Breaking News

6/recent/ticker-posts

Header Ads Widget

नेपालीले अझै दु:ख पाउनुपर्छ- डा. योगी विकासानन्द

अश्विनी कोइराला
तस्बिर-राजु श्रेष्ठ

तीन दशकदेखि डा. योगी विकासानन्द योग, अध्यात्म एवं स्वास्थ्यसँग सम्बन्धित अभियान चलाइरहेका छन् । उनले स्थापना गरेको ‘मनोक्रान्ति अभियान’ ले नेपालमा आफ्नै किसिमको दर्शन स्थापित गरेको छ । केही महिनाअघि मात्र योगीकै अध्यक्षतामा पुनर्गठित ‘मनोक्रान्ति ट्रस्ट’ मा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीदेखि पूर्वसेना प्रमुख रुक्माङ्गत कटवालसम्म अटाएका छन् । योगी विकासानन्दको नाममा ८० भन्दा बढी पुस्तक प्रकाशित छन् । युवापुस्तामा अत्यधिक लोकप्रिय विकासानन्द स्पष्ट विचारका कारण बेला–बेलामा विवादमा पनि पर्ने गरेका छन् । यसपटक साप्ताहिकले यिनै व्यक्तित्वलाई वर्तमान राजनीतिक परिस्थिति एवं युवामा छाएको निराशाका विषयमा बोल्न आग्रह गरेको थियो । दुई पटकको बसाइमा योगी विकासानन्दसँग गरिएको कुराकानी :

अहिले देश अस्तव्यस्त छ, यसलाई कसरी लिनुहुन्छ ?
नेपाली नेताहरू जनताको परीक्षामा फेल भएका छन् ।

कुन–कुन नेता ?
सबै । सत्ताधारी दलका नेताहरू, प्रतिपक्षमा बसेका नेताहरू र आन्दोलनरत मधेसी मोर्चाका नेताहरू सबै फेल भएका छन् । कुनै एक–दुई नेता फेल भएर देश यस्तो अवस्थामा पुग्दैन । हामी संवेदनशील अवस्थामा थियौं–छौं । जो सत्ता बाहिर बस्छन्, उनीहरू हामी चढेको जहाजमा प्वाल पार्न थाल्छन् । धेरै वर्षसम्म हाम्रा नेताहरूले प्वाल पारिरहेका थिए । अहिले एकसाथ सबै प्वालबाट पानी छिर्न थालेको हो ।

तपाईंले राजनीतिको कुन भागतर्फ संकेत गर्नुभएको हो, स्पष्ट भाषामा भनिदिनुस् न ?

हामीले सधैं विचारको राजनीति गर्‍यौं । आफ्नो विचार मात्र सही, अरूको विचार गलत भनेर आफूलाई सत्यवान बनाउने प्रयत्न गर्‍यौं । वामपन्थी विचार बोक्नेहरूले भने, हाम्रो विचार उत्कृष्ट छ । यो विचार स्थापित नभै नेपाल बन्न सक्दैन । समाजवादी विचार बोक्नेहरूले भने, हाम्रो विचार नै उत्कृष्ट छ । यसैले नेपालको उन्नति गर्छ । उनीहरूलाई के थाहा भएन भने नेपाललाई कुनै विचार चाहिएको होइन, विकास चाहिएको हो । हामीले विकासको राजनीति कहिल्यै गरेनौं । केवल संकिर्ण विचारको राजनीति मात्र गर्‍यौं, जब बाहिरका मानिसले यो कुरा बुझे, उनीहरूकै विचारमा टेकेर गुलाम बनाइदिए । नेताहरूको गुलामीका कारण नै देश यो अवस्था आइपुगेको हो ।

