Breaking News

6/recent/ticker-posts

Header Ads Widget

डेढ लाखमा भूकम्प प्रतिरोधी घर बनाउने दाबी


सरकारले भूकम्पबाट ध्वस्त भएका घर निर्माणका लागि दुई लाख रुपियाँ दिने घोषणा ग¥यो । घोषणापछि धेरैले आलोचना गर्दै भने– दुईलाख दिएर पनि घर बन्छ ? सामान्यरुपमा हेर्दा दुई लाख सानो रकम हो ।

यति थोरै पैसाले कहाँ घर बन्ला ? तर दशकदेखि स्थानीय स्रोतसाधनको प्रयोग गरेर घर बनाइरहेको एउटा कम्पनीले डेढ लाखमा घर बन्ने दाबी गरेको छ । हेटौंडामा रहेको हिमालयन ब्याम्बो प्रालिले डेढ लाखमै भूकम्प प्रतिरोधी घर बनाउने दाबी गरेको हो ।

बाँसबाट निर्माण हुने घरमा एउटा बेडरुम र किचेन गरेर दुई कोठा हुनेछ । ट्वाइलेट घरको बाहिर बनाउनुपर्छ । श्रमदान गर्ने हो भने यस्तो घरको मूल्य अझ सस्तो हुन्छ । आफ्नो घर निर्माण गर्दा आफैंले श्रम गरे लागत घट्छ । मुलुकभित्र बाँसका एक हजार घर बनाइसकेको कम्पनीले यस्ता घर ८ रेक्टर स्केलको भूकम्प प्रतिरोधी हुन्छन् ।

‘दुई कोठाको घर डेढ लाखमै निर्माण गर्छौं । मुलुकभित्र रहेको बाँसबाट राम्रो घर निर्माण गर्न सकिन्छ,’ कम्पनीका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघ पूर्व अध्यक्ष कुशकुमार जोशीले सोमबार हेटौंडामा आयोजित एक कार्यक्रममा भने–घर निर्माणमा विदेशी सामानको प्रयोग गर्नुपर्दैन । स्वदेशी वस्तुको प्रयोग हुने भएकाले सस्तो भएको हो ।

भूकम्पपछि सस्तो, छिटो र सजिलोसँग घर निर्माण गर्न चासो बढेको छ । छिटो र सस्तो निर्माणका लागि यस्ता घर उत्तम हुन्छन् । कम्पनीले एक महिनाभित्र घर निर्माण गरेर ग्राहकलाई हस्तान्तरण गर्ने दाबी गरेको छ । १५ दिनमा फाउन्डेसन र १५ दिनमा घर निर्माण सकिने जानकारी उनले दिएका छन् ।

‘१५ दिनमा फाउन्डेसनको काम गर्नुपर्छ । अर्को १५ दिनमा बाँसबाट बनेका कच्चा पदार्थ ल्याएर जडान गर्छौं,’ उनले भने– भूकम्प पीडितका धेरै घर ध्वस्त भएका छन् । त्यसका लागि यस्तो घर सबभन्दा उत्तम छ ।’ कम्पनीले दुई बेडरुम, किचेन र ट्वाइलेटसहित घर पनि निर्माण गरिरहेको छ । घरको मूल्य भने साढे तीन लाख रुपियाँ पर्छ । ‘हामी ग्राहकले चाहेअनुसार घर निर्माण गर्नसक्छौं । न्यून, मध्यम र उच्च आय भएका ग्राहकको मागअनुसार घर निर्माण गर्नसक्ने क्षमता छ,’ अध्यक्ष जोशीले भने– तर, अहिलेको आवश्यकता भनेको भूकम्प पीडितको पुनस्र्थापना हो । त्यसैले, डेढ लाख र साढे तीन लाख रुपियाँको घरलाई बढी लक्षित गरेका छौं ।’ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाँसका घरका बारेमा जानकारी लिइसकेको छ । कम्पनीले एक हजार घर निर्माण गर्नसक्ने जानकारी एनआरएनलाई दिएको छ ।

अरु घरजस्तै फाउन्डेसन ढुंगा, सिमेन्ट र ईंटाबाट यस्तो घर तयार गरिन्छ । फाउन्डेसन तयार भएपछि बाँसबाटै बिम र चौकोसलगायत सम्पूर्ण सामग्री तयार हुन्छ । कम्पनीले घरका लागि आवश्यक पर्ने सामग्री हेटौंडामा रहेको उद्योगमा तयार गर्छ । फाउन्डेसन तयार भएपछि उद्योगबाट सामान ल्याएर प्राविधिकले जोड्ने काम गर्छन् । घरको छानामा टिन प्रयोग गरिन्छ भने भित्तामा बाँस प्रयोग हुन्छ । बाँसको भित्तामा सिमेन्टले प्लास्टर गरिन्छ ।

