वैशाख ३१ – डिफेण्डिङ च्याम्पियन रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत बुधबार राती भएको खेलमा इटालियन क्लब युभेन्टससँग १–१ को बराबरी खेलेको रियल समग्रमा ३–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
रियलको घरेलु मैदानमा भएको सेमिफाइनलको दोश्रो लिगमा अग्रता भने घरेलु टोलीले खेलको २३ औं मिनेटमा लिएको थियो । २३ औं मिनेटमा पाएको पेनाल्टीमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ शून्यले पछि परेको युभेन्टसले दोश्रो हाफमा आक्रामक खेल प्रदर्शन गर्यो । दोश्रो हाफको १२ औ मिनेटमा आल्भारो मोराटाले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो । नतिजासँगै पहिलो खेल २–१ ले जितेको युभेन्टस समग्रमा ३–२ ले अघि रहँदै प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
युभेन्टस सन् २००३ पछि पहिलो पटक फाइनलमा पुगेको हो । अब युभेन्टसले उपाधीका लागि अर्को महिना स्पेनिस क्लब बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ । बार्सिलोनाले जर्मन क्लब वायर्न म्युनिखलाई पराजित गर्दै यसअघि नै फाइनलको यात्रा तय गरिसकेको छ ।
0 Comments