नेपालमा विकासको राजनीति गर्ने अवस्था कहिल्यै आएन । अस्थिरता मात्र भैरह्यो । यो पनि सत्य हो नि, होइन ?
राजा महेन्द्रको सत्ता लामो समय टिकेको थिएन र ? प्रजातन्त्र आउनुअघि वीरेन्द्रले पनि १०–१५ वर्ष एकछत्र रजाइँ गरेका होइनन् र ? त्यति बेला यी दुवै राजा पनि आफ्नो सत्ता टिकाउने खेलमा मात्र लागे । उनीहरूले चाहेको भए द्रुतगतिमा विकास गर्न सक्थे, तर गरेनन् । किनभने उनीहरू पनि अरूकै गोटी भए । संकिर्ण राष्ट्रवाद उनीहरूको विचार बन्न पुग्यो । प्रजातन्त्र आएपछि पनि विचारकै राजनीति भयो, विकासको भएन । जबसम्म यो देशमा विकासको राजनीति सुरु हुँदैन, यस्तै अवस्था कायम रहन्छ ।

नेताहरू सत्ता बचाउने खेलमा लागे तर जनता त निर्दोष थिए, यिनले किन दु:ख पाएका हुन् ?
नेपालीहरूले राम्रोसँग दु:ख नपाएर यस्तो अवस्था आएको हो । नेपालले न त कहिल्यै ठूलो भोकमरी बेहोर्नुपर्‍यो । न त ठूला–ठूला युद्धले राष्ट्र नै जर्जर भयो । हामीले धेरै दु:ख नै भोग्नुपरेन । विश्वको इतिहास हेर्नुहोस्, ती मुलुक मात्र माथि उठेका छन्, जसले आधा पेट खानुपरेको थियो । ठूला–ठूला युद्ध बेहोर्दै सहरै तहसनहस भएको थियो । तपाईं जापान, अमेरिका, कोरिया, जर्मनी, रुस सबैको इतिहास पल्टाउनुहोस् । उनीहरूले पाउनु दु:ख पाएका छन् । त्यसपछि मात्र उनीहरूलाई होस आएको छ । देश अरूले बनाउँदैन, आफ्नै पाखुरी बजाउनुपर्छ भन्ने चेतना आएको छ । आज विकसित देशमा को प्रधानमन्त्री भयो भन्ने कुरा पनि थाहा नपाउने मानिस छन् । अज्ञानी भएर होइन, कामबाट फुर्सद नपाएर । निर्वाचनका बेला भोट दिन जाने फुर्सद पनि हुँदैन उनीहरूलाई । आज हामीले देशमा काम नपाएर बिदेसिनुपरेको छ । जो देशमा छन्, उनीहरूका लागि काम छैन । यही अवस्थाको फाइदा नेताहरूले उठाएका हुन् ।
म त भन्छु, यो नाकाबन्दी अझ लम्बिनुपर्छ । चुलो–चौको बन्द हुनुपर्छ । सबै गाडी चल्न छाड्नुपर्छ । त्यसपछि मात्र हाम्रो होस आउँछ । त्यसपछि जनविद्रोह हुन्छ । जनता आफैं शासन गर्न अघि सर्छन् । बाँझो रहेको खेत जोत्न थाल्छन् । आफ्ना लागि आफैं विकास गर्न थाल्छन् । अहिलेका सबै नेता आउटडेटेड भैसकेका छन् । उनीहरूमा सत्ताको लोभ यति धेरै छ कि म के गर्दैछु भन्ने होससमेत छैन । उनीहरू कतै न कतै चुकेका छन्, झुकेका छन् । उनीहरूबाट विकास सम्भव छैन ।

