काठमाडौं, असार १९ - टेलिभिजन कार्यक्रममा उदाउँदै गरेको प्रोडक्सन हाउस फर सि नेटवर्कले जितु नेपाललाई नयाँ रुपमा सार्वजनिक गर्न लागेको छ । जितु नेपालसँगको सहकार्यमा नेटवर्कले कमेडी क्लब विथ जितु नेपाल टाईटलमा नयाँ टेलिभिजन कार्यक्रम तयार गर्न लागेको हो । एकघन्टा लामो मेघा कार्यक्रमको पहिलो सिजन एकसय भागको हुनेछ ।
दर्शक बढ्दै र बजार फैलिँदै गएमा यो श्रृंखलाका अरु भाग पनि थपिने नेटवर्कले जनाएको छ । फर सि नेटवर्क कार्यकारी अध्यक्ष तथा कार्यक्रम निर्माता निर्देशक दिपेन्द्र खनियाले भने, ‘कमेडी क्लब विथ जितु नेपाल टेलिभिजन कार्यक्रम मात्रै होइन, यो कार्यक्रमलाई हामी स्टेज प्रहसनमार्फत् पहिलो चरणमा देशव्यापी लैजाँदैछौं ।’
एक चरण देशभर कमेडी क्लब विथ जितु नेपालको यात्रा सकिएपछि कमेडी क्लब विथ जितु नेपालको यो टोली बिदेश यात्रामा निस्कने छ । खनियाका अनुसार स्टेज कार्यक्रम र टेलिभिजन कार्यक्रमका विषय सामग्री भने फरक फरक हुनेछन् । साउनको तेस्रो हप्तादेखि प्रशारणको तयारी गरिरहेको कार्यक्रम कमेडी क्लब विथ जितु नेपालको अहिले सेट निर्माण तहमा छ । लेखन तथा कलाकार छनौटको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ ।
रमाईलो कुरा के भने भारतीय टेलिभिजन च्यानल कलर्सको चर्चित कमेडी नाइट विथ कपिल कार्यक्रम बन्द भएको खबर बाहिर आउँदै गर्दा नेपालमा जितुले नयाँ र फरक स्वादमा हास्यव्यंग्य कार्यक्रम शुरु गर्न लागेका हुन् ।
0 Comments