Breaking News

6/recent/ticker-posts

Header Ads Widget

राहतको हल्लाले आहत खेप्नेहरु


काठमाडौ, वैशाख २३ - विपत्तिको क्षण जति समवेदना हुन्छ, यस्तै संक्रमणकालमा गतल फाइदा उठाउने पनि उत्तिकै हुन्छन्। वैशाख १२ मा गएको महाभूकम्पपछि अधिकांश देशवासीका घरबास उठ्यो। खुला छानामुनि भोकै रात बिताउन बाध्य भएपछि विदेशबाट समेत सहयोगका घोषणा हुन थाले। हलिउड अभिनेत्री जोआना लुम्ले, फेसन डिजाइनर प्रबल गुरुङदेखि बलिउड नायिका आलिया भट्टले समेत राहत कोष खडा गरी सहयोग रकम उठाउन थाले। यसै मेसोमा हावासरि एक समाचार आयो, ‘बलिउड नायक अक्षयकुमारले आफ्नो फिल्म ‘गब्बर इज ब्याक’ को पहिलो दिनको सम्पूर्ण कमाइ नेपालका भूकम्पपीडितका लागि सहयोग गर्ने।’

रिलिजको मुखमा रहेको उक्त फिल्म प्रतीक्षित भएकाले पनि ओपनिङ डेको कमाइ करोडौं हुने थियो नै। समाचारमा विश्वास गर्नेले अक्षयकुमारको तारिफमा फेसबुक र ट्वीटरमा भावना पोखे। खबर यतिसम्म फैलियो कि सहयोगबारे केही पनि घोषणा नगरेका अक्षयकुमारलाई समेत दबाब पर्‍यो। उनले दबाब खेप्न नसकेपछि


ट्वीटरमार्फत नै खबरको खण्डनमा बोले, ‘नेपालका भूकम्पपीडितलाई फिल्मको एक दिनको कमाइ सहयोग गर्ने भन्ने अफवाह मैले पनि सुनें। स्पष्ट पार्न चाहन्छु, उक्त फिल्मको निर्माता नभएकाले यस्तो घोषणा गर्ने कुरै आउँदैन।’ बरु उनले कसैलाई सहयोग गर्न इच्छा छ भने भन्दै भूकम्पपीडित राहत कोषको लिंकसमेत सेयर गरिदिए। त्यसपछि पहिले अक्षयकै लागि तारिफ गर्नेहरू खिलाफमा देखिए।

फेरि अर्को हल्ला सामाजिक सञ्जालमार्फत फैलियो, ‘सलमान खानको बिइङ ह्युमन नामक संस्थाले दस करोड भारुसहित दुई निजी हेलिकप्टर नेपालका लागि सहयोग दिने।’ सलमानका फ्यानहरू उक्त खबरले दंग पर्दै सलमानका खातिर प्रशंसा व्यक्त गर्न थाले।

नेपालका भूकम्पपीडितका लागि खासै नबोलेका अरू दुई शाहरूख खान र आमिर खानविरुद्ध आलोचना गर्दै सलमानको सराहना गरे। आखिर भन्दै नभनेको उक्त खबरले सलमानलाई समेत अप्ठ्यारोमा पारिदियो। उनले पनि फेसबुकमार्फत नै स्पष्ट पारे, ‘बिइङ ह्युमनले नेपालको भूकम्पपीडितका लागि रकम सहयोग गर्ने कुरा हल्ला मात्रै हो। यसमा सत्यता छैन। यो संस्था अहिलेसम्म भारतका लागि मात्रै सञ्चालित छ।’

त्यसपछि रुष्ट बनेका उनकै फ्यानले समेत विरुद्धमा आगो ओकले। ठूलो फ्यान फलोअर्स भएका सलमानले रुष्ट बनेकालाई पुन: सम्बोधन नै गर्नुपर्‍यो। उनले फेसबुकमा दोस्रो लामो स्टाटस लेख्दै भने, ‘अघिल्लो पोस्ट सहयोग रकम नदिएको बारेमा स्पष्ट पार्नका लागि थियो। न कि हामीले सहयोग नै नगर्ने भन्ने होइन। नेपालमा जे घटना घट्यो त्यसले हामी मर्माहत भएका छौं। मान्छेले सहज जीवनयापन गर्न पाऊन् भन्ने हाम्रो ध्याउन्न रहन्छ। यस्तोमा सहयोग गर्न कुनै सिमानाले छेक्दैन। अहिलेका लागि हाम्रो संस्थाको नेपालमा उपस्थिति छैन।

तर हामी के कसरी सहयोग गर्न सक्छौं भनेर उपाय खोजिरहेका छौं।’ सायद उनलाई नायक रणवीर कपुरदेखि निर्देशक करण जोहरसम्मका बलिउड हस्तीले नेपालको भूकम्पपीडितका बारेमा मिडियामार्फत नै सहयोगको अपिल गर्न थालेपछि पनि दबाब बढेको हुनुपर्छ।

तर ट्वीटर र फेसबुकजस्ता सामाजिक सञ्जालमा उनको फेक अकाउन्टमार्फत मच्चाइएका अनर्गल हल्लाले गर्दा झन्डै २५ करोड फेसबुक र ११ करोड बढी ट्वीटरमा फ्यान फलोइङ रहेका सलमानलाई आहत भने पक्कै भयो। झन् अहिले त केहीले अक्षयकुमार र सलमानका फिल्म नै नेपालमा निषेध गरिएको अर्को हल्ला चलाउन थालेका छन्।

Post a Comment

0 Comments