जन्मेको २२ बर्ष पुग्दा पहिलो अवसर........आधिकारीक डेटको । नेपाल बन्द, अफिस बन्द, फुर्सदको समय, हामी दुई, पुष्पलाल पार्क भेट्ने भनिएको ठाँउ । दारी भरिएको गालामा दलिएको फेयर एन्ड हेन्सम, छिस छिस पारिएको थोरै सेन्ट,कपालमा दलिएको तेल अनि मिलाएर लगाइएको लुगालाइ देखेर माँ को प्रश्न “ कता हिडिस् झिल्के बनेर ?” निचिक्क हास्दै जिस्केर दिइएको मेरो उत्तर “हजुरको बुहारीलाइ भेट्न ।” दिनको साढे १ बजे, माँ ले दिएको चिया र खाजालाई आएर खाने बाचा गर्दै हिडेँ म, फस्ट डेटमा लेट नहुने गरि ।
मनमा काउकुती लागेर होला, ओठ मुसुक्क थियो । छाँया हेर्दै लुगा मिलाउदै, मोबाइल हेर्दै कपाल मिलाउदै अनि मनमा थुप्रै शब्द मिलाउदै, समयमै पुगेँ पार्कमा । सितल तिर बेन्चमा गएर बसे । प्यान्टमा लागेको धुलो टक्टक्याए, तेइ हातले कपाल मिलाए,रुमाल झिकेर मुख पुसेँ । बारबार हातको घडी अनि गेटलाइ एकैसाथ नियालेको पनि ५ मिनेट बिति सकेको थियो । पहिलो डेट.....नरभस मन,लरखरिएको तन, मान्छे नआउदा झन् झन् छटपट्टि तीव्र रुपमा बढ्दो थियो । पोतिएको क्रिम पसिनाले जोति सक्दा पनि आइनन् प्यारी ।
मोबाइलमा घन्टी बज्यो म्यासेजको । हत्त पत्त पढियो, कालो अनुहार निलो पारियो, पसिनाले निधारमा मुल फुटाए,सोचिएको नपुग्ने भो, पहिलो डेट खेर गयो, चक्नाचुर भयो । लेखिएको थियो “बन्दको बेला कतै हिड्ने हैन भनेर मामुले कराइस्यो । सरी म आउन पाउदिन ।” झनक्क उठेको रिस,माथिल्लो बिन्दुमा पुगेको दिमागको पारा र बर्सिएको पसिना सुक्न केही बेर लाग्यो । रिस फेसबुक वालमा पोस्ट गरे “बिश्वास टुट्ने कुरा रैछ । गर्नु बेकार छ ।” केही हल्का भयो । फोन आयो म्याडमको । सानो स्वरमा मागेको माफी,लाडे पल्टेसरी सुनाएको बाहानाहरु अनि अर्को पल्ट भेट्ने भनि दिएको आश्वासन.......... तेती बेला मलाइ पचेन । खरो स्वरमा भनि दिए “बारबार मलाइ नमुना बन्नु छैन ।” उनले केही नराम्रो मान्दै, मन्द रिसाएर राखेको फोनले मलाइ कुनै असर गरेन ।
छेउको चिया पसल, मगाइएको चिया १ मिनेटमै चट । मनको तातोलाइ चियाको तातोले सेकेको अवस्था अनि मिलेको थोरै राहत । शान्त भएको रिस, शितल भएको वातावरण अनि आएको उस्को याद । गरेको मैले फोन, मागेको मैले माफी अनि भनेकी उस्ले “इट्स वोके ।” त्यो राहतलाइ शब्दमा उतारु कसरी । फेरी मगाइएको चिया, सिमसिम परेको झरी अनि म्यासेन्जरमा गरिएको टुकु टुकु च्याट, मेरो फस्ट डेटको आधार स्तम्भ । हामी बिचको भौतिक दुरी तर शाब्दिक आत्मियता । मैले पोखेको रिस उस्ले मायाले सोरेकी..... उस्ले घोप्ट्याएको रिस मैले मायाले उठाएको....धन्यबाद एनसेन तिम्रो डाटा सर्भिसलाइ । प्रविधीको जवानामा इलेक्ट्रोनिक डेटको मजा उठाइयो ।
चिया धेरै नखाउ भनि उस्ले पढाएको, मैले ज्ञानी बिधार्थी जस्तै मानेको । पानीको बारेमा गरिएको मिठो कुरा अनि उस्ले टेक्स्ट गरेको उसको हातको फोटो । मैले व्युटिफुल भनि गरेको कमेन्ट अनि उस्ले थ्याङक्यु भनि दिएको रिप्लाइ..... बास्तवमै रोमान्टिक लाग्यो । केही बिगत अनि केही भोलिका कुरा.... दिइएको सुझाव... गरिएको निर्णय....सबै सबै रोमान्टिक लागे । अझ उस्को हाँसो....हानिएको तिर....घायल परेवा.....उफ अझै पनि धेरै ठाँउमा घोच्दै छ । यस्तै रोचक अनि केही घोचक भयो मेरो फस्ट डेट ।
आँखा संग हैन शब्द संग खेलियो । शरिर नजिक हैन बाक्यहरुले आत्मियता बढायो । तन स्पर्स हैन मन छुने मौका मिल्यो । रातो गुलाफ हैन तातो सुझावहरु उपहार दिए । धेरै बक्वास हैन थोरै वाचाहरु गरियो । भौतिक रुपमा टाढा भए पनि उस्को उपस्थिती तातो लाग्यो । पहिलो डेटको फिका सुरुवात तर परिणाम रातो लाग्यो । चेट हुन लागेको डेटलाइ लेट नगरि साम्हाले । फरक सोच अनेक उपाय ।
– श्रेयज सुबेदी