Breaking News

6/recent/ticker-posts

Header Ads Widget

जय रक्सि

“रक्सिले मान्छेको सत्य ओकाल्छ भने प्रहरीहरु अपराधीलाइ कुट्छन् किन ।”

रक्सि बनायो कस्ले ? जसले पनि बनायो गजब बनायो, अजब बनायो । त्यो खोजकर्तालाइ मेरो मुरीमुरी धन्यबाद । मान्छे चिनाउने औषधीको आबिस्कारलाइ म शब्दले नमस्कार गर्न सक्दिन । तपाइको आबिस्कार अमर छ । मान्छेले मान्छे बिर्सेला,आफ्नो धर्म बिर्सेला जात बिर्सेला परिवारनै बिर्सेला तर “रक्सि” जी तपाइलााइ मान्छेले कुनै युगमा पनि बिर्सने छैन । पृथ्वीमा मानव इतिहास रहे सम्म तपाइको अस्तित्वलाइ धरासयी बनाउने कुनै माइकललाल जन्मने छैन । तपाइको शक्ति अनि मानिसको तपाइ प्रतिको भक्ति, बास्तवमै चमत्कारै छ । सुनिन्छ आजकाल कैलाश पर्वतमा शिव जल्दैछन् रे तपाइको भक्तिको आशक्ति देखेर । रक्सी जी तपाइ बास्तवमै महान् । जय रक्सि ।

तपाइ एउटा तरल पदार्थ । तर पनि तपाइमा ठोसमा भन्दा बढी तगत छ । मलाइ कसैले सोध्छ “संसारमा सबै भन्दा शक्तिशाली बस्तु कुन ?” म गजबैले भन्न सक्छु “रक्सि” । तपाइ मलाइ डाउन टु बर्थ प्रस्नालिटी लाग्नु हुन्छ । साहुनीको भट्टीमा डबका बनेर होस् या पाँच तारे होटलमा वाइन बनेर, तपाइको उपस्थिती जहाँ पनि उस्तै....सधै साझमा सम्माननिय । तपाइ गिलासमा पनि अटाउनु हुन्छ । तपाइ ग्लासमा पनि अटाउनु हुन्छ । तपाइको फेग्जिब्लीटिको म एक ठूलो प्रशंसक हुँ । सामान्य मजदुर होस् चाहे ठूलो उद्योगपति, जो संग पनि तपाइको मित्रता अनि आत्मियता मजबुत लाग्छ । तपाइको यो फ्रेन्ड्ली बिहेवियरको म गजबको फ्यान हँु । बत्तीसै गुणले भरिपूर्ण तपाइ जस्तो व्यक्तित्वको नाम रक्सी हैन औषधी हुनु पर्ने । सबैको समस्याको समाधानकर्ता, सबैको चोटको औषधी, रोगको औषधी ।

परिवर्तन गजबले गर्नु हुन्छ तपाइ । लाग्छ परिवर्तन तपाइको बायाँ हातको खेल हो । अवस्था परिवर्तन, अवस्थिती परिवर्तन, भावना परिवर्तन, गति परिवर्तन, सोच परिवर्तन समग्रमा भन्दा मान्छे परिवर्तन.....शरीर परिवर्तन । नबोल्ने मान्छे बोेल्ने बन्छ । हास्ने मान्छे रुने गर्छ । उठेको मान्छे बस्ने गर्छ । बसेको मान्छे ढल्ने गर्छ । ढलेको मान्छे गजिनी बन्छ । जस्लाइ केही यादै हुदैन अनि बिहान सोध्ने गर्छ “मैले राती के के गरे ?” अचम्मको पावर तपाइको..... स्मरण शक्ति कसैको बढाइदिने त कसैको घटाइदिने । मान्छेको एउटा नयाँ अवतार बाहिर आउने गर्छ । नयाँ भावनाको जन्म हुन्छ । जसलाइ सत्य भनिन्छ । तपाइको सेवन पछि मान्छे कलियुगमा पनि सत्यवादी बन्छ । रावणबाट राम बन्छ । मगज चक्काजाम बन्छ । बेकम्मालाइ काम बन्छ । सध्य मानिस हराम बन्छ । निचोडमा भन्दा तपाइको वृय पेटमा परे पछि एउटा नयाँ मान्छेको जन्म हुन्छ ।

