मलमासको समयमा नवविवाहित जोडीहरु अलग बस्नुपर्ने र गर्भधारण गर्न नहुने परम्परागत मान्यता छ । यसको अर्थ मलमासको अवधिमा सहवास नगर्ने हो ? विज्ञहरु भन्छन्-अधिकमासको अवधिमा गर्भधारण भएको बच्चा राम्रो हुँदैन भन्ने मान्यता छ ।
मलमासमा यौनकार्य नगर्न सुझाब दिँदै ज्योतिष पण्डितहरुले यस्तोबेला गर्भ बसे परिवारलाई कष्ट हुन सक्ने बताएका छन् ।
ज्योतिष आत्माराम भण्डारीका अनुसार मलमासको बेलामा गर्भ रह्यो भने बच्चा त जन्मिन्छ तर, त्यो बच्चाको भविष्य रेखा ज्योतिषलाई पनि थाहा हुँदैन ।
‘कतिपयको चिना मिलेन भनिन्छ, चिना नमिल्नु भनेकै उनको भविष्य थाहा नहुनु हो ।’ खबरसँग कुरा गर्दै भण्डारीले भने ।
तर, गर्भधारण बाहेकको सहवासका बारेमा शास्त्र र विज्ञहरुले केही बोलेका छैनन् । तर नवविवाहित जोडीहरु चाहिँ अलग बस्नु भन्छन् । यस्तो बेला नवविवाहित युवती माइती बस्ने प्रचलन रहेको ज्योतिषशास्त्री डा. सूर्य ढुंगेल बताउँछन् ।
यो एक महिनाको मलमास अवधिमा कुनै पनि शुभ कार्य र पितृकार्य गर्न हुँदैन भन्ने हिन्दु धार्मिक मान्यता छ । यसबीचमा पर्ने तिथि श्राद्ध पनि मलमास सकिएपछि मात्रै गरिन्छ । मलमासकै कारण यस वर्षका सबै चाडपर्व एक महिना पछि सरेका छन् ।
अधिकमासकै कारण असारमा सधैं हुने विहेका लगन यस वर्ष छैनन् । विवाह, ब्रतबन्ध, गृह प्रवेश, नयाँ ठाउँको यात्रा कुनै पनि शुभकार्य यस अवधिमा नगर्नु राम्रो हुने ज्योतिष कृष्णप्रसाद कोइरालाले बताए ।
मलमासको सम्बन्ध खगोल विज्ञानसँग पनि रहेको ज्योतिषशास्त्री बताउँछन् । हरेक ३२ महिना १६ दिन वितेपछि मलमास सुरु हुन्छ । १९ वर्षपछि त्यही महिना, त्यही दिनमा आउँछ ।
के हो मलमास ?
अधिकमासलाई पुरुषोत्तम मास वा मलमास पनि भनिन्छ । वैदिक परम्परा अनुसार नेपालको इतिहासमा छैटौ शताब्दीदेखि सोह्रौं शताब्दीसम्मका अभिलेख हेर्दा असार र पुस महिनामा अधिकमास हुने गरेको अध्येताहरु बताउँछन् ।
कुल ३६५ दिनको एक वर्षमा १२ महिना हुन्छ । सूर्यको गतिअनुसार गणना गरिने मासलाई सौरमास भनिन्छ भने, चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ । सामान्यतया सैरमासमा सक्रान्तिदेखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक महिना हुन्छ ।
चन्द्रमासमा एक पूणिर्मादेखि अर्को पूणिर्मासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ । त्यस्तै सौरमासको गणना अनुसार एक वर्षमा जम्मा ३६५ दिन हुन्छन् । चन्द्रमास अनुसार ३५४ दिनमात्र हुन्छ ।
यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ । हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा एक महिना सौरमास भन्दा चन्द्रमास बढी हुन जान्छ ।
मलमास वा अधिकमास त्यस्तो कुनै अशुभ समय भने नभएको ज्योतिश शास्त्रीहरु बताउँछन् । वर्ष दिनलाई ठीकसँग मिलाउन मलमास र क्षयमास आउने गर्छन् ।
व्यवहारिक हिसाबले मलमास प्रायः असार महिनामा पर्ने भएकाले गाउँ घरका बुहारीहरुले मलमासका बेला माइत जाने अवसर प्राप्त गर्छन्, जसले गर्दा उनीहरुमा खुशी ल्याउँछ ।
यो रुढीवाद हो : निर्मला शर्मा
मलमासलाई महिला अधिकारकर्मीले कसरी हेरेका छन् ? यसबारे प्रश्न गर्दा सञ्चारिका समूहकी अध्यक्ष एवं पत्रकार निर्मला शर्मा भन्छिन्- ‘यसको प्राविधिक पक्षबारे मलाई जानकारी नभए पनि यो रुढीवादी प्रचलन हो जस्तो लाग्छ ।’
पृथ्वीको चक्रले समयमा आउने परिवर्तन विश्वभरि हुने बताउँदै उनले खबरसँग भनिन्- ‘हिन्दुले मात्रै मलमास बार्छन्, विश्वका अरु मानिसलाई यसले पिरेको देखिँदैन । त्यसैले मलमास बार्नु व्यवहारिक छैन ।’
पति र पत्नीहरु छुटि्टँदा वालवालिकालाई विद्यालय पठाउन समस्या पर्ने भन्दै शर्माले आफूले कहिल्यै मलमास नबारेको बताइन् ।’