✍️विवेक बस्नेत
सामान्यतया आत्महत्या भन्नाले आफूले आफूलाई मार्नु भन्ने बुझिन्छ । मानिसहरु कहिल्यै मर्न चाहँदैनन् तर कुनै बेला यस्तो परिस्थिति पनि सिर्जना हुन्छ जब मानिसले मर्नुको कुनै विकल्प देख्दैन, मर्नुलाई नै समाधान ठान्छ । अनि यही अवस्था आत्महत्याको प्रेरणा मानिन्छ । यो आफैंमा रोग चाहिँ होइन, तर मनोरोगको परिणाम चाहिँ हो ।
आत्महत्याका लागि धेरै पक्षहरुले प्रेरित गरिरहेका हुन्छन् । त्योमध्ये सबैभन्दा महत्वपूर्ण कारण भनेको डिप्रेसन हो । त्यसबाहेक लागुऔषध र मद्यपानले मानिसलाई आत्महत्या गर्न पनि प्रेरित गर्छ । सिजोफेनिया र बाइकोलार जस्ता जटिल मानसिक समस्याका कारण पनि मानिसले आत्महत्या गर्छ ।
जुन व्यक्ति व्यक्तित्व विकार र दीर्घकालिन रोगहरुबाट ग्रसित हुन्छ, त्यस्ता मानिसमा आत्महत्याको सोच विकास हुन्छ । अनि उनीहरुले आत्महत्या गर्ने सम्भावना पनि बढी हुन्छ । आपराधिक घटनामा संलग्नताले भने मानिसमा अचानक आत्महत्याको सोच आउँछ ।
फेरि डिप्रेसन पनि ३ प्रकारका हुन्छन् । सामान्य, मध्यम र मेजर डिप्रेसन । मेजर डिप्रेसन सबैभन्दा भयानक अवस्था हो । यो अवस्थामा रहेका मानिसहरुले आत्महत्या गर्ने सम्भावना झन्डै सतप्रतिशत नै हुन्छ । यस्ता व्यक्तिहरु पूर्णरुपमा आत्महत्या गर्न तयारी भएर बसेका हुन्छन् ।
मेजर डिप्रेसनले मानिसलाई समाजमा टिक्नै नसक्ने महशुस गराउँछ । यसले मानिसलाई आफ्नो नियन्त्रण भन्दा बाहिर धकेल्छ । त्यसपछि मानिसले बाँच्नुपर्छ भन्ने सोच्नै छोडिदिन्छ । दिमागमा म केही गर्न सक्दिनँ, यो दुनियाँमा मजस्तो असफल र अभागी मान्छे कोही छैन भन्ने कुरा मात्र आउँछ । स्वस्थ मानिसमा यस्तो कुरा एक, दुई पटक मात्र आउँछ । तर जो डिप्रेसनको शिकार भएको छ उसले २४ घण्टा त्यही कुरा मात्र सोचिरहेको हुन्छ । कोही व्यक्तिलाई त यस्तो हुन्छ की निदाउँदा सपनामा पनि म असफल र बेकारको मान्छे हुँ भन्ने कुरा मात्र आउँछ ।
यस्तो अवस्था मस्तिष्कमा हुने न्युरो केमिकलको थपघटका कारण हुन्छ । न्युरो केमिकलको गडबढीले मानिसलाई डिप्रेसन हुन सपोर्ट गर्छ । मानिसलाई दुखी बनाउन शरीरका बिभिन्न ग्रन्थीहरुले समेत सपोर्ट गरिरहेका हुन्छन् । त्यस्तै, एउटा मानिसमा डिप्रेसन हुनुमा वंशाणुगत गुणको पनि भूमिका हुन्छ । यी कारणले मानिसहरुमा डिप्रेसन हुन्छ ।
सामान्य मान्छेहरु मर्न डराउँछन् तर डिप्रेसन भएको मान्छे बाँच्न डराउँछ । उनीहरु पृथ्वीमा आफ्नो उपस्थिती नै चाहँदैनन् र आत्महत्या गर्छन् । आत्महत्या गर्न डराउने समस्या पनि हुन्छ । त्यसलाई एन्जाइटी भनिन्छ । डिप्रेसन भएका व्यक्तीलाई केही उत्साह, उमङ्ग, रस, जाँगर नै हुँदैन । उनीहरु आफूलाई एउटा कोठामा बन्द गरेर राख्न चाहन्छन् । उनीहरु आशा, भरोसा र सहयोगविहिन हुँदै जान्छन् । आफूलाई निरर्थक देख्नु र आफैंलाई माया नगर्नुले मानिसलाई कमजोर बनाउँदै लैजान्छ र व्यक्तिले आत्महत्या रोज्छ ।
आत्महत्याको अर्को मानसिक कारण पर्सनालिटी डिसअर्डर हो । यस्तो समस्या भएका मान्छेले अरुलाई सधैं नराम्रो देख्छ । उनीहरु यो संसार खराब छ, यी मानिसहरु खराब छन्, यिनीहरुको लागि म बाँच्नु हुन्न भन्ने वितृष्णा पैदा हुन्छ । यस्तो भएपछि मानिस एउटै विकल्प देख्छ त्यो हो ‘मृत्यु’ । मस्तिष्कले पनि ऊर्जा घटाएर मृत्यु मात्र देख्ने बनाउँछ ।
