Breaking News

6/recent/ticker-posts

Header Ads Widget

गल्ती हुँदा के गर्ने ? - विवेक बस्नेत

✍️ विवेक बस्नेत


गल्छी खबर, असोज ३। धेरै मानिससँग विभिन्न थरीका आधुनिक सुविधा - र सहिष्णुताको खाडल बढेको छ। जीवनयापन गर्दा आइपर्ने समस्यालाई सामान्य हिसाबले नलिंदा र बुझन-जान्न नखोज्दा मानिसमा निराशा बढेको छ, उनीहरू तनावमा छन्। आर्थिक असमानता बढेको छ, मानिस असहिष्णु बन्दै गएको छ र अशान्ति व्याप्त हुँदैछ। आफैप्रतिको अविश्वास र जिन्दगीको उद्देश्य सम्बन्धी अन्योलका कारण आत्महत्या गर्नेहरूको संख्या पनि बढ्दै गएको छ। मानिस परिस्थितिको भुमरीमा हराउँदो छ।


कठिन बन्दै गएको जीवनलाई सहज र सरलसँग बुझाइदिने विधिको खाँचो छ, आज सबैलाई। निराशा र तनावमा बाँचेका मानिसले सत्मार्ग पहिचान गर्ने विधि के हो ? तिनलाई तनाव नलिइकन जीवनयापन गर्न कसरी प्रेरित गर्ने ? 


मानिसभित्र अनुशासन, प्रेम र सत्यप्रतिको विश्वास कम हुँदैछ। सुखी रहन हाम्रो व्यवहारमा प्रेम, सत्य र अनुशासन समायोजन हुनु आवश्यक हुन्छ। 

बलवान समय

 ‘जीवन सरल छैन, कठिन छ, दु:ख र कष्टले भरिपूर्ण छ।' यो सत्यलाई आत्मसात् गरेर अगाडि बढ्ने हो भने कुनै पनि काम अप्ठेरो हुँदैन। यो वास्तविकता बुझेपछि जीवनमा भोग्दै गरिएका अप्ठेराहरू सहजै स्वीकार गर्न सहयोगपुग्छ। परिणामत: यस्ता अप्ठेराहरू समस्याको रूपमा मात्र नरहेर उपयोगी अनुभव पनि बन्न सक्छन्। जीवनरूपी सिक्काका सुख र दु:ख दुई पाटा हुन् जुन समयसँगै माथि-तल भइरहन्छन् । कुनै बेला समस्या शृंखलाबद्ध रूपमा आउँछन्, टरेर पनि जान्छन् । तर समस्याको सामना गर्ने कि आत्मविश्वास गुमाउने ? निराश हुने कि सामना गर्ने ? यहींनेर गर्नुपर्छ रोजाइ।


समय निरन्तर चलिरहन्छ, रोकिंदैन। समय र परिस्थिति सुहाउँदो वातावरण बनाउने हो भने मान्छेले कुनै पनि कठिन काम सहजै सम्पन्न गर्न सक्छ। तर समस्या त्यत्तिकै समाधान हुँदैन, न त समाधान गर्ने फुमन्तर जादूको छडी हुन्छ। समस्या सुल्झाउनका लागि आफू अग्रसर हुनैपर्छ, अन्यथा समस्या प्रगतिको बाधक बन्न सक्छ । समाधानका लागि हामीले आफ्नो जिम्मेवारी बोधसँगै क्षमता बढाउने प्रयास गर्नुपर्छ । समस्या मेरो हो, म यसलाई सहजै समाधान गर्छ भन्ने आत्मविश्वास दृढ हुनुपर्छ । यसले नै सफलतातिर डोऱ्याउँछ।'


हामीले बुझेको वा बुझने गरेको वास्तविकता एउटा नक्शाजस्तै हुन्छ। यदि नक्शा सही छ भने हामीले लिएको बाटो ठीक हुन्छ। नक्शा नै गलत भयो भने त्यसले हामीलाई गन्तव्यमा पुयाउँदैन । हामीले जन्मिदै जीवनको नक्शा लिएर आएका हुँदैनौं। घर-समाजको संगत, शिक्षा र व्यावहारिक जीवनयापनका अनुभव आदि यस्तो नक्शा कोर्न सहयोगी बन्छन् । नक्शा तयार गर्न समय लाग्छ र मिहिनेत पनि चाहिन्छ। त्यस क्रममा थुप्रै चुनौती पनि आउँछन्, तिनलाई डटेर सामना गर्दै गल्ती सुधार्दै जानु नै हाम्रो कर्तव्य हुन्छ|