तपाइलाइ म सम्बन्ध भनि सम्बोधन गर्न चाहन्छु । अन्जान मान्छेहरु अक्सर गिलासको चियर्स संगै भावना साट्ने गर्छन । दुख सुखका पलहरु दौतरी झै छरपस्ट पार्छन् । कोही केही अश्लिन बन्दै इज्जत पनि बद्नाम गर्छन । नयाँ सम्बन्ध बनाउन तपाइको लमीको भुमिका पिकेको आमिर खानको अभिनयको भन्दा अद्भुत लाग्छ मलाइ । तेसै गरि बने बनाइएका बर्षैको सम्बन्ध पनि एकै घ्याम्पेमा चक्नाचुर बनाउने तपाइको तागतको कुनै तुलना छैन । तुच्छ वचन तथानाम गाली, ताना ताना अनि हानाहान । एक पलमै खेल खतम । घाइते अनि मृत्यु पनि परिणाम बनि अगाडी आएका हुन्छन् । एक चुस्कीको दम, साथी अन्जान बन्छन् । सम्बन्ध टुसटुसे धागोसरी चुडिन पुग्छ । आत्मियता फुङ्ङ धुँवासरी उड्ने गर्छ । पलमै बर्बादी पलमै आजादी । अद्भुत बडा अद्भुत अस्तित्व रक्सि तपाइको ।

तपाइ मलाइ गाँउघरको भकारी जस्तो लाग्नु हुन्छ । सबैको दुखको भकारी गुनासोको भकारी । हरएक दुखी मानिस तपाइलाइ समात्छ । तपाइको सामिप्यतामा सारा दुखको सटर खोल्छ.....खुलासा गर्छ । तपाइ संग फ्लेबर फ्लेबरका दुख होलान् । साइज साइजका बेदना होलान् । ती सारा दुख बेदनालाइ एक दिन नियाल्ने मन छ । तपाइको भण्डारीत दुखमा पि.एच.डी. गर्ने मन छ । सुखको पनि तपाइ संग राम्रै स्टक छ होला । एउटा अनुरोध रक्सि जी....... ती सारा सुख मलाइ दिनुस्, म हरएक दुखिलाइ बाड्न चाहन्छँु ।
प्रेम अनि साहित्य संग तपाइको सम्बन्ध साथिगत लाग्छ । धोका पाएका प्रेमीहरुको नजिकको मित्र तपाइ मलम बनेर आउनु हुन्छ । प्राय साहित्यकार तपाइ बिना कलम चलाउन सक्दिन भन्छन् । संगीतकारहरु गला नभिजाइ राग लगाउन जान्दिन भन्छन् । तपाइ बिना सृजनाको सृजना हुन सक्दैन भन्ने पनि सयौको संख्यामा भेटिन्छन् । तपाइ मलाइ चाबी जस्तो लाग्नु हुन्छ । बन्द दिमागको तालाहरु खोल्ने चाबी, सृजना फुराउने चाबी । जो हरएक प्रयोगकर्तामा हावी हुने गर्दछ ।

तपाइको सम्बन्धमा जो कोहि पनि अटाएका छन् । हरएक वर्ग अनि वर्णका मानिस तपाइको संस्थाको सदस्य रहि आएका छन् । तर मलाइ अचम्म लाग्छ तपाइको सबैभन्दा ठूलो फ्यान म, तपाइको प्रयोगकर्ता बन्न सकिन । तपाइको गुनगान गाउने म, तपाइलाइ अंगाल्न सकिन । समाजमा म मात्र एउटा म हैन । म जस्ता म हरु थुप्रै छन् जो तपाइको प्रयोगकर्ता बन्न सकेका छैनन् । भोलि ति पनि तपाइको सदस्य बन्लान् । फेरी पनि थुप्रै कलेजो अनि फोक्सोहरुले तपाइको दैलामा धर्ना देलान । तपाइलाइ एउटै अनुरोध छ “आफ्नो ढोका अगाडी प्रवेश निषेध लेखि दिनुस् ।” त्यसैगरि, जसरी चुरोट जीले आफ्नो बट्टाम लेख्नु हुन्छ “धुम्रपान स्वास्थ्यको लागी हानिकारक छ ।”
अन्तमा तपाइसंग जोडिएको मेरो दुइ वटा कुरा छन् । एउटा रहर छ अनि अर्को गुनासो । तपाइसंग मौसमले च्यालेन्ज दिएको बेलामा, टेबलमा बसेर एक कप चिया खाने रहर छ । तपाइ अरुलाइ क्यान्सर लगाउनु हुन्छ मलाइ तपाइलाइ डाइबिटिज उपहार दिने रहर छ । तपाइ नसा संगसंगै मृत्यु उपहार दिनु हुन्छ । तपाइले नारायण गोपाल लानु भो, लक्ष्मी प्रसाद देवकोटा लानु भो, वी.पी. कोइराला लानु भो । किन लानु भो ? रक्सी जी यो तपाइलाइ मेरो प्रश्नवाचक गुनासो ।

–श्रेयज सुबेदी