Breaking News

6/recent/ticker-posts

Header Ads Widget

अक्सिजन लेभल कम भएमा मलाइ उपचार गर्न त सक्छौ नि?

 ✍️ सुजन दाहाल (गल्छी - ६, महेशदोभान ) 


किर्तिपुरमा एउटा कोठा लिएको छु । यहाँ हामी बसेको १४ बर्ष भएको छ । मेरो र उनको माया बसेपछी घरमा आफुभन्दा तल्लो जातको केटि भित्र्याउन हुदैन भनेपछी हामी भागेर बिहे गरेर यहाँ आएर बसेका थियौं । अहिले हाम्रो १३ बर्षको छोरी र १० बर्षको छोरो छ । उनिहरु नजिकै रहेको बोर्डिङ स्कुलमा पढछन् अहिलेसम्म । श्रीमती घरमै काममा ब्यस्त हुन्छिन् । मेरो रोजगारी अस्थायी प्रकृतिको भएकाले कहिले के काम गर्छु, कहिले के काम गर्छु तर बिगत ४ बर्षदेखी भने एउटा रेस्टुरेन्टमा कुक हेल्परको रुपमा कार्यरत थिएँ लकडाउन अघिसम्म । म घरबाट भागेर बिहे गरेको कारणले पहाडको घरमा खासै आवतजावत र सम्पर्क हुँदैन । कोभिड-१९ नामक भाइरस फेरि फैलदै गएपछि सरकारले बिभिन्न ठाउँमा लकडाउन र निषेधाज्ञा जारी गर्न थाल्यो । अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कनु भन्यो । "ओर्क फ्रम होम भन्यो" हाम्रो काम त कसरी यसरि गर्न मिल्नु र अनि । यसरी मेरो काम गर्ने रेस्टुरेन्ट पनि बन्द भयो ।



पोहोर पहिलो सिजनको करिब छ महिनाको लकडाउन खुलेपछी करिब पाँच महिना जति मात्र मेरो काम भयो र अस्थायी काम भएकाले काम गरेको जति मात्र तलब आयो, स्थायी कर्मचारिको जस्तो घर बसि बसि दशै भत्ता सहित तलब आएन मेरो । कोठाभाडा, बच्चाको स्कुल फी, पसलको उधारो तिर्दा त्यो तलब ठिक्क भयो । अब लकडाउन होला र चाहिएला भनेर सोचिएन तर सोचेको भएनी संचय गरेर राख्नलाइ त कहा पुग्ने थियो र मेरो तलब ले त । बच्चाहरुको पनि अब अनलाइन जाँच लिएर माथिल्लो कक्षामा चढाउने अरे,तसर्थ त्यो जाँचमा बस्नलाइ नि बाँकी शुल्क बुझाउनुपर्छ अरे । रासन दिने पसलेले पनि आफुले अब उधारो दिन नसक्ने कुरा बताइसके । झन बिचरा घरबेटी बा को त गुजारा यही घरभाडाबाट उठ्ने भाडा भएकाले मैले नदिनासाथ उहाँको गुजारा चल्न मुस्किल पर्छ । काठमांडौमा घर भएको भनेर नि के भन्नु अन्य आयश्रोत नभएसि घर कोपरेर नि भएन नि । यहाँ बिभिन्न पात्रहरु,जस्तैः स्कुल,पसले साहुजी,घरबेटी बा हरु आ-आफ्नो ठाउँमा ठिक छन् । "पहिले आफु बाँच्ने अनि सन्सारलाइ बचाउँने त हो" भन्ने सिद्धान्तमा त चलेका होलान् नि सबैजना ।