एउटा स्वस्थ मान्छे त्यतिबेला डिप्रेसनमा जान थाल्छ जब उसले सानो समस्यालाई ठूलो र ठूलो उपलब्धिलाई सानो देख्न थाल्छ । सामान्य मानिसहरुलाई सानो उपलब्धिमा रमाउने खुशी हुने बानी परेको हुन्छ, यस्ता मानिसले समस्यालाई सहज रुपमा लिने गर्छन् । यसो गर्नाले पनि डिप्रेसनबाट बच्न सकिन्छ ।
एउटा स्वस्थ मानिसलाई कुनै घटनाले ५ प्रतिशत तनाव दिन्छ भने डिप्रेसनको बिरामीलाई ८० प्रतिशत तनाव दिने गर्छ । त्यस्तो किन हुन्छ भने बिरामीको कुनै घटनालाई हेर्ने दृष्टिकोण कुनै बेला पनि सकारात्मक हुदैन । उसको दिमाग यति नकारात्मक हुन थाल्छ कि जे कुरामा पनि उसले नकारात्मक भावना नै विकास गरिरहेको हुन्छ । मानौं, एउटा सामान्य मान्छेले अरु कसैलाई फोन गरेको छ र केही पटक फोन उठेन भने उसले उसको समय छैन होला भन्ने सोच्छ तर यही घटनाले डिप्रेसनमा भएको व्यक्तिले चाहिँ फोन नउठाउने मान्छेले आफूलाई हेपेको वा बेवास्ता गरेको भन्ने सोच्छ । अनि यस्तो नकारात्मक सोचाइले हाम्रो मस्तिष्कमा पनि क्षति पुर्याउँछ ।
दिमागमा सेरोट्रोनको मात्रा कम छ भने मानिसले चाहेर पनि सकारात्मक सोच्न सक्दैन । दिमागमा डोपामिन भन्ने तत्व बढी भएमा मानिसमा भ्रम पैदा हुन्छ । यसले अरुले आफूमाथि षडयन्त्र गरिरहेको महशुस गराउँछ ।
मानिसको सोच्ने तरिका परीस्थितीजन्य भएमा मर्ने कुरा दिमागमा आउँदैन तर सोच्ने र बुझ्ने तरिका बिरोधाभास प्रकारको छ भने मानिसलाई आत्महत्या गर्न मन लाग्छ । कुनै कुरालाई नकारात्मक कोणबाट दिमाग हाबी गराउँदा मानिस दुखी हुनेगर्छ, दुखी हुनुको चरम रुप डिप्रेसन हो र यसले मानिसलाई आत्महत्या गर्न प्रेरित गर्छ ।
अपवाद बाहेक सबै आत्महत्या योजना बनाएर गरिएको हुन्छ । त्यो योजना छोटो पनि हुनसक्छ । हाम्रो दिमागमा त्यस्ता तत्वहरु पनि सक्रिय हुन्छन् जसले आत्महत्याको योजना बनाउन प्रोत्साहन गर्छन् । यही कुरालाई आफूले जित्न नसकेमा आत्महत्या रोज्ने गर्छन् मानिसहरु ।
यस्तो कुरालाई व्यवस्थापन गर्न मानिस कुन परिवार वा कुन समाजमा हुर्किएको छ, उसले कस्तो शिक्षा र विज्ञता हासिल गरेको छ भन्ने कुराले भूमिका खेलेको हुन्छ । सहनशील, महान, गुण जस्ता कुराले एउटा मान्छेले कति सकारात्मक सोच राख्छ भन्ने निर्धारण गर्न सकिन्छ । अधबैँसे उमेरका पुरुषमा आत्महत्या गर्ने संभावना बढी हुन्छ ।
कहिलेकाहीँ जीवनले मानिसलाई यस्ता कठिन परिस्थितिहरूमा उभ्याइदिन्छ कि त्यस क्षणमा मानिसहरू आफूले सामना गर्नुपरेको परिस्थितिहरूभन्दा मृत्यु पक्कै पनि उचित हो भन्ने महसुस गर्न सक्छन् । तर, यदि तपईंले यसलाई स्वीकार गर्नुभयो भने, आफूले सामना गर्ने सानातिना अप्ठ्याराहरूलाई पनि उनीहरू सबैभन्दा कठिन परिस्थिति ठान्नेछन् अनि आफूलाई अन्त्य गर्न चाहनेछन् । त्यसैले, यसलाई कुनै पनि हालतमा सही मान्न सकिँदैन । किनकि, सामाजिक संरचना र समाजको मनस्थितिमा यसलाई मान्यता दिनेबित्तिकै ठूलो सङ्ख्यामा मानिसहरू आत्महत्या गर्न थाल्नेछन् । कुनै सानो अप्ठ्यारो हुनेबित्तिकै आफैँलाई मार्नेछन् !
