म देश भन्छु, तिमी मधेश भन्छौ । म एकताको कुरा गर्छु, तिमी बिभाजनलाइ बिचमा ल्याउछौ । म सिंगो राष्ट्र भन्छु, तिमी स्वयत्तताको कुरा गर्छौ । म बर्ता भन्छु तिमी आन्दोलन भन्छौ । साथी.........यसरी त सत्रु लड्छन् । हामी त भाइ भाइ ।
तिम्लाइ भात नरुच्दा, मैले मेरी आमाले काभ्रेबाट पठाएको घिउ तिम्रो थालमा खनाएको छँु । मलाइ खान मन नलाग्दा, तिम्ले तिम्रो माईले सर्लाहीबाट पठाएको खटिमटि मेरो थालमा पस्केको छौ । मैले दिएको तिहारको सेलरोटी भाचेर खाने त्यही तिम्रो हात हो । तिम्ले दिएको छठको ठेकुवा चपाउने यही मेरो दाँत हो । मैले तिम्रो मधेस पुगेर घुङि संग भात खाको छँु । तिम्ले मेरो पहाड आएर साग संग ढिडोे खाएका छौँ । तर साथी मलाइ सारै दुख लाग्यो......जब तिम्ले हाम्रो कोठाको नेपालको नक्सामा चुरे भन्दा तल्तिर कराइको कालो मोसो पोति दियौ । मलाइ एकदमै दुख लाग्योे......जब मैले “संविधानलाइ स्वागत” भन्ने प्रोफाइल पिक्चर चेन्ज गर्दा, तिम्ले कालो झन्डा अपलोड गरेऊ । म कोटेश्वर चोकमा दिप प्रज्वलन गर्न जाँदा तिमी कोठामै बत्ती निभाएर ब्लयाक आउट गरेर बस्यौ......मलाइ दुख लाग्यो साथी ।
तिम्ले भुल्यौ साथी.........भुकम्पमा लडेको मेरो घर उठाउदा तिम्रो हात भाचेको, तिम्रो दिदीकोे सादीमा भोजपुरी गितमा नाचेको । तिम्लाइ सिस्नुले पोलेको, मलाइ लामखुट्टेले टोकेको । तिम्लाइ जाडो भएर सिरक खप्टेर ओडेको, मलाइ गर्मी भएर गन्जी खोलेर फ्यालेको । उखु खाँदा मेरो मुख पासेको अनि लप्सि खाँदा तिम्ले मुख बिगारेको । तिम्ले बिर्सेउ साथी.....मैले पहाडलाइ मधेस लगेको अनि तिम्ले मधेसलाइ पहाड संग जोडेको ।
म अझ पनि सम्झिन्छु.......भारतले सिमा मिचेको खबर पढ्दा, तिम्ले भोजपुरीमा मुख छाडेको । नेताहरुको गलत कदममा तिम्रो तार्किक बिश्लेषणहरु । सहिद दिवसमा सहिद गेट अनि गणतन्त्र दिवसमा टुडीखेल लाने तिमी थियौ । नेपाली क्रिकेट टिमको जीतमा झन्डा बोकेर कोठा बाहीर निस्कने टोलकै तिमी पहिलो थियौ । देशलाइ धेरै माया गर्ने,नेपालको ठुलो फ्यान थियौ । मलाइ राष्ट्रियता पढाउने तिमी, एक सच्चा राष्ट्रवादी नेपाली थियौ । तर दुख लाग्छ साथी.........आज म देश बचाउ भनिरहदा,तिमी स्वायत्त मधेश एक प्रदेशको नारा लाउदैछौ ।
जुन दिन संविधान आयो..........संगै सुत्ने खाट छोडी तिमी तल सुत्यौ अनि मलाइ जवाफ फर्कायौ “तेरो पहाड माथि छ,तँ माथी सुत । मेरो मधेश तल छ, म तल सुत्छँु ।” मलाइ अचम्म लाग्यो । बिहानको खाना पनि संगै खाएनौ अनि फेरी जवाफ फर्कायौ “तेरो पक्षमा संविधान आको छ, तँ खाँ । मेरो आज अनसन छ, संविधानको बिरोधमा ।” मलाइ झन् अचम्म लाग्यो । दिउसो तिमी सबै सामान पोको पारेर घर हिड्यौ अनि औलो ठडाएर जवाफ दियौ “अब बिद«ोह हुन्छ ।” मलाइ दया लाग्यो दुख लाग्यो । तिमी जस्तो पढेलेखेको बुद्धिजीवी मान्छे त आँखा चिम्लेर एकोहोरो भको छ । झन् ति मधेशका बहुसङ्ख्यक अनपढ जनताहरु के बुझेर आन्दोलनमा होमिएका छन् ?
मेरो प्यारो साथी....जायज मागको सम्बोधन राज्यले अवस्य गर्छ । तिमी अधिकार माग, पिछडिएकोे बर्गलाइ राज्यको सबै क्षेत्रमा सहभागिता माग, मधेसीको सम्मान माग तर जमिन नमाग, भुगोल नमाग । देश कसैको पारीवारिक सम्पत्ति हैन जो अंशभन्डा हुन्छ । टुक्रिने र टुक्राउने कुरा गर्दै नगर । किनकी देश रहे मधेस रहन्छ र मधेस बिना देश चल्दैन ।
राष्ट्रवादी सोच पाल्ने,देशलाइ माया गर्ने, तिमीनै हौ सच्चा नेपाली । तिम्ले मधेसबासीलाइ सम्झाउनु पर्छ कि लडाइ हाम्रो अधिकारको लागी हो कुनै नेताको जिवनस्तर उकास्नको लागी हैन । तिम्ले सम्झाउनु पर्छ सबैलाइ.....हामी नेपाली पहिला र मधेसी पछि हौँ । तेसैले कुनै पार्टीको कार्यकर्ता भएर हैन नेपाली भएर सोच अनि माग गर आफ्नो हक अधिकारको...राज्यले अवस्य सुन्नेछ ।
काभ्रेको तामाङको, सर्लाहीको यादवलाइ एउटा सानो अपिल हो यो “जायज माग राख । सम्बोधन अवस्य हुन्छ । बार्तामा आउ । आन्दोलन बन्द गर । अनि सक्दो छिटो फर्क साथी, तिमी बिना राजधानीको यो कोठा सबै जातको फुलबारी जस्तो लाग्दैन मलाइ ।”
– श्रेयज सुबेदी