पोहोर सालको लकडाउनमा राहतको रुपमा विभिन्न सामाजिक अभियन्ताहरुले चामल बाँडने,खाना खुवाउने,खाजा बाँडने गरेका थिए । मैले पनि घरमा चामल,तरकारी लेराए । खुलामञ्चमा खाना खान हामी पनि गयौं । पोहोर त लकडाउन कटेको मैले पत्तै पाइन । स्कुलले पनि पोहोर त फी तिर्नु पर्दैन भनेको थियो,नपढेको अबधिको । घरभाडा पनि दुई महिनाको छुट भएको थियो । पोहोरको सिजनको लकडाउनमा सरकारको निर्देशन नै यस्तै थियो र सबैले सोहिअनुसार पालन गरे तर यो पटक पोहोर जस्तो पटक्कै छैन । पोहोर खाना खुवाउन,बाँडन हिडेका अभियन्ताहरु अहिले नि हिडिनैरहेका त छन् तर यो पटक भने अक्सिजनको खोजिमा । उनिहरुको दैनिकी नै अक्सिजन खोजी अस्पतालमा र आइसोलेसनमा उपलब्ध गराउनमा बित्दैछ भने कोहिको चै त्यस्ता भगवान स्वरुप मानिसहरुको बिरोध र आलोचना गर्नमा ।


माथिल्लो निकाय र ब्यक्तिहरुसंग पहुँच हुनेहरु पास बनाएर काममै हिँडेका छन् भने कोहि चाही बेकाममा । केहि बर्षदेखी ब्यबसाय गरेका ठुला ब्यबसायीहरु त्यती ठुलो मारमा छैनन् भने नयाँ ब्यबसायी टाट पल्टने अवस्थामा पुगिसके । निजामती वा सरकारी कर्मचारीहरु स्थायी जागिर भएसी यसै नै घर बसि बसि तलब आएको छ । केहि रास्ट्रसेवक कर्मचारी त टिकटकमा यति धेरै हिट भैसके नि झन् । स्वास्थ्य सेवाका कर्मचारी जुन पहिले अन्डरभ्यालुड भएका थिए , अहिले भने पर्फेक्ट भ्यालुड भएका छन् । झन् सरकारी सेवा सुबिधाकै प्रयोग गर्ने जनताको सेवा गर्छु भनेर जनताको बिस्वास जितेर वडा,पालिका जितेका जनप्रतिनिधिको त के कुरा गर्नु र नि । "हाम्रो कार्यालयमा पनि कोरोना पोजिटिभ देखिएकाले अत्यावश्यक सेवा बाहेक अन्य कार्यका लागी अनिश्चितकालसम्म बन्द रहने कुरा जानकारी गराउदछौँ " भनेर बिज्ञप्ति निकाल्नमै भ्याइनभ्याई छ । अझै अर्को पनि महान काम उहाँहरु बाट हुनेगरेका छन् " ...... ले प्रयोग गर्दै आएको गाडी बिरामी बोक्ने एम्बुलेन्स बनाएका छौं " । कसैलेपनि यो अबधिभर "हामि जनप्रतिनिधिले पाउने सेवा-सुबिधाको रकमबाट यस क्षेत्रमा रहेका दिनहुुँ रोजिरोटी गर्न गार्‍हो भएकोलाइ राहत दिँदैछु,तरकारी नबिकेको किसानलाइ क्षतिपुर्ती दिँदैछु" भनेका खासै सुनिएको छैन । भर्खर उम्रन खोजेका बिरुवा त यस्ता छन् भने हुर्किएर रुख भएकाहरु अनि किन सत्ताको लागी मरिहत्ते नगर्नु, कुर्सिको लागी किनबेच किन नगर्नु,आफ्नो मान्छे नियुक्ती गर्न किन नखोज्नु, आफ्नै पार्टिलाइ घात किन नगर्नु, रातारात एम्बेसी किन नधाउनु,बर्सेनिदेखी संगै भएका साथी किन नछुटनु,हेड हुन किन नखोज्नु, भाषणमा बोलि पिच्छे एक अर्कालाइ गाली किन नगर्नु, फेसबुक र टुइटरमा एक अर्कालाइ गाली गलोच र घोचपेच किन नगर्नु, स्वभाबिक त रैछ । म जस्तोलाइ सम्झिने फुर्सद नै छैन उहाँहरुलाई अनि ।


