घण्टाघरको घडी स्थिर छ । बर्षौ भयो यसले गति नपाएको । यस्को काम बस् दिनमा २ पल्ट सहि समय बताइदिने । माइस्थानचोक सुनसान छ । चहलपहलबिहीन, चुपचाप चुपचाप । बिहान उर्घे संगै चोकचोकमा देखिने भुस्याहा कुकुरहरुको आङ तन्काइ पनि विरलै देखिन्छ । केही पर, खस्य्राङ खस्य्राङ आवजले नगरपालिकाको सरसफाइ कार्यक्रमलाइ संकेत गर्छ । सबेरै र्टिङ र्टिङ गरि दौडधुप गर्ने रिक्साहरु घण्टाघर अगाडीको प्रहरीबिट संगै लस्कर लागेका छन् । अधिकांश पसलहरुले सटरले मुख छोपेको महिना बढी भयो । भुडी हल्लाउदै मर्निङ वाकमा निस्कने घराना मान्छेहरु दुर्लभ भका छन् । प्रहरीको हुल ठाँउ ठाँउमा थुप्रिएका छन्....धान काटेपछी खेतमा मल थुपारे जस्तै ।
चोकका मन्दिरहरुमा बज्ने भजनहरु, अचेल सबेरै उठ्न छोडिसके । लाथ गल्ली अगाडिका चियापसलका स्टोभमा नाकाबन्दी लाग्यो सायद.....मट्टितेल सक्केको हप्तौँ बितिसक्यो । एउटा छुट्टै किसिमको मौनता छ, मान्छे बितेको घर जस्तै, विरगंजका प्रत्येक गल्लीहरु सोख बनाइरहेका छन् । यहि मौनता चिर्दै कतैबाट “ह्वा ह्वा” को आवाज सुनिन्छ । एक महाजन छतमा बसेर, औला हालेर मुख कुल्ला गर्दै रहेछन् ।
हिमालयन बैंक छेउको हनुमान मन्दिरको अगाडी,दुबै खुट्टामा सेतो पट्टि बाधेर मैलो तौलिया ओछ्याएर “हजुर दया गर्नुस्” भन्ने निरिह स्वर मेरै हो । उमेरले कत्ति लागे गन्ती जान्दिन तर म जन्मदा नेपालमा प्रजातन्त्र आइसकेको थियो । अनाथै जन्मेको, दुर्घटनामा दुबै खुट्टा गुमाएको म,पेट पाल्न सडक पेटीको साहारा लिन्छु । मेरो गुहार नसुनेका वीरगंजका सायदै कुनै जोडी कान होलान् । तर सेवा गर्ने जोडी हात विरलै भेटिन्छ । दिनभरमा रुपैया रुपैया मिलेर सय बन्छ अनि बल्ल मीना बजारको कुनै होटलमा मेरो पेट भरिन्छ । नभरिएका दिनहरुमा,दिउसो घाम र राती हावा खानु मेरो विवशता हो ।
दया गरिएका केही थान जडौली थाङ्ना ओछ्याएर,एकसरो ओड्नीमा,जीवनका भयावह रातहरु,हनुमान मन्दिरको चिसो पेटीमा बिताइन्छ । “माग्ने” अनि “खाने” दैनिकी पनि यहि हो र जिवनको लक्ष्य पनि यत्ति मात्रै । अस्तित्व र पहिचान बिहिन तिरस्कृत अनि लाचार जिन्दगी पनि बुढो भइसक्यो । कपाल फुलेका छन्,जोर्नी दुख्छन्,सबै भन्दा ठूलो त मन दुख्छ । तर सायद रित्तियो भण्डार,आँसु नखसेको पनि बर्षौ बित्यो ।
२ महिना बढी भयो.....दिनहरु निकै कस्ठर बित्दै छन् । सडकमा मान्छे हिड्दैनन् । पसलहरु बन्द, वीरगंज ठप्प छ । काम गर्नेले खान पाएका छैनन्......म त माग्ने...खाना खानु आजकाल सपना जस्तो लाग्छ । मेरो खुट्टाको घाँऊमा हप्ता हप्तामा मलम पट्टी गरिदिने एनजिओ पनि बन्द छ । फोहोर बढेर सायद किरा पर्दैछन् । म हेर्न सक्दिन.....तर स्याँउस्याँउ गरेको अनुभवले दिमागमा च्वास्स च्वास्स घोच्छ । खानको लागी अचेल सकि नसकि घर–घर चार्हाछुँ, । मेरो घाऊँ गन्हाउछ क्यारे....नाक छोप्दै पानी छ्यापि दिन्छन् । अनि त्यो पानी घाऊँमा पर्दा करेन्ट लागे जस्तो हुन्छ । म रन्थनिन्छँु अनि उनिहरु मुख अगाडी ढोका ढप्काइ दिन्छन् ।
आजभोलि खाना भन्दा तिरस्कार बढी खाइन्छ । तिरस्कारमा भिटामिन मिनरल केही नपाइनाले होला, म दिनदिनै सुक्दैछँु अनि मेरो करङहरु छाला छेड्ने प्रयास गर्दैछन् । कर्फुयको कारण प्रहरीले प्रमुख बाटोबाट मलाई माइस्थानको भित्री गल्लीमा लगेर छाडिदियो । यतै भौतारिएको महिना बित्यो अनि मुखमा अन्न नपरेको हप्ता ।
कसैको घरको पर्खालमा अढेस लागेको छँु । आँत सुकेका छन् । पेट दोब्रिएको छ । खुट्टाका किराहरु सिमा मिचेर घँुडा सम्म आइसके । आखाँ चिम्लिन पनि शक्ति चाहिदो रैछ......एकटक आकाशमा हेरिराको छँु । शरीरका सबै अंग स्थीर छन् । अचम्म लाग्दैछ, शास किन चलायमान छ । सायद आज जिवनको अन्तिम दिन हो । केही पलमै म संसारबाट बिदा हुनेछँु । मेरो दुख र दुखाइ सदाको लागी अन्त्य हुनेछ । प्रहरी आउनेछ,ओर्काइ फर्काइ गर्नेछ,लास पहिचानको प्रयास गरिनेछ । हुन सक्छ...म जिवीत हुँदा बास्ता नगर्ने हरु मेरो लासलाई नाता लगाउनेछन् । आन्दोलनको कारण मारिएको भनि प्रमाणित गर्ने प्रयास गर्नेछन् ।
क्षतीपुर्तीको लागी फेरी आन्दोलन गर्नेछन् । परि आए सहिद घोषणा गर्न पनि पछि पर्ने छैनन् । या मेरो लास यही कतै सड्नेछ । या एउटा अपरिचित शवको नाममा अस्पताललाई जिम्मा लगाइनेछ र लगेर गाडिनेछ सिर्सियाको किनारमा...एउटा भुस्याहा कुकुर गाडे सरी । न आँसु बगाउने कोही हुनेछन् । न शोकमा कुनै शब्द प्रयोग गरिनेछ । सायद मृत्यु पछि पनि छिछि धुरधुर नै नसिब हुनेछ मलाई । बिहानको सात बज्दै छ सायद.....कतैबाट रेडियोको मसिनो आवाज सुनियो......कायाकैरन फुक्दैछ “मधेसी मोर्चाले आन्दोलन अझै सशक्त बनाउदै.....आन्दोलनको थप नयाँ कार्यक्रम आज घोषणा गर्दै ।”
– श्रेयज सुबेदी