“वई काले.....मलाई डिभी पर्यो यार । मेरो भाग्य खुल्यो ।” ३ बर्ष अगाडी भुँडेले अचम्मै खुसी हुदै सुनाएको कुरो....प्राय बजिरहन्छन् कानमा,स्काइ सपको विज्ञापन सरी,लगातार निरन्तर । मन खङ्रङ्ग भयो । मन पापी हुँदो रैछ । संगैको साथीको प्रगति देखि नसहने । सोचेँ “हिजो सम्मको लन्ठङ्गे अब अमेरिका जाने भो ।”अमिलो मन अनि ओठमा निचिक्क मुस्कान सहित हात समातेर भनेँ “ल मुला बधाई छ । पार्टी कैले दिन्छन् ?” नभन्दै पार्टी पनि दियो । आँगन अगाडी २५ किलोको खसी ढालियो । रक्ती भुटियो,कान पोलियो,भुटन बने,सेकुवा सेकिए,रोस्ट तारिए अनि केही जर्किन र धुँवा संगै उडाइयो भुँडेको डिभीको पार्टी ।
टोलमा हाईहाई र गुनगानको खोलै बग्न थाल्यो । डाहा बल्यो मलाई । मैले पनि तेसै बर्ष कान पुरा देखिने गरि पासपोर्ट साइज फोटो खिचाएर भरेँ डिभी । मैले मात्र हैन पुरा टोलले भर्यो डिभी । हरेक मानिस डाडे हुदोँ रैछ,पहिलो पल्ट महसुस गरेँ । सेकेन्ड लेटर आयो,इन्टरभ्यु भयो,बैक ब्यालेन्स देखायो र वर्ष दिन पछि उड्यो भुँडे ओबामाको देशमा, भविष्य बनाउन । रुवाएर गयो सालेले । छुट्टिने बेलामा अंकमाल गर्दा मैले तुरुक्क आँसु चुहाए त्यसको “आइ लभ नेपाल” लेखिएको टिसर्टमा । साथीको लागी बगेको जीवनकै पहिलो आँसु थियो । एउटा मूल्यहिन आँसु.......जसले त्यसको भिसा भिजाउन सकेन,पासपोर्ट बगाउन सकेन ।
भँुडे........हाम्रो क्लबको स्ट्राइगर । २ पल्ट राष्ट्रिय लिग,दर्जन भन्दा बढी अञ्चल गेम र अनगिन्ती खेलिएका जिल्ला लिगहरु । भुडी पुटुक्क बाहिर आएपनि स्टामिना खत्रा तेस्को । डिबक्स भित्रको बल कुनै पनि मिस गर्दैनथ्यो । सबै सर्टले जाली चुम्थेँ । आज पनि जिल्लामा तेस्ले गरेका गोलको चर्चा हुने गर्छन् । अझै पनि मैदानमा सैयौँ दर्शकले तेइ भुँडेलाई खोज्ने गर्छन् । भित्तामा झुन्डिएका दर्जनौ मेडलहरु आज पनि हावा लाग्दा हल्लिने गर्छन् । सधै मलाई भन्ने गर्थ्यो “राष्ट्रिय टिममा सेलेक्ट हुन्छुँ । अनिल गुरुङलाई रिप्लेस गरेर मैदान छिर्छु ।” वास्तवमै गर्थ्यो होला तेस्ले । तर अवसोस प्रतिभालाई डिभी पर्यो,क्षमतालाई डिभी पर्यो,कलालाई डिभी पर्यो,भुँडेलाई डिभी पर्यो । भविष्य डुबाएर गयो । सपना तुहाएर गयो । देश दुखाएर गए ।
सम्भावनाले पनि भुँडे संगै उडान भर्यो । तेस्को सबै गोललाई डिभी पर्यो,सबै मेडेललाई भिसा लागेँ । र दर्शकको आसहरु आफुसंगै उडाएर कहि पर लाग्यो । सायद कहिल्यै नफर्कने गरि ।
खुसि छ भुँडे । ज्यादै खुसी । कपाल पालेको छ । घाँटीमा पनि ट्याटु बनाएछ । अस्ती भरखर गाडी पनि लियो रे । आफ्नै गाडीमा काममा जान्छ । स्काइपमा प्राय कुरा हुँदा ब्रान्डेड बोतलमा लेभल लागेका रक्सी देखाउदै भन्छ “लोकलको जवाना गए साथी.......