भूकम्पपीडितका लागि तपार्इंको सन्देश के छ?
जहिले पनि यस्तो विपत्ति आउन सक्छ। विपत्तिको पनि विभिन्न चरण हुन्छ। पहिलो चरणमा मान्छेमा विश्वास नलाग्ने, सक्ड हुने र क्षतिका कारण थप पीडामा पुग्ने हुन्छ। त्यसपछि मान्छे यथार्थमा आउँछ, जे हुनु भइहाल्यो। भूकम्प आयो, घरहरू ढले। मान्छेहरू पनि मरे। जति क्षति हुनु भयो। अब दोश्रो चरण भनेको अझ जटिल छ। यो पुन: निर्माणको चरण हो। यसले धेरै समय लगाउन सक्छ। यसका लागि सबै संयन्त्र अत्यन्तै मिल्नुपर्छ। अहिले मैले देखेको समस्या भनेको सरकारप्रति मान्छेको विश्वास खासै छैन। हुन त सरकारका पनि आफ्नै जटिलता होलान्। अब हामी पीर मान्ने, निराश हुने बिन्दुको पनि उच्च रूपमा पुगिसक्यौं। त्यसैले कति पीर मान्ने? कति निराश हुने? यदि देश निर्माणमा जुट्ने हो भने दु:ख, पीडा र वेदनालाई भुलेर सकारात्मक हिसाबले सोच्नुपर्छ। हाँसो ल्याउन पहल गनुपर्छ।
सरकारका आफ्नै योजना होलान्। तर तपार्इंहरूको फिल्ममा देखाउने जस्तो नायकत्व समाजका लागि हुन सक्छ कि सक्दैन?
नायकत्व नै भन्दा पनि एउटा आम नागरिकको हिसाबले सबैले आफ्नो ठाउँबाट जे जस्तो गर्न सकिन्छ, गर्ने हो। म आएको तेस्रो दिन (सोमबार) भइसक्यो। कुनै न कुनै रूपले भूकम्पसम्बन्धी कार्यक्रममै छु। प्रत्यक्ष अप्रत्यक्ष रूपमा यसैमा मेरो दिनचर्या वितेको छ। योजना आयोगमा पनि गएको थिएँ जहाँ सरकारप्रति विश्वास जगाउने खालका कामका लागि आग्रह पनि भएको छ।
नेपालका भूकम्प पीडितका लागि नेदरल्यान्डमा उठाइएको राहत अभियान गिरो ५५५ मा तपार्इंको सहभागिता कस्तो हो?
गिरो भनेको खाता हो। नेदरल्यान्डमा त्यो खाता नम्बर ५५५ मार्फत राहत संकलन गर्ने अभियान चलाइएको हो। उहाँहरूको यो अभियान साताभन्दा लामो थियो। तर जुन दिन उक्त अभियानले वृहत् कार्यक्रम गरेको थियो। संयोगवश त्यसमा म पनि हाम्रो नेपाली समुदायसहित सहभागी थिएँ। त्यहाँ उनीहरूका विभिन्न संचारमाध्यमको उपस्थिति थियो। मैले पनि रेडियो अन्तर्वार्ता दिने क्रममा अभियान संस्थालाई धन्यवाद दिएको थिएँ। ‘राजेश हमाल इन डच टिभी’ भन्ने प्रोगाम नै बनाइएको थियो। धेरै मान्छे राखेर चलाइने उक्त टक शो कार्यक्रमको एक भाग नेपालकै भूकम्पमा केन्द्रित थियो। संयोगवश त्यहाँ मैले खेलेको फिल्म ‘किसान’ को एक गीत पनि प्रसारण गरिएको थियो।
उक्त टक शोमा तपार्इंले भनेको मुख्य कुरा के थियो?
त्यसमा मैले गिरो ५५५ लाई राहत संकलनका लागि धन्यवाद दिंदै यस्तो अभियान आवश्यक छ भनेको थिएँ। सहयोग जुटेको खण्डमा नेपाल पनि आफ्नै खुट्टामा उभिन सक्छ। हामीलाई सबैको सहयोगको खाँचो छ। तपार्इंहरूले हामीलाई सहयोग गर्नुस् भनेको थिएँ। संयोग कस्तो भयो भने त्यो दिनको विहानसम्म पाँच मिलियन युरो उठेकोमा साँझसम्म साँढे नौ मिलियन युरो पुगेको थियो।
यो भूकम्पपछिको परिस्थितिमा तपार्इंलाई के कुराले बढी छोयो?
