त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, भीई जिरो वान कल साइन भएको यो हेलिकप्टर बिहान ९ बजेर १७ मिनेटमा काठमाडौंबाट उडेको थियो भने ११ बजेर ३७ मिनेटमा काठमाडौं फर्किएको थियो ।
तर पछि कति बज्यो उड्योबारे विमानस्थललाई थाहा नै छैन । विमानस्थल उच्च स्रोतका अनुसार, दिउँसो २ बजे उक्त हेलिकप्टरले चरिकोटबाट 'सर्किट' रिपोर्ट गरेको छ । त्यसपछि यो विमान सम्पर्कमा आएको छैन ।
'भूइँचालो गएपछि यो विमान कतै उड्यो त्यतिबेला हामी रन-वे बन्द गरेर टावर खाली गरी त्रासले मैदानमा ओर्लिएका थियौं,' र्इकान्तिपुरलार्इ स्रोत भन्छ, 'त्यसबेला यो उडेको हुनुपर्छ । हामी त्यतीेबेला टावरमा थिएनौं ।'
कामु महाप्रवन्धक वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार, १२ बजेर ५६ मिनेटमा भूइँचालो आएपछि रनवे बन्द गरिएको थियो र २ बजेर ५५ मिनेटमा खुला गरिएको थियो । यसबेला थुप्रैै हेलिकप्टर उद्धारका लागि उडेका थिए ।
विमास्थलले यो विमान दोलखाको सिगुटे आसपास कुनै प्राविधिक गडबडीले रोकिएको अनुमान गरेको छ । तर पुष्टि गर्ने आधार छैन । 'यसलाई खोज्न अर्को अमेरिकी हेलिकप्टर पनि गयो तर भेटेन,' स्रोतले भन्यो, 'सिगुटे भन्ने ठाउँमा हुन सक्ने अस्पष्ट खबर पाएका छौं तर फोन नै लाग्दैन । प्रहरी पनि परिचालन भइरहेका छन् ।'
यसैबीच नेपाली सेनाले सैनिक हेलिकप्टरको संयोजन गर्ने भएकाले यसबारे जानकारी नै नआएको श्रेष्ठले बताए । हेलिकप्टरले उडेको जानकारी दिन्छन् तर यो जहाज कता छ सेनाले हामीलाई भनेको छैन,' कामु महाप्रवन्धक श्रेष्ठले भने ।
नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले अमेरिकी सेनाको हेलिकप्टर दिउँसो ३ बजेर २५ मिनेटदेखि सम्पर्कविहीन भएको पुष्टि गरे ।
अमेरिकी मरिन सैनिकहरुले प्रयोग गर्ने यो जहाज एयरफोर्सको सी १७ कार्गो विमानबाट ल्याइएको थियो । अमेरिकी सेनाको ३६ औं कार्गोमा आएको यो हेलिकप्टर जापानबाट ल्याइएको हो । यस्ता तीनवटा ल्याइएका थिए । भने लडाकु ओस्प्रे चार वटा सहित सात वटा विमान नेपालमा परिचालित थिए ।
0 Comments