✍️ सुजन दाहाल
फेरि पनि दोस्रो सिजनको लकडाउन सुरु भयो २०७८ मा । शैक्षिक संस्थालाई सुरुमै बन्द गर्नलाई निर्देशन आयो, बन्द पनि भयो । पहाडको घर जाउँ कि सोचेँ तर पछि फेरि बोर्डिङले अनलाइन क्लास चलाउछ कि त ! चलायो भने त ठिकै हो, तर यदि नचलाए फेरि म कसरी जिबिका चलाउनु यो काठमान्डौं को महँगो शहरमा ।
घर जाँउ भने पोहोर जस्तै गाउँमा नेटले काम नगरेर अनलाइन क्लास चलाउन नसकी जागिर गएको थियो, फेरि त्यही भयो भने ? उमेर पनि त ३७ भैसक्यो, अब मलाई कसले जागिर देला र फेरि ? तसर्थ यहि शहरमै बस्ने निधो गरियो ।
करिब ३ महिना भौतिक उपस्थितिमा कक्षा चल्न पाएको थियो अनि फेरि दोस्रो लहरको कोरोना भाइरस देखापर्यो र बन्द भयो । अनलाइन क्लास चलाउनुस् भन्ने निर्देशन शैक्षिक संस्थालाई आयो, अनि त्यही अनुसार हाम्रो स्कुलले पनि सुरु गर्यो । आधा महिना भन्दा बढी भयो यो सुरु गरेको ।
"एक महिना कहिले होला र तलब आउला" भनि कुरिरहेको छु तर के तलब आउला त? कि "सम्झिने,पानी छम्किने" भन्या जस्तै हुने हो? आयो भनी नि कति आउला? "हामिले अभिभावकसंग शुल्क नउठाउने निधो गरेका छौ, तसर्थ तपाइँहरुलाई पच्चीस प्रतिशत मात्र दिन्छौं" भने भनी ? मासिक तलब आफ्नो पन्ध्र हजार रुपैयाँ त छ, अब आउँदा त जम्मा तिन हजार सात सय पचास रुपैयाँ मात्र पो आउँछ त त्यसो भयो भने ।
मेरो त कोठा भाडा नै महिना को पाँच हजार रुपैयाँ छ, पोहोरकै बाँकी भाडा तिर्नु छ, त्यो कसरी तिर्नु? अनलाइन क्लास चलाउन डाटा लिन नि पैसा चाहियो, खान पर्यो, बस्न पर्यो, यो सब कसरी अब?
धन्न दुई बच्चा र श्रीमतिलाइ पोहोर घर जाँदा घरमै छोडेर आएछु । यदि आफु संगै लेराएको भए अहिले यो रोग र भोकको महामारीमा कसरी राख्न सक्थेँ होला मैले? कमसेकम अहिले उनिहरु गाउँको घरमा आनन्दले बसेका त छन् ।
केहि मिल्ने साथीहरु संग यो लकडाउन अबधिको लागी केहि रकम जोहो गर्देउ न भनेको "हामी नि संकटमा छौ" पो भन्छन् । हुन पनि हो, सबैलाई समस्या छ । अनि अर्को आफ्नो नामको आफन्तहरूसंग केहि रकम सापटी मागेको त उल्टै खिस्युटरी पो गर्छन् बा !
अब म के गरुँ ? प्याब्सन/एनप्याब्सन/इस्टु/हिसान? कोहि अरु? कि पेशा परिबर्तन ? अबको मेरो अवस्था भनेको "पर्ख र हेर" अर्थात "वेट एन्ड सि" मात्र..... क्रमशः
लेखक: गल्छी गाउँपालिका वडा नं ६ बैरेनी (महेशदोभान) निवासी सुजन दाहाल
0 Comments