गल्छी खबर। चालक बस्नेतर्फ लेखिएको छ– ‘माई ड्रिम ३०० पी, मेड इन नेपाल ।’ पछाडिको भाग राष्ट्रिय झन्डा आकारको छ । सिट क्षमता चालकसहित मात्र दुई जनाको । पछाडि सामान राख्ने डिकी ।रातो र सेतो रङ पोतेर चिटिक्क पारिएको यो अनौठो चारचक्के अचेल पूर्व–पश्चिम राजमार्गमा गुडिरहेको देख्न सकिन्छ । बाटामा धेरैले यसलाई अनौठो मानेर हेर्ने मात्र होइन तस्बिर खिच्छन्, टिकटक पनि बनाउन भ्याउँछन् ।
अनौठो आकारप्रकारको यो गाडीलाई बनाएका हुन् झापाको बाह्रदशी–६ बिहीबारेका २४ वर्षीय शिवराज लिम्बूले । उनले करिब चार वर्ष लगाएर यो गाडी तयार पारेका हुन् । ‘सुपर स्प्लेन्डर मोटरसाइकलको पुरानो इन्जिन प्रयोग गरेको हुँ,’ उनले सुनाए, ‘कबाडी पार्टपुर्जा जोडजाम गरेर गाडी तयार पारेको हुँ ।’ च्यासिसदेखि गियरसम्म सबै पुराना सामानका छन् । गाडीको बडी प्लाइउडले मोडिएको छ ।
जिज्ञासु स्वभावका शिवराज बाल्यकालदेखिको हुटहुटीले गाडी बनाउन हौस्याएको सुनाउँछन् । ‘गाडीहरू देख्दा एक दिन यस्तै बनाउँछु भन्ने लाग्थ्यो,’ उनले थपे, ‘सपना पूरा गर्न सपना देख्नुपर्ने रहेछ ।’ १० कक्षा पढ्दैदेखि उनले गाडी बनाउन थाले । पैसाको जोहो नहुँदा दुई वर्षमा पनि बनाइसकेनन् । पढ्दै, मजदुरी गर्दै गाडीको आकार त तयार पारे तर प्राण भर्न बाँकी थियो । प्राण अर्थात् इन्जिन किन्ने रकम थिएन ।
अन्ततः पढाइ छाडेर काठमाडौं हानिए अनि तीन वर्षजति मजदुरी गरे । जोगाएको पैसा लिएर झापा फर्किए । अनि बाइकको सेकेन्ड ह्यान्ड इन्जिन किनेर जडान गरे । ‘बाइकको इन्जिनले धोका पो देला कि भन्ने लागेको थियो,’ शिवराजले त्यो क्षण सुनाए, ‘गाडी स्टार्ट भयो, अनि गुड्यो । त्यो बेलाको जस्तो खुसी जीवनमा कहिल्यै भएको थिएन ।’ गाडी तयार पार्न उनलाई जम्माजम्मी ४ लाख रुपैयाँ खर्च लाग्यो । शिवराजले सबै रकम मजदुरी गरेरै जम्मा पारेका थिए । आर्थिक अभावकै कारण गाडी तयार पार्न उनलाई त्यतिका समय लागेको हो ।
‘पैसा हुने हो भने ३ देखि ४ महिनाभित्रमा गाडी तयार हुन्छ,’ उनले भने । गाडीमा जम्मा १० लिटर पेट्रोलको ट्यांकी छ । पुरानो इन्जिन भएकाले माइलेज ठीकै छ । कालोपत्रेमा प्रतिलिटर २५ र ग्राभेल सडकमा प्रतिलिटर २० किलोमिटर गुड्छ । अधिकतम गति ८० किलोमिटर प्रतिघण्टा । गियर चारवटा छ । हात र खुट्टा दुवैले गियर चलाउन मिल्छ । केही समय आविष्कार केन्द्रमा रहेर पनि काम गरेका शिवरामले यसअघि हाते ट्र्याक्टर बनाएका थिए ।
भविष्यमा हवाई जहाज बनाएर उडाउने उनको सपना छ । ‘नेपालमै बनेको राष्ट्रिय ध्वजावाहक जहाज उडाउने सपना देखेको छु,’ बिसौनीमा उनले भविष्यको योजना सुनाए, ‘आफैं कमाएर जहाज बनाउँछु अनि उडाएर देखाउँछु ।’
0 Comments