१६ पुस, सिन्धुपाल्चोक । बारीमा नल काट्दाकाट्दै शुक्रबार कालिका गाविस–३ माझीगाउँका ६५ वर्षीय सनमान माझीको मृत्यु भयो । अत्यधिक चिसोका कारण नल काट्न बारीमा गएका उनले नल त ल्याउन पाएनन् नै, बरु कहिल्यै नफर्कने बाटो लागे । समयमा घर नआएपछि परिवार बारीमा खोज्न जाँदा उनी अचेत अवस्थामा थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो ।
आइतबार माझीगाउँमा पुग्दा गोठजस्तै अस्थायी टहरानजिकै बारीको पाटामा पल्टिरहेकी थिइन्, ७२ वर्षीया डिकमाया माझी । चिसोका कारण ननिदाई रात कटाउनुपर्ने बाध्यताका कारण दिनभर घाम तापेर निदाउँछिन् उनी । बुढ्यौली शरीर, चिसोले सुन्निएको अनुहार अनि चिप्रा परेका आँखा ।
‘माघ काट्न नसकिने भो बाबु,’ गढिलो खोकीसँगै उनले भनिन्, ‘दिन त घाम तापेरै बित्छ ।’
चिसा रात कटाउन अत्यधिक मुस्किल छ, डिकमायालाई जस्तै भूकम्पपीडितहरूलाई । बढ्दो चिसोका कारण बालबच्चा र वृद्धवृद्धाहरूलाई रात कटाउन कठिन भइरहेको छ । दिनभर घाम ताप्ने अनि रातभर जाग्राम बस्ने बाध्यता छ उनीहरूको । ‘घाम तापेर दिन कट्छ तर रात कटाउन नसकिने भो,’ ७० वर्षीय तुलबहादुर माझी थप्छन् । जब घाम डुब्छ अनि रातले पिरोल्छ उनलाई । पारिलो घामबाहेक जाडो छेक्ने सहारा केही छैन उनको । टहराको बास त्यसमाथि पनि चिसो भुइँमै पल्टनुपर्ने बाध्यता । ‘भुइँचालोमा सिरक डस्ना सबै घरभित्रै पुरिए, खाटहरू एउटा पनि सग्ला रहेनन्, पुस आधा र सिंगै माघ बाँकी छ, कसरी कटाउनु ?’ तुलबहादुरले भनेको राजधानीमा खबर छ ।
0 Comments