अनुशासित पद्धति

हामी किन दुःखी छौं ? जीवन हामीलाई किन कठिन लाग्छ ? 'दु:ख हटाउन खर्चिनु परेको श्रम र समयका कारण हामीलाई जीवनयापन कठिन लाग्छ। वास्तवमा समस्या मानिसको जीवनको सफलता र असफलताबीचको बिन्दु हो। आफ्ना समस्या आफै समाधान गरेको अनुभवले हामीलाई परिपक्व बनाउँछ, हाम्रो मानसिक र आध्यात्मिक चिन्तन र जीवनप्रतिको विश्वास विगतको भन्दा दह्रो हुँदै जान्छ। समस्याको समाधानले मानिसलाई प्रगतितर्फ लैजान प्रेरित गर्नुपर्छ तर त्यस्तो बाटो लिने वा नलिने भन्ने प्रसङ्ग प्रत्येक व्यक्तिको इच्छाशक्तिमा भर पर्छ । "अनुशासन समस्या समाधानको मुख्य साधन हो। अनुशासनविना कुनै पनि समस्याको समाधान सम्भव हुँदैन। आंशिक अनुशासनले जीवनका केही समस्याहरूको समाधानको बाटो खोल्छ भने पूर्ण अनुशासनले जीवनका हरेक समस्याको समाधान सहज बनाउँछ।”


विवेकशील व्यक्तिहरू आफ्ना समस्या हाँसी-खुशी समाधान गर्न तत्पर हुन्छन्। परिश्रम गर्नुपर्ने वास्तविकताबाट आत्तिदैनन् । तर धेरैजसो व्यक्तिहरू समस्यालाई सहज रूपमा स्वीकार गर्दैनन्, टार्न खोज्छन्। समस्याले ल्याएको दु:ख बिर्सन खोज्छन्। तर यसरी समस्या झन् बल्झदै जान्छ। कुनै पनि समस्यालाई टार्न सकेमा वा पछि धकेलेमा त्यो समयसँगै हराएर जानेछ भन्ने भ्रममा हामी रहन्छौं। समस्या र तनाव बिर्सनका लागि व्यक्तिहरू विभिन्न किसिमका औषधि खाने पनि गर्छन्। त्यस्तामध्ये कतिपय दुर्व्यसनकै शिकार हुन पुग्छन् ।

सकारात्मक विचार राख्न सके हामी कुनै पनि समस्यासित जुध्न सक्छौं र आइपर्ने दु:ख आत्मसात् गर्न पनि। समस्या झेल्ने चार किसिमका उपाय छन्: पहिलो, नमीठो अनुभव गरेर पछि मीठो अनुभव गर्ने । दोस्रो, आफ्नो जिम्मेवारी वहन गर्ने। तेस्रो, सत्यलाई अँगाल्ने र चौथो, जीवनलाई सन्तुलित राख्ने । यी विधि पालना गर्न कुनै किसिमको तालीम लिनुपर्दैन। यी यति सजिला छन् कि सामान्य व्यक्तिले पनि आफ्नो व्यवहारमा समायोजन गर्न सक्छ। यी उपाय अवलम्बन गर्दा दु:ख, समस्या र तनावसँग जुध्न आवश्यक आत्मविश्वास बढ्छ र जीवनका सकारात्मक पक्षलाई आत्मसात् गर्न मद्दत पुग्छ।


हामी बालबालिकालाई समस्याको डटेर सामना गर्दै अगाडि बढ्न हौस्याउँछौं। उनीहरूलाई अनुशासित बनाउन खोज्छौं। यसरी हामी उनीहरूलाई समस्या भोग्न र सँगसँगै समस्याबाट उम्कन सिकाउँछौं। अनुशासित भएपछि उनीहरू परिपक्व एवं समस्या समाधान गर्न सक्षम हुन्छन् भन्ने हामी अनुमान गछौँ । बालबालिकाले आफ्ना अभिभावकलाई ईश्वर सरह मान्छन् र तिनले डोऱ्याएको बाटोमा हिंड्न तत्पर हुन्छन्।

Post a Comment

0 Comments