बैशाख १२ को महाभूकम्पको केन्द्रबिन्दु बारपाकबाट लाप्राक २ घण्टा पैदल दूरिको लेकाली गाविस हो । मनास्लु पदमार्गमा पर्ने यहाँका करिब ६ सय घरधुरीमा ६/७ वटा पक्कीबाहेक सबै लडेका छन् । यहाँ घरले थिचेर १७ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । सातवटा वडा रहेको ठूलोआँगन र सानोआँगन भनिने टोल रहेको सुन्दर पाखाका पाँच सय हाराहारी घरमध्ये एकाधमात्रै ठाडो छन् ।
बाटो र पाखाहरू धाजा फाटेर जमिन चिरिएको छ । लाप्राकका लागि यसपटकको भूकम्प दोस्रो ठूलो संकट हो । लाप्राक ९ डाँडागाउँका ६८ वर्षीय केकु गुरूङले भने ‘त्योबेला पहिरोले एउटा पाखै लग्यो । हामी धेरै परिवार माथिको गुप्सीडाँडामा धेरै दिन बास बसेका छौं । योपल्ट त्योभन्दा ठूलो संकट आयो ।’ गाउँलेहरू सुरक्षित बस्न रिञ्जिनलुङका दुई बस्ती र गुप्सीडाँडा उक्लिरहेका बेला केकु जौ टिपिरहेका भेटिएका थिए । ‘हाम्रो टोलका ४५ घरमा एउटैको सग्लो राखेन,’ उनले भने, ‘बुढीले जिद्दी गरेपनि म नमानेको । यसो टहरो बनाएर बसेका छौ । यो जौ लगेर पिन्ने, खोले खाने,’ आफूलाई गाउँलेले डाँडामा जाउँ भनेपनि जान मन नलागेको उनले बताए ।
ध्वस्त भएको लाप्राकमा केकुमात्रै यस्ता जिद्दी भेटिए जो साँझ गाउँ छाडेर अन्त जाँदैन रहेछन् । भूकम्प लगतै उद्धार र राहतमा अगुवाइ गरेका ६६ वर्षीय मार्सिङ गुरूङ अहिले गुप्सीडाँडामा आश्रय लिनेलाई बस्ने खाने चाँजोपाँजोमा ब्यस्त छन् । घटनालगतै गाउँमा घाइते निकालेर उपचारमा पठाउन र युवालाई संगठीत गरि उद्धारको काम गर्न उनले अगुवाइ गरेका हुन् । ‘भूकम्पलगत्तै सबैको ध्यान बारपाकमा गयो, लाप्राकको क्षतितिर कसैले हेरिदिएन,’ उनले भने, ‘हामीले जसरी सकिन्छ त्यसरी पालमा बास व्यवस्था गरिरहेका छौ । टाढा गएका छोराहरू घर आएका छन् । उनीहरूले पनि सघाएका छन् ।’
बेलायती सेना र सिंगापुर प्रहरीमा काम गरेर अवकाश पाएकाहरू बारपाकमा धेरै छन् । लाप्राकमा छिटपुट भारतीय सेनाका सेवानिवृत्तमात्रै । उनले भने ‘स्तरका हिसाबले पनि हामी बारपाकभन्दा कम पहुँच भएकाहरू पर्यौं ।’ भूकम्पपछि बारपाकमा फेरि घर बनाउन सकिने अवस्था छ । तर, लाप्राकको भने बस्ती नै सबै पाखा चिरा परेकाले जोखिममा छ ।
हाल चार सय हाराहारी परिवारले शरण लिएको गुप्सीडाँडा गुराँसे वनको फेदीमा २७ सय मिटर उचाइको चिसो क्षेत्र हो । यहाँ भदौ असोजदेखि नै हिउँ पर्छ । ‘तैपनि यो डाँडा कसैको निजी होइन, सरकारले व्यवस्थापन गरिदिने भए यहाँ बसाइँको विकल्प हुनसक्छ,’ उनले भने, ‘हामीलाई अहिले बासकै चिन्ता छ । बर्षा लाग्यो । पाखा चिरिएको छ, कतिखेर पहिरोले लाने हो भन्ने डर छ ।’
