Breaking News

6/recent/ticker-posts

Header Ads Widget

राजधानीका चोकमा ‘स्मार्ट ट्राफिक लाइट’ जडान सुरु


तीन महिनाभित्र मुख्य चोकहरुमा लाइट जडान गरिसक्ने

लामो समयदेखि ट्राफिक लाइट नचल्दा हातको इसाराले सवारी व्यवस्थापन हुँदै आएको राजधानीका मुख्य चोकहरुमा अब ‘स्मार्ट ट्राफिक लाइट’ जडान गरिने भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग र काठमाडौं महानगरपालिकाको संयुक्त पहलमा ट्राफिक लाइट जडान गरिन लागेको हो।
स्मार्ट ट्राफिक लाइट जडान जिम्मा यार्सा टेक्नोलोजीले पाएको छ। पहिला ट्राफिक लाइट जडान गरिएका ११ चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने र पछि अन्य स्थानमा पनि विस्तार हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी सर्वेन्द्र खनालले बताए।
यार्सा टेक्नोलोजीले नयाँबानेश्वर र महाराजगन्ज नारायणगोपाल चोकमा स्मार्ट ट्राफिक लाइट जडान सुरु गरिसकेको छ। त्यसपछि केशरमहल, दरबारमार्ग, पुतलीसडक, पद्मोदय मोड, सिंहदरबार, माइतीघर, कालिमाटी, गौशाला, तिनकुने लगायत स्थानमा ट्राफिक लाइट जडान गरिने खनालले जानकारी दिए।
एउटा स्थानमा ट्राफिक लाइट बनाउन बढीमा २५ लाख रुपैयाँसम्म लाग्ने यार्सा टेक्नोलोजीले जनाएको छ।
सबै स्थानमा ट्राफिक लाइट जडान गर्न कम्तीमा ३ महिना लाग्ने यार्सा टेक्नोलोजीका इन्जिनियर सिद्धिक अन्सारीले बताए। यार्सा टेक्नोलोजीले लाइट बनाएपछि पाँच वर्ष रेखदेख गर्नेछ।
उनका अनुसार ट्राफिक लाइटको समय सवारी चापका आधारमा निर्धारण गरिनेछ। कुन सडकमा कति सवारी कुन समयमा गुड्छन् भन्ने विषयमा ट्राफिक प्रहरी महाशाखाले सर्वेक्षण गरिरहेको छ। डिआइजी खनालका अनुसार ट्राफिक लाइटमा १ देखि साढे १ मिनेटसम्मको समय निर्धारण गरिनेछ।‘सवारी चालकहरुले राजधानीका चोकमा बढीमा डेढ मिनेटभन्दा बढी जाम बस्न नपर्ने गरी काम अघि बढाइरहेका छौं,’ खनालले भने, ‘सवारी संख्या, एउटा चोकबाट अर्कोमा जान लाग्ने समय, सवारी गति सबै ख्याल राखेर समय जडान गरेका हुन्छौं, त्यही समय र गतिअनुसार चालकले सवारी चलाए जाममा बस्नु नपर्ने व्यवस्था मिलाउँदै छौं।’
ट्राफिक लाइट वायरलेस प्रविधिबाट बनाइने यार्सा टेक्नोलोजीका रामचन्द्र खड्काले बताए। ‘सोलारबाट ट्राफिक लाइट बल्छ,’ उनले भने, ‘लाइन जाँदा र बाटोघाटो बनाउँदा पनि त्यसले असर गर्दैन।’
भिआइपी र भिभिआइपीको सवारी बेला ट्राफिक व्यवस्थापन गर्न रिमोर्ट व्यवस्था गरिएको खनालले बताए। ‘सवारी कुन रुट पर्छ, त्यो बेला ट्राफिक आफैँ फिल्डमा गएर रिमोटबाट ट्राफिक व्यवस्थापन गर्छ,’ खनालले भने।
ट्राफिक लाइट भएपछि जनशक्ति कम लाग्नेछ। उपत्यकाको ट्राफिक व्यवस्थापनमा १ हजार ४ सय ट्राफिक खटिएका छन्। लाइट जडानपछि बढीमा ५ सय भए पुग्ने महाशाखाले जनाएको छ। त्यसपछि जाम कम हुने, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्न महाशाखाको विश्वास छ।
उपत्यकाका चार स्थानमा मात्र ट्राफिक लाइटले काम गर्छ। भक्तपुरको सूर्यविनायक, कौशलटार, गठ्ठाघर र सल्लाघारीमा रहेका लाइट मात्र बल्छन्।
ललितपुरका तीन स्थानमा पनि ट्राफिक लाइट जडान हुँदैछ। कानदेवता, मन्त्री क्वाटर छिर्ने पुल्चोक र अल्का अस्पतालअगाडि ट्राफिक लाइट जडान गर्न लागेको ललितपुर महानगरपालिकाले जनाएको छ।
ट्राफिक प्रहरीले उपत्यकाका ३४ स्थानमा ट्राफिक लाइट थप्नुपर्ने भन्दै महानगरपालिका र सडक विभागमा लेखी पठाएको छ ।
चाबहिल, पुरानो बानेश्वर, मैतिदेवी, बबरमहल, त्रिपुरेश्वर, कृष्ण पाउरोटी, मित्रपार्क, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, जावलाखेल, एकान्तकुना, लैनचोर हल्चोक, सोह्रखुट्टे, बल्खु, सामाखुसी चोक, महालक्ष्मी स्थान, टेकु, गैरीधारा लगायत स्थानमा जाम बढेको भन्दै ट्राफिक प्रहरीले लाइट आवश्यक भएको बताएको छ।
नेपालमा ट्राफिक लाइट जडान सुरुमा २०२४ सालमा गरिएको थियो। त्यसबेला सुन्धारा, न्यूरोड गेट, सिंहदरबार र राजदरबारको दक्षिणी गेटमा लाइट जडान भए पनि पछि काम गर्न छाड्यो। सवारी जाम बढ्दै गए पनि लाइट बलेन।
त्यसपछि जापान सरकारले २०५८ सालमा थापाथलीमा ट्राफिक लाइट जडान गरेको थियो। जापान सरकारले नै फेरि उपत्यकाका विभिन्न १० स्थानमा त्यसै वर्ष लाइट जडान गर्यो । ती ११ स्थानका लाइट २०६७ सालदेखि काम नलाग्ने भए। समय समयमा मर्मत नहुँदा लाइट काम नलाग्ने अवस्थामा पुगेको महाशाखामा २६ वर्षदेखि कार्यरत डिएसपी मधुसुधन सिलवालले बताए।‘मर्मतसम्भार गरिदिएको भए आजका दिनसम्म ट्राफिक लाइट सबै बल्ने थिए,’ डिएसपी सिलवालले भने, ‘चरम बेवास्ताका कारण मर्मत हुन सकेन, ट्राफिक व्यवस्थापन गर्न गाह्रो हुँदै आयो।’
ट्राफिक लाइट बिग्रिएपछि एसियाली विकास बैंक (एडिबी) को दिगो सहरी विकास कार्यक्रमले बनाउन प्रयास गरेको थियो। पछि सडक विभाग आफैँ लाइट बनाउन तत्पर भए पनि बनाउन जाँगर देखाएन।

Post a Comment

0 Comments