अस्ति भरखर जस्तो लाग्छ....सुनिताको सिउदोको गोरेटोमा सिन्दुर पोतेर मेरो बाको एकलौती बुहारी बनाको । अस्ति भरखर २०४९ सालमा । अस्ति भरखर नै त हो....सुनिताले मलाई छोरोको बाऊ बनाएकी । साढे दुई किलोको छोरो बोक्दा गहभरि आँसु भरिएर मेरो आँखा कुलेखानी ड्याम भएको...अस्ति नै त हो । अस्ति भरखर २०५० सालमा । खै के सुनि, खै के देखी......सुनिताले एकदिन कैसिमा राखेर भनि“समिरको बाबा हामी काठमान्डौं जाम्न ।” मलाई पनि के भयो खै...त्यसको एक महिनामै बाले अङ्सेका ३ कठ्ठा घडेरी बेचेर लाख रुपे दाम बोकी काठमान्डौँ पसेँ । घर छाड्नु अगाडी छिमेकी घनश्याम काकाले भनेका थिए “पुर्खौली सम्पत्ति पृतीको आर्शिवाद हो । जम्मै बेचेर जादैछस् । बिचार गरेँ जेठा....काठमान्डौँ देखे जती सुन्दर छैन ।” म,सुनिता,छोरंो समिर अनि कोटेश्वरको साँघुरो अध्यारो कोठा । कोठा भन्दा केही पर एउटा किराना पसल । संघर्ष त अब सुरु भयो ।
टाउकोको सानो खोपिल्टामा भएको दिमागमा तनाव अनि परिश्रमले चुहिएका ती अमिला पसिनाले जीवन तितो बनाउने रैछ । छोरोलाई सिताराम दुधमा गुलकोज बिस्कुट चोपेर खुवाउदा सुनिता र मैले पाठकको दालमोट संगै चिउरा फुक्याएर सुरु गरेको हाम्रो काठमान्डौँको बसाई वास्तवमै सहज थिएन । त्यस दिन भन्दा पहिला मलाई समिर छोरो जस्तो मात्र लाग्थ्यो । तर १०४ डिग्री ज्वरोले समिर बेहोस हुँदा म अचेत भएको देखेर लाग्यो....समिर मेरो छोरो हैन, मेरो मुटु रहेछ । काठमान्डौँ बसाइको केही बर्ष संघर्षपूर्ण रह्यो । तर गएका ३ ४ बर्षमा व्यापारको फस्ट्याई र हाम्रो जिवनस्तरको तन्काई......गोङ्गबुमा कम्पाउन्ड सहितको ३ तले घर र घर अगाडीको हुन्डाई क्ष्ज्ञण् सम्म पुग्यो । सुरुवाती सानो किराना पसलले अवस्था र अवस्थिती परिवर्तन गरि “समिर होलसेल स्टोर” बन्यो । जीवनमा दुख पछिको सुखको स्वाद बिस्तारै आउदैथियो ।
२०७२ साल बैशाख १२ गते...... म १०ः३० बजे घरमा खाना खान पुगेँ । सुनिताले बनाएको लौकाको सब्जी मैले औला चाटी चाटी खाए । सिउदो भरी सिन्दुर,निधारको वीचमा ठूलो रातो टिका लगाएकी,मेरो सुनितालाई मैले बेहुली जस्तै देखेँ । छोरोको आँखा छलेर खुसुक्क कानमा गएर भने “आँखा लाग्ला है बुढी ।” लमसम साढे एघारमा घरबाट म पसल निस्किए । पसल पुगेर विक्री खातामा हिसाब गर्दै गर्दा ११ बजेर ५६ मिनेटमा नचिताएको हुन पुग्यो । पसलका र्याकहरु एक्कासी हल्लिन लागे । चाउचाउ बिस्कुटका कार्टुनहरु एकाएक खस्न लागे । पसलका कामदारहरु अगाडीको सोकेस फाल हानेर बाहिर सडकमा पुगे । म पनि अत्तालिदै सडक सम्म पुग्न भ्याए । क्षणभरमै पसल भएको हिरा साहुको घर तहस नहस भयो । चारैतिर धुलैधुलो,रुवाबासी,भागदौड,बिध्ङ्स मचियो । जमिन हल्लाउन छाडे पछि म हस्याङ फस्याङ घर पुगेँ । जिवनभरको जम्मा पूँजी मेरो परिश्रमले ठडिएको ३ तल्लाको घर अब घर थिएन । २ तल्ला धसिएर माथिल्लो तल्ला भुइ तल्ला भएको थियो । छतको पानी ट्याङ्की घोप्टिएर निरन्तर पानी बगाउदै थियो । म चिच्याउदै रुदै सुनिता र समिरलाई बोलाउन लागेँ ।
सुनिता.......सुनिता......समिर........समिर..... । तर अवशोश फिर्तामा मैले “हजुर” को सट्टा शून्यता पाएँ । मैले त्यहाँ हार गुहार गर्ने कोही भेटिन । किनकी सबै आफ्नै पिडाले पुरिएका थिए । म भित्र पसेँ..... निकै बेर पछिको रुवाइ कराइ संगैको सामान पन्छ्याई पछी मैले मेरो छोरोको देब्रे खुट्टाको जुत्ता भेट्टाए । त्यही एडिडाजको कालो जुत्ता जुन छोरालाई मैले उसको जन्मदिनमा उपहार दिएको थिए.....अस्ति भरखर बैशाख २ गते । जुन जुत्ता पाउदा छोरोले मलाई अंकमाल गरेर जुरुक्क बोकेर भनेको थियो “You are the best dad in the world.” त्यो जुत्ता च्यापेर धेरै बेर रोए । अलिक अगाडी बिहान सुनिताले सब्जी बनाएको कराइ लडेको देखेँ । जुठ्ठै थियो । माज्न भ्याइनछे । त्यही कराईलाइ हातले पुछेर चाटेँ एक फेर.......सुनिताले पकाकी लौकाको सब्जी । आँसु असिमित बगे ।
