने यो तथ्यांक मिलेन ।'

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले भने यकिन तथ्यांकले मुलुकको विकास कुन दिशातिर जाने भन्ने तय हुने बताए । उनले तथ्यांक सही भयो भने विकासका क्रियाकलाप पनि सोही अनुसार अगाडि बढाउन मुलुकलाई सहयोग पुग्ने धारणा राखेका थिए ।

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले असहज परिस्थितिमा जनगणना सम्पन्न गर्नुपरेको बताए । 'हामीले इमानदारीका साथ लगनशील भएर काम सम्पन्न गरेका हौं,' उनले भने ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो ।

जनगणना २०७८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । जनगणनाले जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत पुगेको देखाएको थियो ।


                                                                                                                        Source:-ekantipur

Post a Comment

0 Comments