सिड्नी । न्यू साउथ वेल्सको मारोउब्रा समुद्री तटमा तीन दिनदेखि हराइरहेका एक नेपाली युवाको शव प्रहरीले फेला पारेको छ ।
गत सोमबार पौडी खेल्ने क्रममा सृष्टि भण्डारीसँगै हराएका झापाका २६ बषिर्य सुदीप उप्रेतीको शव समुद्री किनारमा ढुंगाको चेपमा भेटिएको न्यू साउथ वेल्स प्रहरीलाई उदृत गर्दै डेली टेलिग्राफले जनाएको छ । सृष्टिको शव भने मंगलबार बिहान भेटिएको थियो ।
तीन दिनदेखि उद्धार टोलीले निरन्तर उप्रेतीको खोजी गरिरहेकोमा आज बिहान मात्र उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
न्यू साउथ वेल्स बिश्वबिद्यालयमा अध्ययनरत यो जोडी सोमबार साँझ साथीहरुसँगै समुद्री किनारमा गएको थियो । केहीबेरमा आउँछौ भन्दै समुद्री किनारमै बसेका उनीहरुलाई समुद्री छालले बगाएको अनुमान गरिएको छ । सृष्टिको शरिरबाट कुनै पनि कपडा नखोलिएको अबस्थामा उनको शव भेटिएका कारण उनीहरूलार्इ पाैडी खेलिरहेका बेला नभइ किनारमा बसिरहेका बेला छालले बगाएको अनुमान उद्दारकर्मीहरूले गरेका छन् ।
साथीहरुसँग छुटिएर साँझको समयमा एक्लै पौडीमा गएका कारण तत्कालै उद्दारसमेत हुन सकेन ।
यसैवीच भण्डारीको शव नेपाल पठाउने कार्यमा सहयोग जुटाउन उनकी नातेदार प्रतिष्ठा केसीले अनलाइन रकम संकलन अभियान थालेकी छन् ।
गोफन्डमी पेजमा थालिएको यो अभियानमा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले अहिलेसम्म १० हजार डलरभन्दा धेरै रकम सहयोग गरिसकेका छन् ।
२३ बर्षिय सृष्टि दुइ साता पहिले मात्र नेपालबाट अाएकी थिइन भने सुदीप तीन बर्षदेखि अष्ट्रेलियामा बसोबास गरिरहेका थिए ।