हाहाहा ।” चिल्ला सडक,बगैँचाहरु,क्याफेमा खिचेका फोटोहरु दिनहँु अपलोड गर्छ । लाइकको बर्षा हुन्छ । कमेन्टको रिप्लाई दिने फुर्सद छैन तेस्लाइ । र अन्तमा लेख्छ “थ्याङ्क यु अल ।” बास्तवमै सिमापार खुसी छ भुँडे । तर खै तेस्को घर सुनसान छ । जुठो परेको दशैँ जस्तै उजाड देख्छँु । उमेर ढल्केका बा आमा अनि एउटा बैनी र तला थपिदै गरेको घर मेरै घरको छेऊमा छ । सधै जसो अफिस जाने बेलामा अन्टी निन्याउरो अनुहारमा मलाई चियाउनु हुन्छ । सायद म मा आफ्नो छोरा खोज्नु हुन्छ । फिर्तामा शून्यता भेट्नु हुन्छ र फर्क्क मुन्टो घुमाएर भित्र पस्नु हुन्छ । बर्ष दिनमै गलि सकिन् । रातभरी पानीमा भिजेको बोरा जस्तै निथु्रक्क छिन्...ममताले ।
अस्ती मलाई माँ ले टाउकोमा तेल लगाउदा अन्टीले हेरिरनु भाको रैछ । आँखै अगाडी तरक्क आँसु झार्नु भो । माया लाग्यो । स्काइप अन गरेर कुरा गराइदिन खोज्दा दिक्क मान्दै भन्नु भो “बन्द गर् यो ल्याउटउ स्याउटउ । ठाँडोबाट हात पसाएर छुन मिल्दैन ।” अंकल बाहिर गमक्क परेको देखिए पनि भित्र भित्रै गलि सक्नु भो । पर्समा भुँडेको फोटो हेर्दै टोलाएको निकै पल्ट समाको छँु मैले । बुढा रोइ त हाल्दैनन् तर मन ढाडिसकेको छ । वर्षदिन अघि सम्म तन्दुरुस्त बुढा अैले मुटु रोगी भैसके । बैनि बिग्रिसकेकी छे । बजारमा थुप्रै केटाहरु संग हिडेको देख्छँु । २ पल्ट त सल्केको चुरोट सहित रङ्गे हात समातेको पनि छँु । सत्य सायद तितो भएर होला,भुँडेलाई यो कुरा भन्दा मुख बिगार्ने गर्छ र सिधै भन्छ “मेरो परिवारको बिषयमा नबोल ।” अस्त बेस्त छ परिवार तेस्को । सद्दे बा आमा रोगी बन्दैछन् । उमेर लागेकी बैनीको ठेगान छैन । पैसा महिनै पिच्छे पठाउछ । तर न त्यो पैसाले आमाको आँसु रोक्न सकेको छ न त बा को रोग नै । र सकेको छैन तेस्को पैसाले बैनीलाई सहि संस्कार दिन । खुसी डुबाएर गयो । घरको सोभा उडाएर गयो । परिवार दुखाएर गयो । भुँडेको घर संसारलाई डिभी पर्यो । आमाको ममता, बा को साहारालाई डिभी पर्यो.....भुँडेलाई डिभी पर्यो ।
मलाई डिभी परेन । म ज्यादै खुसी भए । घर छेउकै मन्दिरमा गएर भगवान्लाई धन्यवाद दिए र प्रण गरेँ.... जीवनमा डिभी कैले भर्ने छैन । किनकी देश दुखाएर परिवार दुखाएर म खुसी कैले रहन सक्दिन । तर फेरी सुन्दैछँु , पल्लो टोलको समितालाइ पनि यो पाली डिभी पर्यो रे । समिता.......राम्रो नाच्छे र २ वटा म्युजिक भिडियोमा मोडलिङ पनि गरि सकि । नायिका बन्ने ठूलो रहर तेस्को पनि । परार साल डिभीले खेलाडी उडायो, अब आउने साल कलाकार उडाउनेछ । यसै गरि बिमल घर्ती मगर र निता डुङ्गानालाई डिभी पर्यो भने ?.......कस्ले दिलाउने नेपाललाई बल्र्डकपको ट्रफी र ओस्कर अवार्ड । तेसैले डिभी भर्ने प्रत्येक हातहरु एकपल्ट सोचौँ, पैसा हैन क्षमता चिनौ । भविष्य क्षमतामा निर्भर गर्छ पैसामा हैन । बिदेशमा ६ बर्ष पसिना चुहाउनुको सट्टा नेपालमा ६ महिना दिमाग खियाऔ । अवसर यहिँ छ,सदुपयोग तपाइको भागमा पर्छ । डिभी हैन आफु भित्र बिश्वास भरौ,मेहेनत भरौ । अवस्य पनि नेपाल भित्रै एउटा सानो अमेरिका केही बर्ष भित्रै बन्नेछ ।
श्रेयज सुबेदी