केराको पातलाई ब्लेडले काटेर,निधारमा राखेर,लगाइने टिकालाई यसपाली आन्दोेलनले लाग्यो । दीदी तिम्रो हात ओभानो,मेरो निधार रित्तो रहने भो । किनकी तिम्रो शहरमा कर्फयु छ र म पहाडीया, मधेश झर्न संकोच मान्दैछँु ।
जसरी तिम्ले मेरो अगाडी ओखर फुटाउथ्यौँ त्यसरीनै तिम्रो शहरमा टाउकोहरु फुट्दैछन् । तोरीको तेलमा दुबो चोपेर मेरो आशन वरीपरी सिमांकन गरे जस्तै जातियताको नाममा सामाजीक सिमांकन हुदैछ । जसरी तिम्ले मेरो शिर देखी पाउँसम्म फूल छर्कन्थ्यौ, त्यसैगरी शहरको गल्ली गल्लीमा बिद«ोह छरिदैछ । मेरो अगाडी बालिने अगरबत्तीले कोठा मग्मगाए जसरी टायरको कालो धँुवाले वायुमण्डल डग्डगाइ रहेको छ । तिम्ले मेरो निधारमा थरीथरीको रंग फैलाए जसरी चोकचोकमा थरी थरीको अफवाह फैलाइदैछ । तिम्ले भिराउने सयपत्रिको माला जस्तै ठाँउठाँउमा कालो झन्डा भिराइएको छ । तिम्ले किस्तीमा पठाउने उपहार जसरी नै हरेक दिन कात्रोमा बेरेर परिवारलाई सहिद उपहार दिइदैछ । तिम्रो शहर विगत २ महिना देखी यस्तै भाइटिका लगाउदैछ ।
तिहारको बेला,रातको चम्चमाइलो बायुमण्डल जस्तै बन्ने रानीघाटका घरहरुमा सायद यसपाली ब्लयाकआउट गरिन्छ होला । गोलीका आवाजदेखी डराएका कागहरु सायदै तिम्रो कैसीको दुना ठुङ्न आइपुग्छन् होला । बर्षका अरु दिनहरु जसरीनै कुकुरहरु फोहरमा खाना खोज्नेछन् । गोरुहरु गोठमै थन्किने छन् । नाकाबन्दीमा अड्किएकी लक्ष्मीको आउने सम्भावना म न्यून देख्छँु । दीदी, तिम्रो शहरमा तिहार नआउदा,म मेरो शहर कसरी उज्यालो देख्नेछँु । तिम्रो घर अध्यारो रहदा, म कसरी तिम्रो माइतीमा झिलीमिली झुन्ड्याउनेछँु । तिम्रो मधेस संघर्षरत रहदा,म कसरी तिहार मनाउन सक्नेछँु ।
तर दीदी, तिमी चिन्ता नगर । परिस्थिती अनुकूल हामी तिहार मनाउनेछौ...टिका लगाउनेछौ । तिम्रो शहरमा तिमी जस्तै थुप्रै दीदीहरु छन् होला । ति सबै दीदीहरु मिली मधेशका भाइहरुलाइ टिका लगाइदिनु । मधेसी पहाडी भन्ने पहिचानलाइ दीदीभाइको नाता लगाइदिनु । ओखर फुटाउनु,माला लगाउनु,उपहार दिनु अनि टाउकोमा बाधिएका कालो पट्टी पन्छाएर रङ्गीचङ्गी टिका लगाइदिनु । माया बाड्नु सद्भाव साट्नु । कुनै पनि आन्दोलनले हाम्रो एकता टुट्नेछैन भनी उदाहरण बनी दिनु । म पनि यता घरछेऊकी महोत्तरीकी दीदीसंग टिका लगाउनेछँु । तिम्लाई दिने माया उन्लाई दिनेछँु । तिम्लाई गर्ने सम्मान उन्लाई गर्नेछँु । तिमी उता सद्भाव कायम गर, म यता कायम गर्ने भरपुर प्रयास गर्नेछँु । सद्भाव टुक्रिन लागेको यो अवस्थामा तिमी आफ्नो भाइटिका सफल पार । म आफ्नो दीदीटिका सफल पार्नेछँु ।
– श्रेयज सुबेदी
0 Comments