यो त अराजक कुरा भयो, यस्ता कुराले समस्या समाधान गर्छ ?
कुरा नबुझ्दा यस्तै लाग्छ । यसका लागि बेलायतमा भएको एउटा वैज्ञानिक परीक्षणको उदाहरण दिनुपर्ने हुन्छ । वैज्ञानिकहरूको एउटा टोली भ्यागुताले कति तापक्रमसम्म आफूलाई बचाउन सक्छ भन्ने परीक्षण गर्न चाहन्थ्यो । भ्यागुतामा प्रकृतिले विशेष खालको छाला दिएको छ । उक्त छालाको माध्यमले उसले धेरै जाडो पनि खप्न सक्छ, धेरै गर्मी पनि सहन गर्छ तर कति जाडो वा कति तातो सहन सक्छ त ? परीक्षण गर्न दुईवटा उस्तै भाँडोमा उस्तै उमेरका दुई भ्यागुतालाई फरक–फरक भाँडोमा हालियो । भाँडोमा पानी पनि बराबर राखियो । अब दुईवटै भाँडोको पानी बिजुलीका माध्यमबाट तताइयो । फरक के थियो भने एउटा भाँडोको तापक्रम एकैपटक १०० डिग्री तामक्रम हुने गरी बढाइयो, अर्को भाँडोको पानी भने विस्तारै एक–एक डिग्री बढाउँदै लगियो । भोलिपल्ट हेर्दा जुन भाँडोमा एकैपल्ट सय डिग्री तापक्रम बनेको पानीमा राखिएको भ्यागुतो बाँचेको पाइयो तर एक–एक डिग्री तापक्रम बढाउँदै लगिएको भाँडोमा रहेको भ्यागुतो मरेको पाइयो ।
त्यस्तो कसरी भयो भने जुन भाँडोमा विस्तारै ताप बढाइयो, त्यो भाँडोमा रहेको भ्यागुतोले तापक्रमअनुसार आफ्नो छालामा रहेको शक्ति बढाउँदै लग्यो । ताप बढ्दै जाँदा ऊ छट्पटाउँदै पनि जान्थ्यो तर सँगै उसको छालामा रहेको शक्ति पनि बढाउँदै लान्थ्यो । यसरी बढाउँदै जाँदा उसको सोच्ने शक्ति बिस्तारै कम हुँदै गयो, छालाको शक्ति पनि अपुग हुँदै गयो र अन्त्यमा उ मर्‍यो तर जब अर्को भाँडोमा रहेको भ्यागुताले एकैपटक सय डिग्री तापक्रम आएको महसुस गर्‍यो, उसको छालाले थेग्न सकेन, ऊ बुरुक्क उफ्रेर भाँडो बाहिर हामफाल्यो र बाँच्यो ।मान्छे पनि भ्यागुताजस्तै हो । उसलाई बिस्तारै दु:ख आयो भने त्यो दु:ख हो भन्ने पनि थाहा पाउँदैन । मानिसको सहन सक्ने क्षमता पनि बढ्दै जान्छ । अन्तत: ऊ त्यस्तै जीवन बाँच्न अभ्यस्त हुन्छ । अहिले हामीले भोगिरहेको नाकाबन्दी यस्तै स्लो मोसनको दु:ख हो । यो कुरा भारतलाई थाहा छ । जब केही तापक्रम बढ्यो भन्ने लाग्छ, अलिकति तापक्रम घटाइदिन्छ । फेरि हामी आनन्द मानेर पुरानै जीवनमा फर्कन्छौं । त्यसकारण हामीले अझ धेरै दु:ख पाउनुपर्छ ।

के भारतबाट कुनै पनि सामग्री ल्याउनु हुन्न, अरू विकल्प खोज्नुपर्छ भन्न खोज्नुभएको हो ?
भारत हाम्रो छिमेकी मुलुक हो । हामी छिमेकी परिवर्तन गर्न सक्दैनौं । न त भारतको विकल्पका रूपमा चीनलाई लिन सक्छौं । चीनको विकल्प भारत र भारतको विकल्प चीन हुनै सक्दैनन् । हामीले चीन र भारतसँग बराबरको सम्बन्ध राख्नुपर्छ । आफ्ना लागि के गर्दा फाइदा हुन्छ त्यही मात्र गर्नुपर्छ । यसका लागि गणेशजस्तो नेता हुनुपर्छ । गणेश भन्नाले गणेश भगवान् । गणेश भगवान्जस्तो धेरै बुद्धि भएको, तीक्ष्ण आँखा भएको, मनरूपी मुसा (बाहान) लाई वशमा राख्न सक्ने । उचित कुरा मात्र ग्रहण गर्ने । त्यसका लागि सुँडको साहारा लिने व्यक्ति नेता हुनुपर्छ । सत्ता केन्द्रित राजनीति गर्ने नेताबाट अहिलेको समस्या समाधान हुँदैन ।