कम्पनीले बाँसबाट निर्माण भएको घरको आयु ३० वर्षको हुने दाबी गरेको छ । ‘यस्तो घरको ग्यारेन्टी ३० वर्षको गरेकाछौं । तर, योभन्दा बढी पनि टिक्छ,’ जोशीले भने, ‘घर निर्माणलाई दिगो बनाउने हाम्रो प्रयास हो । घर बनाउँदा प्रयोग हुने बाँसको आवश्यक ट्रिटमेन्ट गरिन्छ ।’ उनका अनुसार ट्रिटमेन्ट गरेपछि बाँसमा कीरा लाग्ने समस्या हुँदैन । यस्तो बाँसमा धुलिया लाग्ने समस्या पनि हुँदैन । बाँस आफैं इन्सुलेटेड भएकाले बिग्रने समस्या कम हुन्छ ।

उनका अनुसार साढे तीन लाखमा दुई वटा कोठा, किचेन र ट्वाइलेट हुन्छ । घर ३ सय ६० स्क्वायर फिटको हुन्छ । कम्पनीले घर निर्माण गर्दा चार वटा एलईडी बल्ब, ट्वाइलेटको प्यान, किचेनमा सिन्कसमेत दिन्छ । बस्न मिल्ने घर बनाएर ग्राहकलाई दिइने दाबी उनले गरेका छन् । ‘हामीले निर्माण गरेको घर ग्राहकले केही नगरी बस्न मिल्छ । घर निर्माण हुँदानै विद्युत्का सबै सामग्री जोडिसकेको हुन्छ,’जोशीले भने, ‘एउटा पूर्ण घर ग्राहकले पाउँछन् ।’

उनका अनुसार कम्पनीले अहिलेसम्म एक हजार घर बनाइसकेको छ । कम्पनीले व्यक्तिगत, गैरसरकारी संस्था र विद्यालयलगायतका लागि यस्ता घर बनाएको हो । कम्पनीले तीन सय स्क्वायर फिटको मुक्त कमैयाको क्याम्प, बिराटनगरमा पाँच सय ८० स्क्वायर फिटको निजी आवास, मेलम्चीमा रिम्स नेपालको एक हजार स्क्वायर फिटको घर र एक हजार स्क्वायर फिटको ट्रेनिङ हल, आठ सय ८० स्क्वायर फिटको भवानी एकीकृत स्कुल, नेपाल उद्योग वाणिज्य महासंघको सुर्खेतमा टे«ड स्कुल, लेखनाथ उद्योग वाणिज्य संघको ट्रेनिङ हललगायत निर्माण गरिसकेको छ ।

कम्पनीका अनुसार अहिले तत्कालका लागि स्वदेशी बाँसले नै घर निर्माण गर्न सकिन्छ । ‘हामीलाई आवश्यक पर्ने बाँस स्वदेशमै छ । भूकम्प गएपछि हामीले तत्कालै यो घर निर्माणका लागि २० ट्रक बाँस अर्डर गरिसकेकाछौ,’ उनले पूर्वी नेपालबाट आवश्यक बाँस ल्याउनसक्ने व्यवस्था गरिएको बताए । नेपालबाट मात्र आपूर्ति हुन सकेन भने भारतबाट बाँस ल्याउन सकिने उनले जनाए ।

‘बाँसका लागि समस्या छैन । भारतका सीमावर्ती क्षेत्र सिलगुढी, दार्जर्लिङलगायत क्षेत्रमा प्रशस्त बाँस पाइन्छ,’ उनले त्यहाँबाट सजिलै बाँस ल्याउन सकिने बताए । नेपालमा मात्र ६३ हजार हेक्टरमा बाँस भएको अनुमान छ । यसमा ६० प्रतिशत बाँस जंगलमा छ । बाँस वातावरणमैत्री निर्माण सामग्रीका रुपमा लिइन्छ । यो चाँडै उत्पादन हुने बनस्पतिमा पर्छ । संयुक्त राष्ट्रसंघको युएन हेबिट्याटले अल्पविकसित मुलुकमा बाँसबाट लाखौं घर बनाएको छ ।

Post a Comment

0 Comments