अस्ति सिसिएमसी को एकजना सदस्यको अन्तर्बार्ता सुनेको थिए, "यो महामारि हो, यसको रोकथाममा सबैले आ-आफ्नो ठाउँबाट भुमिका बहन गर्नुपर्छ" अरे । काम नगरी घरमा एक छाक मात्र खाएर बसिरहेका छौँ त अनि हामी ! यो भन्दा कति गर्नु? यसरी एक छाक खाएर घरमा बसेबापत तिमिले के गरेउ हामीलाई ? अझै म र मेरो परिवार यसैगरी रोग नियन्त्रण गर्नुपर्छ भनेर घरभित्रनै बसिरहन सक्छौँ तर दुई छाक खाने ब्यबस्था मिलाइदेउ न त। भोकमरी ले मर्दा हुने तर कोरोना लागेर मर्न नहुने हो? कोरोनाले मरेको दिन दिनै गन्ती हुन्छ तर अरु कुराले मरेको गन्ती हुदैन तसर्थ कोरोनाको कारणले मरेको गन्ती बढाउन हुन्न भन्न खोजेको? कि के हो? मलाई नि थाहा छ, पहिले जिवन अनि मात्र बाँकी कुरा,तर म खानै नपाई मरे भनी नि? को जिम्मेवार? अनि नेपालको संविधान २०७२ को धारा ३६ को खाद्यसम्बन्धि हक चाँही के गर्छौ? - संसोधन? कि के? यसो भन्दै गर्दा कसैको आलोचना गरेको चाँही होइन किनकी सरकार र सम्बन्धीत निकायको समन्वयमा कोरोनाको रोगीलाई उपचारको निशुल्क ब्यबस्था र सो संग सम्बन्धी सम्पुर्ण ब्यबस्था गरेको छ अरे । सबैकुरा सित्तैमा पाइन्छ अरे, अक्सिजन बाहेक । कहि कहि त अक्सिजन नि छ अरे । बिभिन्न देशबाट ल्याएका अक्सिजनहरु साम्सद र मन्त्रीहरुले आफ्नो आफ्नो निर्बाचन क्षेत्रमा लुछाचुडी गरेर लगेका छन् रे, अनि जहाँ जहाँ लगेका छन् ,त्यहाँ त्यहाँ त भइगो नि । यसरी सरसर्ती बुझ्दा त कोरोना लागेको चाहि सहि उपचार पाएमा बाँच्ने तर कोरोना नलागेको घरमै बस्ने चाही मर्ने देखियो भोकले । यदि कोरोमा लागेको लाई मात्र निशुल्क उपचार र खानपान को ब्यबस्था गर्दिने हो र घरमा थुनिन बाध्य भएकालाई नहेर्ने र त्यसै मर्ने दिने हो भने सरकार / सम्बन्धित निकाय / जनप्रतिनिधि , म र मेरो परिवारलाई पनि कोरोना सार्देउ न त आउ, अनि उपचार गर्न लैजाउ तिम्रो फ्री को अस्पतालमा, हामिलाई अनि टन्न खान देउ, मर्न नदेउ । म साँच्चै बाँच्न चाहन्छु / हामी बाँच्न चाहन्छौं । अ साँच्चि, म घरमा खान नपाएर आफुलाई कोरोना संक्रमण गराएर हस्पिटल आउँदा मलाई अक्सिजन लेभल कम भयो भनी मलाइ अक्सिजन दिएर उपचार गर्न त सक्छौ नि? त्यही क्या नेपालको संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धि हक के त । फेरि मेरो अवस्था नि "चोक्टा खान गएको बुढी,झोलमा डुबेर मरी" भनेजस्तो त हुँदैन नि ?

Post a Comment

0 Comments