उनले पर्याप्त खाना खान नपाएर बच्चालाई पुग्ने गरी दुध आइरहेको छैन । दोलखा चरिकोटकी उनी १२ गतेको भुइचालोपछि पालमा बसिरहेकै बेला उनलाई सुत्केरी बेथा लागेको थियो रे । बच्चा जन्माउनका लागि गत मंगलबार बिहान थापाथलीस्थित प्रसुती गृहमा भर्ना भएकी उनलाई भुइचालोपछि अस्पतालले फर्काइदिएको थियो । 'भुइचालोको धक्काको त्रासमा दुई दिन बेथाले छटपटाउँदै पालमै बसें,' उनले भनिन्, 'बिहिबार मात्र अस्पताल पुगेपछि बच्चा जन्मियो ।'
'दुख कष्ट सहेर बच्चा त जन्मियो अहिले न त कपडा छ न खाना नै,' उनले भनिन्, 'एउटा संस्थाले एक सरो कपडा र दिनको एक पटक खाना दिनुभाछ । अरु कसैले केही दिएको छैन ।'
सुजाताकी सासु गोमा पालको बसाइले सुत्केरीले समयमा खान नपाएको गुनासो गर्छिन् । 'यस्तो बेलामा ४/५ पटक पोसिलो खानेकुरा खुवाउनु पर्ने दुई पटक पनि राम्ररी खुवाउन पाइएको छैन ।'
उनका अनुसार एक साता अघि ५ किलो चामल, चाउचाउ, बिस्कुुट राहत स्वरुप पाएका थियौ । बुहारी सुत्केरी हुनु अघि नै सकिएको थियो । सिन्धुपाल्चोक, दोलखा जस्ता दुर्गम गाउँमा राहत बाँडेको भन्छन् । यहाँ पाल भन्दा बाहेक केही दिएको छैन । 'सरकारले दिने खाद्यान्न राहत टुडिखेलमा वितरण गरेकै छैन' उनी सुनाउँछिन् ।
अर्की रामेछाप सैंबुकी राधिका पौडेल पनि एक महिनाकी सुत्केरी हुन् । उनको पनि समस्या उस्तै छ । ' श्रीमान केही खानेकुरा लिएर आउँछु भनेर निस्कनु भको आउन ढिला भयो । मलाई साह्रै प्यास लाग्यो बच्चा पालमै छोडर आर्मी भएको ठाउँमा पुगेर एक बोतल पानी दिनुस् न भनेको 'दिन मिल्दैन' भनेर रित्तै हात फर्काइदिनु भयो' उनले भनिन्, 'पानी समेत भनेको बेलामा खान पाइएको छैन । देखाउनका लागि मात्र सजाएर राखेको रहेछ पानी र खाद्यान्नका सामान ।'
खानेकुरा मात्र होइन साना बच्चालाई आवश्यक कपडा पनि छैनन् । सुत्केरीलाई शौचालय नजिकै नहुँदा अर्को समस्या छ । ट्रमा सेन्टरको सिधा अघिल्तिर रहेका सुत्केरीले शौचालय जानका लागि टुँडिखेलको तल भद्रकालीको मन्दिरको छेउमै करिब वीर ५ सय मिटर जति हिडेर जानु पर्छ । सुत्केरी लाई हिडेर त्यहा सम्म पुग्न समस्या छ ।
'आफुहरु बसेको भन्दा उत्तरपट्टि रहेको आर्मीले प्रयोग गर्ने शौचालय प्रयोग गर्न जाँदा फोहोरले टेक्ने ठाउँ छैन,' ३ छोराछोरीकी आमा राधिकाले भनिन्, 'त्रासले गर्दा कहिले सम्म यँहा बस्ने भन्ने पनि अन्यौल छ । यी छोराछोरीको बिजोग भइसक्यो ।'
उनीहरु संगै टुलिखेलमा पालमा बसिरहेका ९ सय १७ परिवारलाई नै खाद्यान्न अभाव छ । उनीहरु बिहान बेलुका कुनै संस्थाले दिए खाने नभए त्यत्तिकै दिन कटाउने गर्छन् । पालभित्र रहेका दश वर्ष मुनिका ६ सय ९० बालबालिकाले पनि समयमा खान पाएका छैनन् ।
'बिहान जे दिनुहुन्छ त्यही खान्छौं,' ८ वर्षीया हिमाल श्रेष्ठले भने, 'दिउसो केही खादैनौ, ट्याङकीको पानी पिएर बस्छौ ।' सोमबार बेलुका सम्मको तथ्याङ्क हेर्दा पालमुनि ४ हजार ९ सय ४७ मानिस बसोबास गरिरहेका छन् ।
टुँडिखेलमा खाद्यान्न, पाल व्यवस्थापनको नतृत्व गरिरहेका नेपाल आर्मीका कर्णेल प्रयोगजंग बहादुर राणा सुत्केरीलाई छुट्टै पालमा राखेर हेरिरहेको बताउँछन् । उनीहरुका लागि नजिकै शौचालय बनाउने तयारी भइरहेको छ । 'बच्चाका खानेकुराका लागि दाताहरु संग कुरा भइरहेको छ । भोलीसम्ममा सबै व्यवस्था मिल्नेछ,' उनले भने, 'सरकारले दिएको राहत हालसम्म वितरण गरिएको छैन । दाताहरुले नै बिहान बेलुका भात खुवाइरहेका छन् ।'
हामीले पिउने पानी, शौचालय र नुहाउनका लागि, कपडा धुने पानीको व्यवस्था गरेका छौं । टुँडिखेल भित्र ल्याउने ट्याङ्कर जाँच गरेर औषधी हालेर खान योग्य भएपछि मात्र पानी भित्र छिराउन दिइरहेका छौं । सरसफाइमा बिशेष ध्यान दिएकैले हालसम्म कुनै रोग फैलन पाएको छैन ।
0 Comments