प्रेस चौतारी तथा क्रान्तिकारी पत्रकार संघमा आवद्ध क्रियाशिल पत्रकारहरुले छ सय एक जना सभासदलाई त्रिपाल किन्नका लागि भन्दै ब्यंग्य स्वरुप एक एक रुपैयाँ चन्दा संकलन गरेर ६ सय १ रुपैयाँ पठाएका छन् । यो रकम जिल्ला प्रशासन कार्यालय डोटीमार्फत संविधान सभाका अध्यक्ष सुबास नेम्बाङलाई पठाइएको प्रेस चौतारी डोटीका अध्यक्ष झलक पालीले बताउनुभयो ।
भुकम्पको पीडामा परेकाहरुका लागि प्रदान गरिएका त्रिपाल बुझेर मानवीयताको खिल्ली उडाउँदै सभासदहरुले निम्नस्तरको व्यवहार देखाएको रकमसँगै पठाएको पत्रमा उल्लेख छ । पत्रकारहरुले भूकम्प पीडितका लागि एक वर्षको तलब दिने घोषणा गर्ने सभासदको भने पत्रकारहरुले प्रशंसा गरेका छन् ।
व्यंग्यात्मक रुपमा पठाईएको रकम बुझ्दै डोटीका प्रमूख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले तत्काल यो रकम गृह मन्त्रालयमार्फत संविधानसभा अध्यक्ष समक्ष पुर्याउने बताउनुभयो ।
शहरी विकास मन्त्रालयले उपलब्ध गराएको पाल संविधानसभा सचिवालयले संविधानसभा भवन नयाँ बानेश्वरबाटै बाँडेको थियो । तर पछि केहि सभासदले यो कामको विरोध गरेपछि संविधानसभाका अध्यक्ष नेम्बाङले त्रिपाल बाँड्न रोक लगाउनुभएको थियो ।
0 Comments