“म त भोली मेरो लव वन संग मुभी हेर्न जानी हो ।”
“को हो तिम्रो लव वन ।”
“रुममा गएर अैना हेर ।”
अप्रत्यक्ष रुपमा तिम्ले मलाइ प्रस्ताव राखेको पनि २ महिना पुगेछ । म अैना हेरेर झिल्के बन्न थालेको पनि २ महिना पुगेछ । मेरो मनको टपरीमा तिम्रो मायाको जमरा पनि २ महिना पुगेछ । तिम्रो एक झल्कोमा म लिङ्गे पिङ सरी मच्चिन थालेको पनि २ महिना पुगेछ । ल बधाइ छ भोटिनी, हाम्रो सम्बन्ध पनि २ महिना पुगेछ ।
हाम्रो पहिलो इलेक्ट्रोनिक भेटमा मैले चिताएको थिइन,तिमी मेरो आँखामा छापिन्छौ भनि । पर्मानेन्ट ट्याटु जस्तो तिम्रो छापको कारण, तिमी यत्र तत्र सर्वत्र भेटिन्छौ । घर भरि तिमी छरिएकी छौँ..... भान्छामा,बार्दलीमा,ओेछ्यानमा,पर्दामा,काइयोमा । हाम्रो हरेक भेट रोमाञ्चक । तिम्रो क्युट आँखामा मेरो काम चलाउ आँखा ठोकिदा दुर्घटना करङ भित्र हुन्थ्यो.....अनि मन घाइते । मगाइएको परिकार तिम्ले आफ्नै हातले ख्वाएको...तिम्रो हातको बानी परिसक्यो । अन्तको खाना नरुचेको पनि २ महिना पुगेछ । प्रत्येक भेटसंगै झाङ्गिएको हाम्रो सम्बन्ध,एक दिन जंगल बन्नेछ अनि ढाक्नेछ हाम्रो जीवन...म विश्वस्त छँु । राती राती सम्म निन्द्रा त्यागेर गरेका च्याटहरु,मन सिरिङ्ङ पार्ने गरि तिम्ले गरेका लामा लामा टेक्स्टहरु,घन्टै सम्म तिम्रो टाइम लाइनमा तल माथी गरेको माउस, तिम्रो नाम पछाडी हरियो बत्ती बले पछि फेसबुकनै हरियाली लाग्ने । अरुको म्यासेजको रिप्लाइ दिन छोडेको पनि २ महिना पुगेछ । म तिमीमै सिमीत हुन थालेको पनि २ महिना पुगेछ । हाम्रो सानो कथाको तिमी हिरोइन र म हिरो भको पनि २ महिना पुगेछ । कसैले मलाइ आफ्नो ठानेको अनि मैले कसैलाइ आफ्नो मानेको पनि २ महिना पुगेछ । ल बधाइ छ पागल्नी, हाम्रो सम्बन्ध पनि २ महिना पुगेछ ।
तिमी आए देखि जीवनमा थुप्रै परिवर्तन भएका छन् । आफुलाइ बुझ्ने मौका मिल्यो, मायाको अनुभव गरियो,सम्बन्धहरु न्यानो लाग्न थाले,पर्खन राम्रो संग सिकेँ,अलि अलि दुखाइ पनि दुख्यो तर पनि तिमी आए देखि दिनहरु रमाइलो लाग्न थालेका छन्,रातहरु सितल लाग्छन्, अप्ठ्याराहरु सजिलो लाग्न थालेका छन्, हौसलाको पारा उच्च बिन्दुमा छ, केही गर्छु भन्ने बिश्वास, बडेर अग्लो भएको छ । तिमी आए देखि, परिवर्तन राज्यले पनि पाएको छ । यहि २ महिनाको बीचमा नयाँ संविधान पाइयो,नयाँ प्रधानमन्त्री नयाँ मन्त्री मण्डल पाइयो । कैले काँही सोच्ने गर्छु......सायद तिमी पहिलो संविधान सभाको चुनाव ताका भेटिन्थ्यौ त पहिलो सभाबाटै संविधान आउनेथ्यो,मधेस आन्दोलन,नाका बन्दी अनि पेट्रोल अभाव हुनेथिएन । जे होस्.... तिमी आए देखि म परिवर्तन भए भने देश पनि अवश्य परिवर्तन हुनेछ । दिएको परिवर्तनको लागी धन्यबाद ।
हाम्रो भविष्यका कुरा अनि योजनाहरु,तिम्रो नन्भेज गफहरु, कुरैकुरामा तिमी रिसाएर फन्केको, नबोलेको नाटक गरेको........तिम्लाइ फकाउन थालेको पनि २ महिना पुगेछ । तिम्रो बच्चा देखिका बदमासीहरु, तिम्रो आनी बानी,तिम्रो स्कुल तिम्रो साथी तिम्रो परिवार तिम्रो पर्व,तिम्ले सुनाएका तिम्रो बिगत अनि तिम्रो मुहारको त्यो खुसी..... तिमीसंग खुसी हुन थालेको पनि २ महिना पुगेछ । कुनै मुद्दामा परेको तिम्रो र मेरो भनाभन,तिम्रो जित्नु पर्ने बानी,तिम्रो ठूलो स्वर.......तिमी संग झगडा गर्न थालेको पनि २ महिना पुगेछ । तिम्ले मलाइ एकोहोरो हेरेको,म हेर्न नसकेर लजाएको,तिम्ले हावामा दिएको किस,अनि मैले ठूलो पारेको आँखा,अनि हामी दुबैको मुस्कान.....तिमी संग हास्न थालेको पनि २ महिना पुगेछ । ल बधाइ छ पोडिनी, हाम्रो सम्बन्ध पनि २ महिना पुगेछ ।
यसरी नै महिना हुदै बर्ष अनि बर्ष हुदै पुरै जिवननै तिमी संगै बितोस् । सुखमा तिम्रो मुस्कान होस् दुखमा तिम्रो साथ होस् निराशामा तिम्रो आश होस् । बिश्वास अनि समझदारीका साथ हामी अघि बड्न सकौँ । एकदिन अवश्य सबै कुरा ठीक हुनेछ । सानो अनि सुखी हाम्रो दुनियाँ हुनेछ जहाँ तिमी र म हुनेछौ अनि हाम्रो संसार हुनेछ । २ महिनाको साथ अनि मायाको लागी....फिर्तामा माया अनि साथ ।
तिम्रो लागी टोलाउन थालेको,तिम्रो फोटोमा हराउन थालेको,तिम्लाइ मिस गर्न थालेको पनि २ महिना पुगेछ । रातको आकाशमा तिम्लाइ ताराहरुको बीचमा खोज्न थालेको पनि २ महिना पुगेछ । तिम्रो सामानहरु जोगाएर राख्न थालेको पनि २ महिना पुगेछ । ल बधाइ छ प्यारी, हाम्रो सम्बन्ध पनि २ महिना पुगेछ ।
– श्रेयज सुबेदी