तपाईंले विकासको राजनीति गर्नुपर्छ भन्दै आउनुभएको छ । कुनै मोडल दिन सकिन्छ ?
अवश्य सकिन्छ । मैले बारम्बार कतार र साउदीको उदाहरण दिने गरेको छु । ५० वर्षअघि कतार र साउदी अरेबिया नर्कजस्ता मुलुक थिए । आज ती देश स्वर्गजस्ता भएका छन् । कतारी वा अरेबियनहरूले आफ्नो धर्तीमा तेल खानी पत्ता लागेपछि संसारका धनी–मानीलाई बोलाएर भने–हाम्रो देशमा तेल खानी छ । आऊ तिमी लगानी गर, त्यसलाई प्रशोधन गर, व्यापार गर, पैसा कमाऊ । तिमीले कमाएको पैसामा हामीलाई पनि हिस्सेदारी देऊ । आज ती दुवै देशमा जोसुकै घर–जग्गा किन्न सक्छन् । व्यापार व्यवसाय गर्न सक्छन् । केवल राजनीतिमा हात हाल्न दिएका छैनन् । नेपालमा यति धेरै जलस्रोत छ । हामीले भने हाम्रो राष्ट्रियता, हाम्रो पानी, हाम्रो भाषा भनेर यति च्यापेर राख्यौं, पानी बगेर गएको गयै भयो तर हामीले केही पनि पाएनौं । हामीले पनि संसारभरिका मानिसलाई बोलाउनुपर्छ । पानीको उपयोग गर । जलविद्युत् वा मिनरल वाटर बनाऊ । जडीबुटी प्रशोधन गर । पर्यटकहरू बोलाऊ । हाम्रो हिमाल, पहाड र तराईका जमिन उपयोग गर । तिमी पनि कमाऊ, हामीलाई पनि कमाएर देऊ भन्न सक्नुपर्छ । कतार र साउदीका मानिसहरूसँग त्यति धेरै बुद्धि थिएन । उनीहरूले आफूसँग बुद्धि नभएको स्वीकार गर्दै अरूलाई विश्वास गरे । हामी भने धेरै बुद्धि भएर बिग्रियौं । हामीले आफ्नो सामानको सदुपयोग त गर्न सकेनौं–सकेनौं, अरूलाई पनि गर्न दिएनौं ।

अहिले चीनप्रति नेपालीहरूको आशा अचानक बढेर गएको छ, तपाईंको भनाइ के छ ?
न चीनले हाम्रो चिन्ता गर्छ न त भारतले । हरेक मानिस स्वार्थी हुन्छ, हरेक देशले आफ्नो स्वार्थका लागि काम गर्छन् । अहिले चीनले नेपालप्रति चिन्ता गरेको छ, यो सत्य हो तर जुन दिन उसको कुनै स्वार्थमा धक्का लाग्छ, उसले आफ्नो असली चरित्र देखाउँछ । उदाहरणका लागि लिपुलेक नै पर्याप्त छ । चीनलाई लिपुलेक नेपालको हो भन्ने थाहा छैन र ? थाहा हुँदाहुँदै पनि उसले भारतको ठूलो बजारमा पुग्न नेपालको भूमि प्रयोग गर्न मञ्जुर गर्‍यो । नेपालसँग एक वचन पनि सोधेन । भारतको स्वार्थ त हामीले पटक–पटक देखेकै हो । यसमा अब कुनै शंका नगरे हुन्छ । उसले हाम्रा नेता र हाम्रा जनतालाई प्रयोग गर्ने मात्र हो । हामीले चीन र भारतलाई छिमेकीका रूपमा स्वीकार गर्नुपर्छ । दुवैलाई
समदूरीमा राखेर आफ्नो स्थार्थ हेर्नुपर्छ । आफ्नो स्वार्थमा काम गर्नुपर्छ । जसरी हामी देश नभएर बजार हौं भन्ने मान्यता उनीहरूले राख्छन्, हामीले पनि उनीहरूलाई त्यही हिसाबले हेर्नुपर्छ ।