सबैभन्दा बढी मलाई छोएको जहिले पनि भयंकर घटना घट्दा सबैभन्दा मारमा पर्ने भनेको निम्न वर्ग नै हुने। त्यो चाहिँ सबैभन्दा चित्त दुख्ने कुरा हो। जो त्यसैपनि गरिबीको मारमा पर्नु भएको छ, त्यसैपनि विभिन्न किसिमको सामाजिक समस्यामा पर्नु भएको हुन्छ। त्यही वर्ग त्यही समुदायलाई नै बढ्दा आपतविपत आइपरेको छ।
अब पुनर्निर्माणमा तपाईंको सहभागिता र भूमिका कस्तो रहन्छ?
अहिले पहिलो प्राथमिकता भनेको घरविहीन बनेका गाउँलेको टाउकोको माथि छाना कसरी निर्माण गर्ने? ताकि यो बर्खा पनि झेल्न सकुन्। खानेकुरा भनेको जसरी नि जोगाड होला। अहिले नै यसरी लाग्छु भनेर मैले सोच बनाइसकेको त छैन। योजना आयोगले पनि केही प्लानिङ ल्याउन खोजिरहेको रहेछ। कहिलेकाहीं विनाशले नै विकास ल्याउँछ। यदि हामी पनि साँच्चिकै योजनाबद्ध ढंगले जान सक्यौं भने भोलि फेरि यस्तै प्रकोप आउँदा थेग्न सक्नेछौं। आफ्नो प्रकृति, रहनसहनलाई सुहाउँदो किसिमको एउटा नमुना गाउँ बनाउन सकिन्छ की? पहिले बनाइने घरहरू खासै इन्जिनियरिङ हिसाबले बनाउदैनथ्यौं।
तपार्इं देशविदेश घुम्दाको अनुभवले पनि हाम्रोजस्तो मुलुकमा कस्ता भवन बन्नुपर्छ होला?
मलाई हामीकहाँ बनाइएका अग्ला भवन, अपार्टमेन्ट कहिल्यै मन परेन। म पहिले पनि भन्ने गर्थें, यस्ता गगनचुम्बी अपार्टमेन्टमा मान्छेहरू कसरी बस्छन् होला। नेपालजस्तो ठाउँमा आठ, दस तलामाथि सुत्दा त मलाई निद्रा पर्दैन होला। आज भुइँचालो आयो, भोलि ११ औं तलामा आगो लाग्ला। कसरी निभाउने? हामीकहाँ त्यो खालको दमकल नै छैन। यस्ता कमजोरी धेरै छन्। हामीकहाँ ‘जब पर्यो राति तब बुढी ताती’ भनेझैं हुन्छ। अब बल्ल यसबारेमा मान्छेहरूलाई तातो लाग्न थालेको छ। सुन्न थालेको छु, तीन तला भन्दा बढी नबनाउने भन्न थालेका छन्।
धरहरासँगको तपार्इंको अनुभव के छ?
धरहरा म धेरै पहिला ४/५ वर्षको बच्चा छँदा चढेको थिएँ बुबाआमाको साथमा। बीचमा चढ्न दिइएन। अहिले पछि फेरि खुला गरेको हो। पछि चढेको थिइनँ। दु:ख लाग्दो कुरा, अहिले नेपालका परिचय दिने यस्ता ऐतिहासिक धरोहर, सम्पदा ध्वस्त भएका छन्। धेरै पर्यटक बसन्तपुर, पाटन दरबार स्क्वायर, भक्तपुर हेर्न आउँथे। ती पुराना कुरा नै नरहँदा धेरै दु:ख लागेको छ। म आशा गर्छु, पहिलेकै जस्तो गरी यिनको पुन:निर्माण गरिनेछ। किनकि त्यो भनेको हाम्रो इतिहास हो, सम्पत्ति, पहिचान हो। र, हामी त्यति हतोत्साही पनि हुनु हुँदैन। पहिले पनि भूकम्पमै भत्केपछि बनाइएको थियो भने अहिले नसक्ने कुरै भएन।
फिल्ममा राजेश हमाल गाउँबाट काठमाडौं छिर्यो है भन्दा त्यही धरहरा देखाइन्थ्यो। अब धरहरा नै भएन भने के दृश्य देखाउने? आएकै दिन (शुक्रबार) हेर्न गएको थिएँ। त्यो ठाउँ धरहराविहीन देख्दा नराम्रो लाग्यो। मैले एउटा फिल्मको सुटिङ पनि धरहरामाथि नै गरेको थिएँ, करिश्मा मानन्धरसँग।
0 Comments