घटनाको चार दिनपछिमात्रै सेना र प्रहरीको टोली आएर सघाउन थालेको यो गाउँमा माटो उर्वर किन भएन भनेर एउटा फ्रान्सेली संस्थाले अध्ययन गरिरहेको थियो । स्थानीय लाप्राकको साथी संस्थासँगको सहकार्यअन्तर्गत अनिल गुरूङ भूकम्पका बेला फ्रान्सको इल्युमा थिए । ‘यहाँ दुईजना फ्रेञ्च भोलेन्टियर काम गरिरहेका थिए । उनीहरूले उता गरेको म्यासेजबाट मैले गाउँमा भूकम्पको घटना थाहा पाएँ’, घटनाको एक सातापछि राहत लिएर आइपुगेका उनले भने, ‘खबरले बारपाकबाहेक अन्तको कुरै दिदैनथ्यो । मैले आफ्नो गाउँको फोटो बाबुराम भट्टराईको फेसबुकमा देख्न पाएँ ।’ एक स्वयंसेवी घर भत्केर घाइते भएपछि दुवै तत्कालै आफ्नो देश फर्किएको उनले बताए । ‘म पनि उताबाट गरिरहेको काम छाडेर आएको छु’, उनले भने, ‘गोरखा सदरमुकामबाट यहाँ आइपुग्ने बाटै पहिरोले लगेको छ । सबैले ज्यानकै संकट भोगेका छन् । हेरौं हामी युवाले जे सकिन्छ गर्न लागिपरेका छौं ।’
भूकम्पले लाप्राकको लघुजलविद्युत पनि क्षति गरेपछि यहाँ विजुली छैन । घरका भग्नावशेष खोतलेर गाउँले दिनभर आफ्ना सामान झिक्ने, साँझ अलि अग्लो स्थानको आश्रयमा मुन्टो लुकाउने गरिरहेका छन् । स्थानीय मानबहादुर गुरूङले भने ‘अहिले हामी कसको कति क्षतिभन्दा पनि ज्यान कसरी बँचाउने भन्नेमै व्यस्त छौं । ढलेका घरमा दिनभर आफ्ना सामान खोजेर सबै डाँडामा गइ बस्ने भएका छौं ।’
केही बृद्धबृद्धा मायाले गाउँ छाड्न नसक्ने पनि छन् । लडेको घरमा जस्ताको टेको लगाएर कुरेका एकाधमध्येका ६५ वर्षीय विक्रम गुरूङले भने ‘हाम्रो मिडिया धेरै कमजोर । क्षति भएको सबै ठाउँमा पुगेर यथार्थ देखाइदिए पो सरकारले थाहा पाउँछ, संसारले थाहा पाउँछ । जोखिम हुन्छ भनेर विकटमा पुग्ने पुगेनन् । हामीजस्ताको कुरो कसले बाहिर बताउने ?’ नेपाली सञ्चारमाध्यमले क्षति भएका लाप्राकजस्ता धेरै गाउँ पुग्न नसकेकाले लाप्राकका कुरा पनि बाहिर जान नसकेको गुनासो उनले गरे । ‘म त हेर्नुस्, घर भत्किएको छ’, उनले भने, ‘आँगनमा पाल राखेको छु । यही घर कुरेर बस्छु । विकल्प आयो भने त्यसमा स्थिति हेरेर अघि बढ्ने हो । नभए जाने ठाउँ पनि छैन ।’
गुप्सीडाँडामा नेपाली सेनाका १३, प्रहरीका २ र सशस्त्रका २५ जनाको टोली पनि बसेको छ । सुरक्षाकर्मीको यो टोलीले मार्सिङकै सल्लाहमा गाउँलेको खाँचोअनुसार सघाउने काम गरिरहेको छ । सेनाका सुबेदार हुमबहादुर थापाले भने ‘हामीले आएकै दिन २५/३० जना घाइतेलाई उपचारका लागि पोखरा पठायौं । अब सामान्य अवस्था छ । केटाकेटीलाई चिसो लाग्ने स्थितिमात्रै अप्ठ्यारो हो ।’ उनका अनुसार दिनभरि सुरक्षाकर्मीको टोलीले गाउँलेका भत्केका घरबाट आहिने सामान झिक्न सघाएको छ । सबैजसो घर ढुंगाको गारो र छानो भएका थिए । ती कुनै सग्ला छैनन् । केही पक्की र काठका घर पनि लडेका घरले अभर पारेको अवस्थामा छन् ।
गाउँ सार्दा के हुन्छ ?