तपाईं त योगी मान्छे । तपाईंको आध्यात्मिक आँखाले नेपालको भविष्य कस्तो देख्छ ?
नेपालमा २४ सय किलोमिटर लामो हिमालय श्रृंखला छ । विश्वभरिका मानिसहरू यस्तो स्थानमा छुट्टी बिताउन तथा आध्यात्मिक गतिविधि गर्न चाहन्छन् । यो श्रृंखलाका छेउका जमिन डाँडाकाँडाले ढाकिएका कारण उब्जनी पनि हुँदैन । मेरो आँखाले के देख्छ भने हामी एउटा विशेष नीति ल्याएर विश्वभरिका चर्तित धर्मावलम्बीहरूलाई यहाँ मन्दिर बनाउन बोलाऔं । गुम्बा बनाउन बोलाऔं । चर्च र मस्जिद बनाउन बोलाऔं । यस्ता धार्मिक संस्थासँग प्रसस्त पैसा छ । उनीहरूले आकर्षक मन्दिर, चर्च, मस्जिद वा गुम्बा बनाएपछि त्यहाँ त्यही अनुरूप आफ्ना मानिसलाई बस्ने–खाने व्यवस्था गर्छन् । संसारभरीका मानिस छुट्टी बिताउन वा आफ्ना गतिविधि गर्न नेपाल आउँछन् । उनीहरूका कारण धार्मिक पर्यटक बढ्छन् । जब प्रार्थना, ध्यान, योग र अल्लाहको गानले हिमाल घन्किन्छ, वातावरण त्यसै राम्रो हुन्छ । हामीले सधैं धर्महरूलाई अलग–अलग बनाएर हेर्‍यौं । हामीले सबै धर्मलाई कसरी ठाउँ दिन सक्छौं र उनीहरूसँग हामी कसरी मिलेर बस्न सक्छौं भनेर सन्देश दिन सक्छौं । यो एउटा नयाँ प्रयोग हुन सक्छ, विकासको नयाँ मोडल बन्न सक्छ ।

नयाँ खालको कुनै पनि भिजनले देश बन्न सक्छ । यद्यपि हाम्रा नेता त्यस्ता हुन सकेनन् । यी नेताहरूबाट यस्ता नयाँ योजना आउला भन्ने विश्वास गर्न सकिन्छ ?
सबै कुरा इच्छा शक्ति हो । एक त हामीले नयाँ नेतृत्व जन्माउनुपर्छ । अहिलेका सडेगलेका नेताबाट यी कुरा सम्भव छैन । अर्को कुरा अहिलेका नेताहरूले पनि म सुध्रन्छु भनेर प्रतिबद्ध भएर काम गर्न सक्छन् । यस्तो बेला मलाई १७ औं शताब्दीका रसियन शासक पिटर दी ग्रेटको सम्झना आउँछ । रसियामा पिटरको उदय हुनुअघि त्यो देश निकै गरिब थियो । वर्षदिनभरि नै हिउँ पर्ने, चिसोका कारण केही गर्न नसक्ने वातावरण थियो । जनता भोड्का पिएर दिन बिताउँथे । जबकि त्यो बेला युरोपमा औद्योगिक क्रान्ति हुन थालेको थियो । मानिसको आम्दानी बढ्न थालेको थियो । यो देखेर पिटरलाई पनि रसियामा त्यस्तै विकास गर्न मन लाग्यो । उनले राजा भएपछि ६ महिना युरोप भ्रमण गरे । त्यहाँका कलकारखानामा पुगेर ज्यामी पनि बनें । मजदुरसँग, मालिकसँग सल्लाह गरे । त्यसपछि रसियालाई कसरी अघि बढाउन सकिन्छ भनेर योजना बनाए । नभन्दै उनले रसियामा उद्योग र कलकारखानाको जग बसाए । उनकै जगमा रसिया विकसित हुन थाल्यो । आज रसिया जहाँ छ, त्यसको पहिलो श्रेय उनै पिटरलाई जान्छ । त्यसैले उनलाई पिटर द ग्रेट नाम दिइएको छ । नेपाली नेताहरूले पनि संसारभरीका मोडलमध्ये कुन मोडल अगाडि ल्याएर विकास गर्न सकिन्छ त्यसको अध्ययन गर्नुपर्छ । अरुले ल्याएको योजना अरूलाई फाइदा दिने किसिमको हुन्छ । आफूले अध्ययन गरेको योजनाले आफूलाई पनि फाइदा दिन्छ ।



http://bit.ly/1XdRata

Post a Comment

0 Comments