यो जीवन तपाईंले सृजना गर्नुभएको होइन, त्यसैले यसलाई समाप्त गर्ने तपाईंलाई कुनै अधिकार छैन— चाहे त्यो तपाईंको आफ्नो जीवन होस् वा अरू कसैको किन नहोस् ! सिधा कुरा के हो भने, जबसम्म तपाईंमा यसलाई सृजना गर्ने सामर्थ्य हुँदैन, तपाईंले यसलाई नष्ट गर्नुहुँदैन । जीवनमा अनेक किसिमका परिस्थितिहरू सामना गर्नुपर्छ— केही ठीक हुन्छन्, केही ठीक हुँदैनन्, केही त एकदमै भयानक समेत हुन्छन्— त्यसबेला पनि तपाईंलाई आफ्नो जीवन त्याग्ने कुनै अधिकार हुँदैन, किनकि तपाईं यो जीवन सृजना गर्न सक्षम हुनुहुन्न ।
यो जीवन तपाईंले सृजना गर्नुभएको होइन, त्यसैले यसलाई समाप्त गर्ने तपाईंलाई कुनै अधिकार छैन— चाहे त्यो तपाईंको आफ्नो जीवन होस् वा अरू कसैको किन नहोस् !
स्वाभाविक रूपमा जो-कसैका निम्ति आफ्नो जीवन अमूल्य हुन्छ । यद्यपि, यदि कसैले यो भावनालाई नाघेर आफ्नो जीवन त्याग्ने कोसिस गरेका छन्, र यदि बाँचेका छन् भने, म पूर्णतया 'नाईं' भन्छु । तर, यदि कसैले आत्महत्या गरिसके भने, उसको त्यस निर्णयलाई सम्मान गर्नुहोस् अनि त्यो विषयलाई त्यहीँ छोड्नुहोस् । आफूसँग भएको यति अमूल्य कुरा हुँदाहुँदै पनि कसैले आफ्नै ज्यान लिने कठोर पाइला चालेका छन् भने, हामीलाई त्यो कार्य जतिसुकै मूर्खतापूर्ण लागे तापनि उसको निर्णयलाई सम्मान गर्नुपर्छ, किनकि जे भइसक्यो, त्यो भइसक्यो । तर, यदि कोही जीवित छन् भने, तपाईंले १००% 'हुँदैन' भन्नुपर्छ, किनकि उसलाई त्यसो गर्ने कुनै अधिकार छैन ।
मानिसको कर्मसँग सम्बन्धित संरचनाको आधारमा अनि उसको आध्यात्मिक विकासको सन्दर्भमा हेर्ने हो भने, त्यसो गर्नुहुँदैन । यसको प्रश्न नै उठ्दैन । जीवनका परिस्थितिहरूमा फस्नु वा अल्झिनुको सट्टा तपाईंले हरेक परिस्थितिलाई एउटा सम्भावनाको रूपमा हेर्नुपर्छ, ताकि तपाईं मुक्तितर्फ अघि बढ्नु होओस् । यदि तपाईंले हरेक परिस्थितिलाई अघि बढ्नको निम्ति खुड्किलाको रूपमा प्रयोग गर्नुभयो भने, आत्महत्याको प्रश्न नै उठ्दैन । यदि समाजमा आध्यात्मिक प्रकियाहरू सक्रिय हुने हो भने, आत्महत्याको घटना लगभग पूरै हराउनेछ— मानसिक रोग लागेका मानिसहरूबाहेक । उनीहरू केही न केही गर्न सक्छन्, किनकि उनीहरू जे-जति गरिरहेका हुन्छन्, त्यो स्वयं उनीहरूकै नियन्त्रणमा हुँदैन । तर, यदि व्यक्तिको जीवनमा आध्यात्मिक प्रक्रियाको सहारा छ भने, जानीबुझी आफ्नो ज्यान लिने मानिसहरू निकै कम हुनेछन् । सम्भवतः यो पूरै हराउन पनि सक्छ ।
आत्महत्याबाट बच्न वा भाग्न नै भनौँ, मानसिक समस्या व्यवस्थापन गर्नुपर्छ । मानसिक समस्या ब्यवस्थापन गर्ने मुख्य दुई तरिका हुन्छन् । एउटा औषधि सेवन हो भने अर्को साइकोथेरापी । औषधि सेवनले मस्तिष्कमा थपघट भएको तत्वहरु समायोजन गर्छ । साइकोथेरापीले मानिसको सोच्ने नजर नै परिवर्तन गर्छ ।
पूर्ण रुपमा डिप्रेसनबाट बाहिर आउन साइकोथेरापि र औषधि सेवन दुवै गर्नुपर्छ । यसो गर्नाले एउटा मानिस डिप्रेसनबाट मुक्त हुनसक्छ । त्यो बाहेक आफैंमा परिवर्तन, परिवारको माया र समाजको साथले एउटा मानिसलाई मृत्युको बाटोबाट हटाउन सक्छ । यसरी देशको आत्महत्या दर घटाउन सकिन्छ ।
0 Comments