गल्छी खबर, माघ १५। “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नाराको साथ यस गल्छी गाउँपालिका गल्छी तेक्वान्दो डोजाङ्गको स्थापना भएको छ ।
यस गल्छी गाउँपालिकामा विभिन्न समयमा बाहिरबाट आउने मार्शल आर्टका प्रशिक्षकहरुबाट बेलाबखतमा प्रशिक्षण त नगराएको हैन तर २/४ महिना खेलाउने अनि जाने गरेकोले बालबालिकाहरुले आफ्नो खेल कौशललाई निरन्तरता दिन सकेको छैन । सोही कुरालाई मध्यनजर गरि खेलकुद विकासको लागि केही योगदान गर्ने मनशाय राखी गल्छी तेक्वान्दो डोजाङ्ग दर्ता गरिएको जानकारी गल्छी तेक्वान्दो डोजाङ्गका प्रमुख एवं संस्थापक सुब्बा श्रेष्ठले दिनुभयो। आफू स्थानीय प्रशिक्षक भएको नाताले यस क्षेत्रका बालबालिकाहरुलाई तेक्वान्दोको अलवा अन्य खेलकुदमा समेत आफ्नो प्रतिभा देखाउन सक्ने वातावरण तयार गर्ने बताउनुभयो।
इन्टरनेटको जमाना त छ । यसले हामीलाई धेरै अगाडी त पुर्याएको जस्तो लागेको छ तर हामी सबैले दिनहुं महशुस पनि गरिरहेका छौं की यसले हाम्रा बालबालिकाहरुमा कति नकारात्मक असर पारिरहेको छ । त्यसैले मोबाईल, टेलिभिजन लगायतका साधनहरुबाट आफ्ना बालबालिकाहरुलाई केही समय भएपनि टाढा राख्न, दैनिक शारीरिक अभ्यासले स्वस्थ रहन, नियमित प्रशिक्षणले आत्मरक्षा गर्न सक्ने बनाउन र भविष्यमा खेल जगतमा नै लागि केही गर्छु भन्ने नानीबाबुहरुलाई तेक्वान्दो प्रशिक्षणसंगै मनोपरामर्श तथा शैक्षिक परामर्श सहित तेक्वान्दो प्रशिक्षण गराउने प्रयास गर्ने बताउनुभयो।
यसलाई सामान्य खेल मात्र नसम्झी आफ्ना नानीबाबुहरुको बृहत्तर विकास गर्न सक्ने स्थानको रुपमा समेत लिएर तेक्वान्दो खेलमा भर्ना गर्नु हुन गल्छीका अभिभावकहरुलाई अनुरोध गर्नुभयो।
यसको लागि जिल्ला खेलकुद परिषद धादिङ, नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति धादिङ, स्थानीय बुद्धिजीवी, राजनैतिक दल, जनप्रतिनीधिहरु, पत्रकार, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तित्वहरु, हितैषी मित्रहरुबाट ठुलो साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो।
सबै क्षेत्रबाट साथ सहयोग भएमा यस डोजाङ्गलाई भविष्यमा गल्छी स्पोर्ट्स् एकाडेमीको रुपमा समेत विकास गरी यस स्थानलाई अझै परिचित गर्ने लक्ष्य राखी यही फागुन १ गते बाट नियमित प्रशिक्षण गराईने कुरा सबैमा जानकारी गराउनुभयो।
0 Comments