Breaking News

6/recent/ticker-posts

Header Ads Widget

नेपाल बन्द छ


घर देखि केही पर कालो मुस्लो धुँवा बन्दको संकेत गर्दै आकाशमा । हातको चिया पनि खल्लोे लाग्यो.......चिनी अभाव,बन्दको प्रभाव । पत्रिकाका पृष्ठिहरु बन्दमय तस्बिर अनि शब्दहरुले भरिएका । एकको मृत्यु,चार घाइते,दुइ सिकिस्त,तोडफोड,निषेधाज्ञा........ यस्तै यस्तै शब्दकोे बाहुल्यता भेटियो पत्रिकाको पृष्ठ पृष्ठमा । सडक संगको यो संघर्ष जनतालाइ सास्ति अनि सकस मात्र । नेपाली जनताको विवेकशिताको ठूलो प्रशंसक बन्दैछँु आजकाल । इतिहासले रगत तताएर शत्रु काट्यो । वर्तमान सडक तताउदै भारदार रेट्दैछ । तिम्रो विवेकशिलताको आडमा, तिम्लाइ नेपाली जनता भनौ कि कुनै पार्टीको कठित कार्यकर्ता ।

किसानले मल पाउदैन, धान फल्दैन । व्यापारीको पसल खुल्दैन, बस्तु अभाव हुन्छ, मूल्यबृद्धिको सामना, हाम्रै जिम्मेवारी भित्र पर्छ । स्कुल कलेज खुल्दैन, पढ्न पाइदैन,बेरोजगारी सृजना, बिदेशिनु हाम्रो बाध्यता बन्छ । बैक खुल्दैन, तलब पाइदैन, सापटी हाम्रो ऋण बन्छ । अस्पताल खुल्दैन,बिरामी मर्छन्, पिडा हाम्लाइ हुन्छ । एउटै राष्ट्रमा बसेर, एउटै राष्ट्रियताको ट्याग लगाएर आफैले आफैलाइ दुख दिनु..... आफ्नै खुट्टामा बञ्चरो हान्नु बराबर हो । मुर्खताको पराकाष्ठा नाघी सक्दा पनि बिबेकमा बत्ती बलेको छैन । बलोस् पनि कसरी....... लोडसेडिङको देश,अध्यारो मानसिकता ।

बन्द केका लागी, अनि कस्का लागी ? प्रदेश बिभाजनले राष्ट्रियता बिभाजन नहोस् । सिमाङ्कनले हिजोका छिमेकी आज शत्रु नबनुन् । प्रदेश प्रदेश देश नबनोस्......सबै प्रदेश नेपाल बनोस् । एकता र अखण्डता दशगजामा रोपौ । रोपिएको बालीमा काला सेता गोरु नपसुन् । धर्म निरपेक्षता र सापेक्षताले केही अर्थ राख्दैन । यस्को लागी संघर्ष बेकार छ । धर्मको सार बुझौँ अनि त्यसलाइ लागु गरौँ । मान्छे जब नेक हो सब धर्म एक हो । अहिलेको समय कामना अनि कर्मको हो । बन्द हड्ताल अनि मर्मको हैन । जुट्ने बेला फुटियो भने जागरुपता शून्य बिन्दुमा झर्छ । पार्टीको कार्यकर्ता हैन नेपाली भएर सोचौँ । बन्द केका लागी, अनि कस्का लागी..... सोचको बिकास संगै उत्तर पनि भेटिन्छ ।

जब तिमी तातो घाममा नारा लगाउदै पसिना खान्छौ..... तेही समयमा कुकिज संगै चिया खाइन्छ । जब तिमी रातमा फुटेको टाउकोमा डिटेल लाउछौ....तेही समयमा ब्रान्डि अनि हुस्कि लगाइन्छ । जब तिमी आन्दोलनमा मरेका आफन्तको कृया गर्छौ...तेही समयमा पार्टी गरिन्छ । जब तिमी परिवर्तनको लागी लड्छौ......तेही समयमा तिम्रै आडमा कुर्सीको लागी लडिन्छ । तिम्ले हानेको ढुङ्गा खाने शरिर तेइ प्रहरीको हो जस्ले भुकम्पका बेला तिम्लाइ नँया जीवन दिएको थियो । ति ढुङ्गाहरु जम्मा गर अनि सिन्धुपाल्चोकमा एउटा नमुना बस्ती बनाउ.... जहाँबाट जिबन फुल्न सक्छ । ति मुडाहरु जम्मा गर अनि पिडितलाइ बाड...जहाँ चुलो बलेर भोक मेटिन सक्छ ।

कस्ले सिकायो संस्कार ? ल्यायो कस्ले बन्दको प्रविधी ? गल्ती हामीबाटै भएको हो । तर अवसोस, सच्याउनु सट्टा दिनदिनै दोहोर्याइ रहेका छौँ । माग पुरा गर्ने यो प्रविधी, चकलेटको लागी लडिबुडी गर्ने जिद्दी बच्चासंग मेल खान्छ । उसो भए हामी नेपाली ठूलो कैले हुन्छौँ त ? हाम्रो यही बालापनमै थुप्रै हस्तिहरु अस्ति बने । विभिन्न तन्त्रहरुले मन्त्र फुकेर देश झारफुक गरे । समय बुढो भयो शासक बुढो भए तर अचम्म हामी नेपाली आज पनि बच्चा नै छौँ । हामी ठूलो भएनौ भने देश बन्दैन....बन्द हुन्छ । नेताले नेताको लागी नेताद्वारा गरिने शासनकालमा, कक्षा १० मा पढेको प्रजातन्त्रको परिभाषालाइ बिर्सेर हामी ठूलो बन्नुछ । विवेकशिलतामा बास्तबिकताको मात्रा अनि गुणस्तर वृद्धि गर्नु छ । प्रयोग हुने हैन, प्रयोग गर्ने क्षमताको बिकास गर्नु छ । हो बिबेकशिल नेपाली....बन्दको बिनासलाइ पूर्णबिराम लगाएर,बिकासलाइ गृहप्रवेश गराउनुछ ।

पसल खोलेर हुदैन । बजार खुलाएर हुदैन । चक्काजाम खोलेर हुदैन । सवारी चलाएर हुदैन । बन्द मानसिकता खोल्नु आजको आवश्यकता हो । जब सम्म हामी हाम्रो बन्द बिचार खोल्दैनौ तब सम्म नेपाल सधै बन्द रहनेछ । आजको यो दिन जागरुपताको कमीले गर्दा हो । आज नेपाल बन्द छ र भोली पनि रहनेछ । जब सम्म बिबेकशिल नेपालीको मानसिकता बन्द छ तब सम्म नेपाल अनिश्चितकालीन बन्द छ ।

– श्रेयज सुबेदी