स्थानीयका अनुसार गोरखामा भूकम्प प्रभावितमध्ये सबैभन्दा जोखिममा लाप्राक छ । भूकम्पले धाजा फाटेको जमिन वर्षा थेग्न नसकेर पहिरो जाने सम्भावना प्रवल छ । अहिले पनि यहाँ असिना पानी दिनहुँ पर्छ । स्थानीय मणिकामदेवी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष किसान गुरूङले भने ‘अरु गाउँमा भत्किएका घर फेरि पुरानै ठाउँमा खाँबा गाडेर उभ्याउन मिल्छ तर, लाप्राकमात्रै यस्तो छ जसलाई पहिरोले ढिलो चाडो लैजाने संकेत देखिएको छ ।’ उनले भने, ‘भएजति सबैथोक सिध्यायो । आस यति छ नयाँ ठाउँ सरियो भने यस्तै सिर्जना फेरि गर्छौ ।’
हाल धेरैले आश्रय लिइरहेको गुप्सीडाँडाभन्दा उत्तम र नजिकको विकल्प अरु नभएको उनले बताए । स्थानीय रामबहादुर गुरूङले भने ‘यो ठाउँ मनास्लु, लार्केपास जाने पर्यटक आएर बास बस्थे, होटल चल्थ्यो । अब सबै सकियो ।’ नयाँ सिर्जनाका लागि सुरक्षित थलो खोज्न सरकारले सघाउनुपर्ने उनले बताए ।
लाप्राक ९ का तुलसिं गुरूङ घटनाको दिन आरुघाटमा थिए । मंगलबार बारपाकबाट आफ्नो घर जाँदै गरेको भेटिएका उनले भने ‘अब लाप्राकमा भोकमरीको समस्या हुने भयो । घर छैन, अन्नपात पुरिए । राहतले कति दिन थेग्ला ?’ खेतहरू चिरिएका कारण जान जोखिम छ । असिना–पानी परिरहने मौसम सुरू भएको छ । घर भत्किएको र बास असजिलो भएको समस्याले खेतका जौ काट्न पनि गाउँको मन स्थिर हुने अवस्था नभएको उनले बताए । ‘छिटै बाटो खुल्ने सम्भावना देख्तिन’, उनले भने, ‘पुरानै ठाउँमा बस्न जोखिम छ । नयाँ ठाउँ सरेर कहिले व्यवस्थित हुने होला ।’ पुरानो बस्तीलाई तत्काल नयाँ ठाउँ सार्नु र केही समयका लागि खाद्यान्नमा सघाउनु सरकारले गरेमा गाउँले फेरि आफ्नो पुरानो बाँच्ने शैलीमा फिर्न सक्ने उनले बताए । ‘अलिकति भर भए गरिखान्छौं भन्ने आस मरेको छैन’, उनले भने, ‘यत्रो विपत्तमा पनि हामीले होस सम्हालेर अब केही गर्छौ । बरु भर देउ भनिरहेका छौं ।’
0 Comments