आकाश निलो छ । शिखर सेताम्मै देखिन्छ । उदाउने अस्ताउने सूर्यको पनि आफ्नै रंग हुन्छ । रातको रंगको रहस्य बेग्लै छ । जुन रहस्यमा हरएक रंगीन बस्तु कालो नजर आउछन् । गिलासमा उतारिने ब्रान्डि हुस्किको रंग पनि कतै हरियो कतै कलेजी त कतै अंगुरी देखिन्छ । संगै उडाइने धुँवा केही सेतोे भान हुन्छ । संसारको हरएक चिजले आफ्नो एउटा रंग एक किसिमको अस्तित्व बोकेको हुन्छ । भनिन्छ रंग पहिचान हो । तर खै भावनाको रंग किन हुदैन । सोचको रंग कस्तो हुन्छ । दुखमा कस्तो रंग पोतिएको हुन्छ । लाग्छ मलाई...भावनासंग जोडिएका कुराहरुको मात्र दुइ रंग हुन्छ । कालो अनि सेतो । सकारात्मकता सेतो भित्र पर्छ अनि नकारात्मकता कालो ।
मान्छेको छालामा पनि रंगको प्रभावलाई महत्वपूर्ण मानिन्छ । म कालो वर्णको मान्छे । कालो हुनु आफैमा कुनै नराम्रो पक्ष त हैन । तर पनि गरिने व्यवहार अनि भोगाइले जीबनका केही पलहरु छाँया परेका छन् । केही अनुभव छन् जुन रंगले दिएका छन् । मैले सोचेको छँु, अैना हेरेको छँु अनि छाला खुइलिने गरि साबुन नदलेको पनि हैन । तर भनिन्छ नि जति धोए पनि भैसी कालोको कालै । ठीक त्यस्तै.... साबुनको दर्जनौ डल्लाहरु खिइएर गए तर छालामा कुनै परिवर्तन आएन । यी ति दिनका कुरा हुन् जब म पहिलो पल्ट मेरो रंगकै कारण अस्विकारीए । राखिएको प्रेम प्रस्ताव,कागजको डल्लो बनाइ मुखमा हानियो । अनि आँखा तर्दै भनियो “काले” । त्यो व्यबहार अनि शब्दलाइ स्विकार्नु मेरो बाध्यता थियो किनकी त्यो बास्तविकता थियो । जन्मदै कालो जन्मिएको म , हावापानी अनि व्युटी प्रोडक्ट्सले गोरो बनाउन सकेन । बच्चा छँदा मैले थुप्रै सब टाइटलमा गाली सुन्न पाए । जस्तै “पोल्दा पोल्दै उम्केको”, “मसाने”, “ध्वासे”, “डढेको ठुटो” आदी इत्यादी । तर सब भन्दा चर्चित थियो “काले”। पहिला मलाइ यो शब्द गाली जस्तो लाग्थ्यो । कुनै साथीले काले भनि सम्बोधन गर्दा सेन्सर बोर्डले काट्ने गरेको सब्बै शब्द एकैसाथ पेल्दिउ जस्तो लाग्थ्यो । यहि निउमा कत्ति संग जुदियो । झगडा पछि कोही रातो हुन्थे कोही निलो तर म जस्ताको तस्तै हुन्थेँ “कालो” । अनि खुसी लाग्थ्यो परिस्थितीले मेरो रंग परिवर्तन गर्न सकेन ।
प्राय जसो फोटो खिच्ने क्रममा, कोही कतैले प्याच्च सुनाइ दिन्छन् “तपाइको त फोटै क्लियर आएन । दाँत मात्र देखिन्छ ।” मन अमिलो हुन्छ । अनुहार निचोरिएको कागती बन्छ । बोेली फुट्दैन । म लाटो हुन्छु । तेसैले म फोटोमा दाँत देखाउन चाहन्न । या यसरी भनौ आफ्नै दाँतले अनुहारको इज्जत लुट्न मन लाग्दैन । एकजनाले मजाकै क्रममा भनेका थिए “रात परे पनि नहास्नु तिमी, बच्चाहरु तर्सिन्छन् ।” त्यो मजाकमा म पनि हासेको थिए । तर मनले कति खेर दुख मान्न भ्याइसकेछ, चालै पाइन । पहिलो भेटमा मैले मेरो नाम संगै थर उच्चारण गर्दा, प्राय सबैले संकास्पद हेराइ हेरेर भन्ने गर्छन् “सुबेदी ? तिमी पहाडीया पो हो ?” सधै मेरो जातीयतालाइ रंग संग दाजिएर आकलन गरियो । सानोपोखरामा पसल हुदाँको कुरा .......कोही नयाँ ग्राहक आउदा भन्ने गर्थे “भैया,चिनी कित्ना किलो ?” पहिला त रिस उठ्थ्यो । तेइ चिनीको पोकोले हानेर बिहोस बनाइदिउ जस्तो लाग्थ्यो । तर पछि यी कुराहरु युज्टु बन्दै गए अनि “भैया” मा पनि मैले सहजता महसुस गर्न थाले अनि भन्न थालेँ “जी बोलिए । क्या चाहिए आपको ?” धेरै पछि फेरी यस्तै कुरा दोहोरियो । गएको महिना पालुङमा गाडी डेमोको क्रममा मलाइ एउटा आन्टिले सोधिन् “भैया यो गाडीलाइ कति पर्छ ?” खै किन हो , म त्यो दिन जोडले हासेछँु । लाग्दैथ्यो उनले मलाइ कुनै जोक्स सुनाइन् । एकछिन पछि आफ्नो कार्ड देखाउदै भनेँ मैले “सुबेदी.....उपाध्य बाहुन ।” उनले दाया हातले टाउको कनाइन् अनि साइड लागिन् । फेरी पनि म माथि रंग हाबी भयो । लोकसेवाको फर्म भर्न जादा, नमाग्दा पनि मलाइ समाबेशीको फर्म थमाइन्छ र भनिन्छ “मधेसि कोटामा पनि भर्ने होला नि ।” म निशब्द हुन्छु अनि नागरिकतामा नाम पछि थरलाइ औलाले इङ्गित गरिदिन्छु । अगाडीकोे मान्छे चुप हुन्छ । जित मेरो नागरिकताको हुन्छ ।
आजकाल दारी पाल्ने अनौठो सोख चल्दैछ म मा । एकजना महाजन संग परिचयको क्रममा, मैले मेरो नाम र थर भन्दा संकास्पद हेराइ हेर्दै भने “मैले त तपाइलाइ मुस्लिम भन्ठानेको ।” फेरी एउटा नयाँ पहिचान थपियो । नयाँ जातीयता जोडिन पुग्यो । समानुपातिकता र समाबेशीकरणको लहड चलिरहदा मैले म भित्र एउटा बिशेषता भेटेको छु । म मान्छे ब्राम्हण तर रंगको कारण सबैले मधेसी बनाइदिन्छन् । दारीले गर्दा कत्तिले मुस्लिम पनि भन्छन् । मेरो एउटै अनुहारमा भिन्न भिन्न जातीयता झल्कन्छ । तेसैले मलाइ भन्न मन लाग्छ “समाबेशी देशमा समाबेशी फेस भएको मान्छे हुँ म ।”
रंगले दिएको यो बिशेषताको कारण प्रदेश बिभाजनको अवस्थामा पनि मलाइ सहजता महसुस हुने भयो । खुसी लाग्छ, कालो छँु तेसैले त अरु भन्दा अलग देखिन्छँु ।
:-श्रेयज सुबेदी