७ फेब्रुअरी, सिड्नी । प्रवासी नेपालीहरुको सहयोगमा नेपालका सामुदायिक विद्यालय र कलेजहरुमा अनलाइन शिक्षा सञ्चालन हुने भएको छ । यसको सुरुवात पूर्वाञ्चलको पाँचथर जिल्लाका २७ विद्यालयबाट एकैसाथ गरिने छ ।
आफ्नो दुई महिना लामो अष्ट्रेलिया बसाइ सकेर मंगलबार नेपालतर्फ उडेका इक्वालिटी फाउन्डेसन नेपालका उपाध्यक्ष तथा निर्देशक राधाकृष्ण न्यौपानेले नेपालमा पनि अब अनलाइन शिक्षा प्रारम्भ हुने जानकारी दिए ।
सोमबार राति अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘पाँचथरका २७ वटा सामुदायिक विद्यालय र एउटा क्याम्पसमा छिट्टै अनलाइन शिक्षा प्रारम्भ हुनेछ ।’
राधाकृष्ण न्यौपाने
उनले यो कामका लागि अष्ट्रेलिया लगायत देशमा भएका नेपालीहरुले सहयोगको बचन दिएको बताए । ‘तर, पहिलो चरणका लागि भने हाल अमेरिकामा रहेका नेपालीले सहयोग गरिरहेका छन् । त्यसको नेतृत्व मेदिनी अधिकारीले गरेका छन्,’ उनले भने ।
आगामी फागुन ५ गते पाँचथरको नांगिन मावि पुलभञ्ज्याङमा पहिलोपटक २० वटा कम्प्युटर तथा प्रोजेक्टर जडान गरेर नेपालमा अनलाइन कक्षा सुरु भएको घोषणा पनि गरिने उनले जानकारी दिए ।
‘आफ्नो विद्यालय आफै बनाऔं’ भन्ने अभियान अन्तर्गत यो काम सुरु गरिएको भन्दै उनले अष्ट्रेलिया निवासी नेपाली व्यक्तित्व तथा संस्थाहरुलाई पनि यो अभियानमा सहयोगका हात अघि बढाउन उनले आग्रह गरे ।
‘अष्ट्रेलियामा मैले बिभिन्न व्यक्तिहरुसँग अन्तर्क्रिया गर्दा सहयोगको बचन पाएको छु,’ न्यौपानेले अनलाइनखबरसँग भने ।
इक्वालिटी फाउन्डेसनले समुदायको सहकार्यमा यो कामको निरन्तरता दिने जनाएको छ । त्यसका लागि फाण्डेनसनले अन्तर्राष्ट्रिय सन्जाल निर्माण गर्ने योजना बनाएको छ । फाउन्डेसनमा चर्चित सूचना प्रविधि विज्ञ महावीर पुन पनि आबद्ध छन् ।
0 Comments