माघ १६, गल्छी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बागमती प्रदेश कमिटीले आगामी वैशाखमै स्थानीय तह निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोग समक्ष माग गरेको छ । आइतबार जारी गरिएको प्रेस विज्ञप्ती मार्फत अनेरास्ववियुले समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न माग गरेको हो ।
बागमती प्रदेश कमिटी सचिव लालबहादुर बुढाथोकीले जारी गर्नु भएको प्रेस विज्ञप्तिमा “स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन कार्यकाल समाप्त हुनु भन्दा दुई महिना अगाडि हुने व्यवस्था गरेको छ । संविधानको धारा २२५ ले स्थानीय सरकारको कार्यकाल ५ वर्षको हुने प्रस्ट व्यवस्था गरेको छ । दलीय स्वार्थमा अल्झिएर यो नागरिक अधिकार खोस्न पाउने छुट कसैलाई छैन ।” उल्लेख गरिएको छ ।
संवैधानिक मर्म बमोजिम ५ वर्षभन्दा एक दिन पनि बढी काम गर्न सक्दैनन् । सङ्घीय सरकारले चाहँदैमा संवैधानिक सीमाभन्दा पर गई कानुन संशोधनको माध्यमबाट सङ्घीय सरकारले स्थानीय निर्वाचन सार्न नमिल्ने विज्ञप्तिमा भनिएको छ ।
अदालतको परमादेशबाट गठित सरकारले स्थानीय तहको निर्वाचन, जनताको लोकतान्त्रिक अधिकार प्रयोग गरि आफ्नो जनप्रतिनिधि आफै चुन्न र चुनिन पाउने अधिकारलाई स्वघोषित लोकतन्त्र र विधिको हिमायती ठान्ने राजनीतिक दलबाट नै सत्ताको लिप्सामा टाँसिएर संविधानको धज्जी उडाउने कार्य भएको र यसको हाम्रो सङ्गठन अनेरास्ववियु घोर भर्त्सना गर्न चाहन्छ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संविधान, प्रचलित निर्वाचन सम्बन्धी ऐन,कानुन एवं विधिको शासन, संविधान र लोकतन्त्रको आधारभूत मूल्य मान्यताको अधीनमा रही आगामी वैशाखमै स्थानीय तह निर्वाचन सम्पन्न गर्न उसले निर्वाचन आयोग, नेपाल सरकार लगायतका सरोकारवालासँग जोडदार माग गरेको छ । लोकतन्त्रलाई जीवन्त बनाउन लाखौँ विद्यार्थी पुनः एक पटक सडकमा उतार्न हामी बाध्य हुने छौँ त्यसबाट उत्पन्न परिस्थितिको जबाफदेही परमादेश सरकार स्वयं हुने चेतावनी विज्ञप्ती मार्फत दिएको छ ।
0 Comments