पिडाको कुनै तौल छैन । छिमेकी अनि आफ्नो लगातार प्रयास पछि पनि सुनिता र समिर फेला परेनन् । भोलीपल्ट नेपाली सेनाको टोलीले दिउसोको समयमा एकैसाथमा मेरो छोरो र बुढीको शव निकाले । सुनिताको निधारमा त्यही ठुलो टिका अनि सिउदोमा उही सिन्दुर थिए । जुन मैले अन्तिम पल्ट देखेको थिए......दुरुस्तै उस्तै । फरक यत्ती थियो......त्यो बेला सजिब थिइन तर अैले निर्जीव । रातो सारीको रंग ईटाको धुलोले धमिल्याएको थियो । उनले हातले अठ्याएर छातीमा टासेको फोटो फ्रेम पल्टाएर हेरेँ । हामी दुई जोडीको पोहोर दशैको फोटो थियो.....जुन सधै हाम्रो बेडरुमको टेबलमा सजिएको हुन्थ्यो । म फेरी भक्कानिए । समिरको दाँया हात भाचिएर स्ट्रेचरबाट तल तुन्रुङ्ङ झुन्डिएको थियो । त्यो त्यही हात थियो जसले समिर मेरो कपालमा कालो लगाउने गर्थियो । उसका गोरा सेता अनुहार टाउको बाट चुहिएको रगतले राताम्य भएको थियो । प्रशासनले शव मलाई जिम्मा लगायो । एउटा काखमा सुनिता र अर्को काखमा समिर च्यापेर घरकै आँगनमा निकै बेर पसारिएँ । भोलिपल्ट आर्यघाटमा सैयौं लास संगै पोलियो मेरो सानो परिवार । त्यहाँ पोलियो सुनिताको सासु बन्ने सपना अनि पोलियो छोरोको डाक्टर बन्ने चाहना । त्यस पछि पनि निकै पल्ट कम्पहरु महसुस भए ।
तर मुटु हल्लिएको अवस्थामा शरिरको हल्लाईले खासै असर नगर्दो रहेछ । मेरो परिवारलाइ खरानी बनाएर सेताम्य भेषमा म एक्लै फर्किए । थुप्रै मान्छेहरु,केही सञ्चारकर्मी र केही सैनिकहरु घर अगाडी थिए । जुन घरलाइ हेरेर विगतमा म गमक्क फुलेर आफैमा गर्व गर्थे,त्यही घरले परैबाट राप्दै छ मलाई । परिवारलाई त दाउरा अनि परालले पोलेँ, तर मलाई घरले पोल्दैछ । त्यसको प्रत्येक ईटाले डाम्दैछ । नगरपालीकाको इन्जिनियरको पिल्लर युक्त घर बनाउनु भन्ने आदेशलाई केही मोटो रकमले शान्त बनाएको पलले मलाई अशान्त गर्दैछ । म आक्रोसमा आएर, छेऊको ईटा टिपेर भत्एिको घरमा प्रहार गरेँ र बारम्बार चिच्याएर भन्न लागेँ “मेरो स्वास्नी र छोरो खाने यो घरलाई भत्काई देऊ...बिन्ती भत्काई देऊ ।”
म शोकमा थिए तर केही शान्त देखेर होला एउटा मिडियाकर्मीले प्रश्न गरेँ मलाई “भुकम्प आउदा कस्तो फिल गर्नु भयो ?” म बोलिन....फिर्तामा मैले मेरो मौनता दिए । कृयापुत्री बास्दा, जमिन ओछ्याएर आकाश ओडेर बसेको समयमा पनि केही मिडियाकर्मीले प्रश्न गरेँ मलाई “भुकम्प आउदा कस्तो फिल गर्नु भयो ?” म अझै केही बोलिन । तर आजकाल मलाई यो प्रश्नले सुत्न दिएका छैनन् । मलाई बेचेन बनाउछन् । म आतंकित छँु । त्यसैले म आह्वान गर्न चाहन्छँु “आउनुस् मिडियाकर्मी साथीहरु..... म मेरो छोरो र स्वास्नीको शरिरबाट चुहिएको हरएक रगत, भाचिएर लत्रिएका अंगहरु,कुचिएका टाउकाहरु र भत्किएको मेरो सानो संसारको हरएक हिसाब दिएर भन्नेछँु ..... भुकम्प आउदा मैले यस्तो फिल गरेँ । आउनुस् मलाई प्रश्न गर्नुस् । मेरो शोकको राष्ट्रियकरण गर्नुस् ।”
:-श्रेयज सुबेदी
2 Comments
Da yo satya ghatana ma adharit ta hoina ni? It was another nice article though.
ReplyDeleteNo kritika but this article was realised by nearly as real event.
ReplyDelete